धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिती बढ्दै गए पछि धरानवासीहरु आक्रोशित बन्दै गएका छन् । स्वास्थ्य उपचारमा समेत व्यवस्थापनले चासो नदेखाई भ्रष्टाचारमा लुप्त भएको आरोप लगाउदै आन्दोलित हुन थालेका छन् ।
पछिल्लो १० वर्ष यता धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान भित्रै बाट उपकुलपति बन्ने दौड चल्न थाले पछि प्रतिष्ठानमा बेथिती बढ्दै गएको हो । ब्रिफकेश बुझाएर उपकुलपति बन्न थाले पछि प्रतिष्ठानमा भ्रष्टाचारले समेत जरो गाडेको छ । पाँच वर्षे कार्यकाल हुने उपकुलपति पदका लागि १० वर्षमा एक जना निमित्त उपकुलपति सहित ४ जनाले पद सम्हालि सके । आर्थिक चलखेलमा हुने उपकुलपति नियुक्तिले प्रतिष्ठानमा भ्रष्टाचारले जरो गाडिसकेको स्थानीयको आरोप छ ।
प्रतिष्ठानका पदाधिकारीहरुले देखाइरहेको व्यवहारले भ्रष्टाचार भइरहेको पुष्टि गरेको वीपी प्रतिष्ठान सुधार दबाब समुहका सदस्य सचिव महेश श्रेष्ठ बताउँछन् । उनका अनुसार प्रतिष्ठानमा तिन किसिमका भ्रष्टाचार हुने गरेका छन् ।
उनले भने, एउटा सामान खरिदमा हुने भ्रष्टाचार, अर्को परियोजनाहरु पुर्ण नगरिकन गरिने भ्रष्टाचार, अर्को नियतबस प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाएर गरिएको भ्रष्टाचार, हुन भ्रष्टाचारीले भ्रष्टाचार गरेको प्रमाण त देखाउँदैनन्, तर उनीहरुको गतिविधीले भ्रष्टाचार भइरहेको कुरालाई देखाईरहेको छ ।’
अहिले दबाब शुरु भए पछि प्रतिष्ठानले सुधारको काम गर्न थालेका छन् । श्रेष्ठले भने, त्यो पहिले चै किन गरिएन, अहिले दबाब दिए पछि काम शुरु गर्ने, उनीहरु भ्रष्टाचार गर्दैनन्, भने बजेटको सार्वजनिक सुनुवाई किन गर्दैनन् ।’
पछिल्लो समय स्वास्थ्य उपचारमा लापरवाही हुन थाले पछि धरानवासीले वीपी प्रतिष्ठान सुधार दबाब समिती गठन गरेर आन्दोलनमा उत्रिएका छन् । कोरोनाको महामारीका बिचमा स्थापना भएको कोभिड अस्पताल अहिले बिरामीलाई अन्यत्रै रिफर गर्न थालेको छ । कमसल सामग्री खरिद गरिएका कारण अस्पतालका अन्य सेवाहरु समेत प्रभावित भइरहेका छन् ।
प्रतिष्ठानको मुख्य पदहरुमा हुने राजनितिक नियुक्तीले प्रतिष्ठानलाई धरायसी बनाउँदै गएको छ । विभिन्न किसिमका राजनितिक हस्तक्षेपका कारण असर परेको प्रतिष्ठानका कार्यकारीणीय सदस्य तथा हाडजोर्नी विभागका प्रमुख प्रा.डा. पशुपति चौधरीको भनाई छ । उनले भने, ‘विभिन्न किसिमको हस्तक्षेत्र प्रतिष्ठानमा पनि देखियो, विगतमा पदाधिकारी विहिनको अवश्था, पदाधिकारीहरु विभिन्न काण्डमा मुछिने गरेको कारण यसको असर प्रतिष्ठानमा परेको छ ।’
प्रतिष्ठानमा करिब ९ महिना सम्म पुर्ण उपकुलपति बिना चल्दा पनि केही असर परेको उनी बताउँछन् । त्यसले दैनिक काममा असर नगरे पनि दिर्घकालिन योजनाहरुमा असर गरेको उनले बताए । प्रतिष्ठान भित्रका चिकित्सक देखि पदाधिकारी कर्मचारीहरुमा राजनितिककरण, गुटउपगुटको खेलका कारण पनि प्रतिष्ठान धरायसी बन्दै गएको उनको भनाई छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक जसो प्रदेश १ र २ गरी ३ हजार भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् । उनीहरुको स्वास्थ्य सेवामा खेलवाड भइरहेको छ । व्यवस्थापन चुस्त नहुँदा प्रत्यक्ष सेवा नै प्रभावित भएको छ ।