धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बढ्दै गएको बेथिती लगायत स्वास्थ्य उपचार सेवा सहज नभएको भन्दै सुधार अभियानका लागि गठित वीपी प्रतिष्ठान सुधार दबाब समुहले प्रतिष्ठानको समस्या र समाधान सहितको अवधारणा पत्र बुझाएको छ ।
प्रतिष्ठानलाई सुधार गर्नुपर्ने तत्कालिन र दिर्घकालिन निती तयार गरेर समस्या मात्रै नदेखाई समाधानका लागि पनि अवधारणा बनाएर बुझाएको हो । समुहका संयोजक तथा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी सहित ४ जना मुख्य पदाधिकारीहरुको उपस्थितीमा उपकुलपतिलाई अवधारणा पत्र बुझाएको हो । अवधारणा पत्रमा विशेष गरेर कोभिड १९ लाई मध्यनजर गरेर जुन रुपमा स्थापना भएको थियो त्यो तहको उपचारको प्रत्याभुति दिनु पर्ने माग सहित १८ बुँदे सुझावहरु बुझाएको छ ।
अवधारणा पत्रमा प्रतिष्ठानलाई उत्कृष्ठ बनाउन बुँदागत रुपमा सुझाव समेत उल्लेख गरिएको छ । प्रतिष्ठानलाई उत्कृष्ठ बनाउन योजनाबद्ध र नियन्त्रित ढाँचामा रणनीतिक ढंगले साना साना लक्ष्यहरु किटान गर्दै काम गर्ने रोडम्याप तयार गरेर अघि बढ्नु पर्ने सुझाव दिएको छ । त्यसै गरि व्यवस्थापनका पर्ट र सिपिएम जस्ता जुक्तिहरु प्रयोग गरेर अघि बढ्नु पर्ने सुझव दिएको छ । प्रतिष्ठानले निरन्तर सुधार, शुन्य त्रुटि, सहभागितामुलक व्यवस्थापन, उच्च गुणस्तरको पालना, अनुशासित नियन्त्रण, समन्वयात्मकता जस्ता कुराहरुमा प्रतिबद्ध हुन जरुरी रहेको पत्रमा उल्लेख गरिएको छ ।
त्यसै गरि आप्mनै स्रोतमा उभिने क्षमताको विकाश, प्राप्त ख्यातिको वृद्धि, लागत प्रभावकारिता र खर्च नियन्त्रण, क्षमता विकाश, विधिको शासनको पालना, पारदर्शिताको लागि वार्षिक सामाजिक लेखापरिक्षण लगायतका कार्यहरु गर्नु पर्ने सुझाव दिएको छ ।
दिएको सुझावहरुलाई कार्यान्यवनका लागि आन्तरिक नियन्त्रण प्रणालीको सवलीकरण, योजना र नियन्त्रण, सवल पक्षमा मात्रै केन्द्रित नभई कमजोर पक्षलाई पनि समिक्षा गर्दै अघि बढ्नुपर्ने बताएको छ ।
त्यस्तै आपसी समन्वय र समाज संगको अन्तरसम्बन्ध मजबुत पार्न अन्तर समबन्ध विभाग, निरन्तर अनुगमनका लागि छुट्टै निकाय, अनुशासन वा आचारसंहिताको परिपालनका लागि कडाई, प्रशासन सुधार कार्यका योजनाहरु तयार गर्नु पर्ने सुझाएको छ । पछिल्लो समय विशेष आरोप लाग्दै आएको कोभिड अस्पतालमा देखिएका लापरवाही, कमजोरीहरुलाई तत्काल सुधार गरेर जनताका गुनासाहरुलाई सम्बोधन गर्न सुझाव दिएको छ ।
समुहले बुझाएको अवधारणा पत्र कार्यान्यवन गर्न चारै जना प्रमुख पदाधिकारीहरुले प्रतिबद्धता जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक साता भित्रमा सबै कुराहरु समाधान गर्न नसके पनि केही परिवर्तनको महशुष गर्न सकिने प्रतिबद्धता जनाएका छन् । उनले सुधारका कामहरु अघि बढिरहेकाले नकारात्मक हल्लाको पछि नलाग्न पनि आग्रह गरे । उनले भने, ‘शुरुवात ताका केही कमजोरीहरु भए, कोरोना संक्रमण यस्तो ढंगले बढ्छ भन्ने अनुमान गरिएको थिएन्, तर पछिल्लो समय बढ्दै गएको संक्रमणलाई व्यवस्थापनमा केही चुनौती आएका छन्, त्यसलाई समस्या गर्दै अघि बढिरहेका छौं ।’
समुहले पुनः एक साता पछि सुधार वा प्रगतिका विषयमा छलफल गर्न आउने जनाएको छ । समुहले सहकुलपति तथा स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौ, प्रदेश १ मुख्यमन्त्रीको कार्यालय र सिनेटर समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तथा उपमेयरलाई समेत बोधार्थ बुझाएका छन् ।