विराटनगर । विराटनगरको सहिद रंगशालामा फ्लड लाइट जडान कार्यले गति लिएको छ । आगामी मंसिर महिनाभित्रै फ्लड लाइट जडान भईसक्ने गरी तयारी भएको हो ।
भारतबाट फ्लड लाइटका आवश्यक सामग्री आईसकेकोले यसलाई गति दिइने निर्माण पक्षले जनाएको छ ।
प्रदेश १ सरकारको बजेटमा त्यहाँ फ्लड लाइट जडान सम्बन्धी काम शुरु भएको हो । यसअघि अस्थायी रुपमा भारतबाट फ्लड लाईट जडान गरी रात्रिकालीन फुटबल प्रतियोगिता गराइएको थियो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार निर्माणस्थलमै गई निर्माणमा भई रहेको कामको अनुगमन गरेका छन । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हरेक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी ठेक्का सम्झौता भएको थियो । लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएको थियो ।
कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेकोले समस्या भएको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताए । भने,“अब ढिलो हुँदैन मंसिरभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखेका छौं । ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट ल्याईसकेका छौं ।” लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले जानकारी दिएका छन । फल्ड लाइट जडानका निम्ति रु. ४ करोड २९ लाख रुपैयाँमा ठेक्का लागेको थियो ।