धरान । तीन वर्षअघि देखि सडक डिभिजन कार्यालय विराटनगरले वर्षेनी कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गर्दै आए पनि वर्ष दिन पनि नपुग्दै खाल्डै खाल्डा हुने गरेको छ ।
सडक विभागले वर्षेनी पुर्दै आएको खाल्डाखुल्डीमा कमसल सामान प्रयोग गर्दा वर्ष दिन पनि टिक्न नपाउँदै भत्कीने गरेको छ । तीन वर्ष यता ४ पटकसम्म सडक मर्मत गरिसकेको छ । वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने चारकोशे जंगल देखि जिरोपोईन्ट हुँदै भेडेटार सम्मका सडकहरु खाल्डाखुल्डी बनेका छ ।
अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य सडक धराप थापेजस्तै नै छ । बस, टेम्पो, मोटरसाइकल, ट्रक आदि होशियारीपूर्वक चलाउनुपर्ने बाध्यता छ । जति नै गरेपनि सडकको अवस्थामा कहिल्यै नसुध्रिएको स्थानीय प्रकाश लकान्द्री बताउँछन् ।
दिनको समयमा भन्दा पनि रातको समय धरान फर्किने हरुका लागि धराप थापे जस्तै भएको उनको गुनासो छ । उनले भने, राती अगाडिबाट गाडि आउँदा लाइटले गर्दा बाटो देखिन्दैन्, त्यही माथि खाल्डो परिदियो भने दुर्घटना हुने जोखिम छ । मुख्य सडकमै दैनिक हजारौं ओहोरदोहोर गरिरहन्छन् । यही कारण पनि यो बाटो क्लियर हुनुपर्ने माग जताततै उठिरहेको छ ।
भत्किएको, खाल्डाखुल्डी भएको राजमार्गको मर्मत गर्ने निकाय सडक डिभिजन कार्यालय विराटनगर हो । सडक विभागले ठेक्का दिएको ठेकेदारहरुले गुणस्तरहिन काम गर्दा धरानका स
डक कुरुप त बनिगयो, सुन्दर धरान पनि कुरुप बनेर चर्चामा छ । दैनिक जीर्ण सडकमा हजारौं यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । लकडाउनकै समयमा बनेको बरगाछि देखि भोटेपुल सम्मको बाटोमा पनि खाल्डा खुल्डी पर्न थालिसकेको छ ।
सर्वसाधारण तथा धरान आवतजावत गर्ने सवारी साधनले हैरानी खेप्नुपरेको छ । यस्तो भएपछि स्थानीय सरकार धरान उपमहानगरपालिका आलोचित बन्नु परिरहेको छ । कोशी राजमार्गको मर्मत सम्भारको जिम्मेवारी सडक विभागको रहेकाले स्थानीय निकायले आफै काम गर्न नसक्ने उपमेयर मञ्जु भण्डारीको भनाई छ ।
स्थानीय निकायले आफै पनि सडक मर्मत गर्न सक्थ्यो तर बेरुजुमा पर्ने भएपछि विभागलाई पर्खनुपर्ने बाध्यतामा रहेको उनले बताईन् । लकडाउनको समयमा उपमहानगरपालिकाको निगरानीमा बनेको सडक गुणस्तरिय रहेको उनले दाबी गरिन् । अन्य सडकमा परेको खाल्डाखुल्डी सडक विभागको जिम्मेवारी रहेको उनको भनाई छ ।