धरान/ सुर्यको विशेष पुजा आरधना गरि मनाइने छठ पर्व आज उदाउँदो सुर्यलाई अर्घ चढाएर यस वर्षको छठ पर्व विधिवत रुपमा समापन गरिएको छ ।
यो वर्ष कोरोना भाइरसको महामारीका कारण छठमा विगतकोजस्तो उल्लास भने पाइएन ।
शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका हुन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिँगारेर झकिझकाउ पार्ने गरिएकोमा यो वर्ष त्यस्तो पाइएन । केही ठाउँमा मात्रै नदी तथा जलासय सिंगारिएको थियो । कतिपयले घरमै कृत्रिम जलाशय बनाएर पनि छठ मनाएका छन् ।