विराटनगर । विराटनगरमा नेपाल–भारत सीमाको ढाट खुलेको छैन । मालबाहक गाडी र प्रक्रिया पुर्याएर आउने जाने नागरिक बाहेकलाई आउँजाउँमा पूर्णत बन्देज लगाइएको छ । तर, दशैंको बहाना बनाएर सुरक्षाकर्मीको आँखा छल्दै खुला सिमाना र छोटी नाकाबाट सुटुक्क भारतको जोगबनी गई किनमेल गर्ने क्रम भने बढेको पाइएको छ । यसले कोरोनाको हटस्पट बनेको बिहार क्षेत्रबाट प्रदेश १ को राजधानी विराटनगर र ग्रामीण भेगमा समेत संक्रमण अझ फैलने जोखिम बढेको छ ।
मुख्य नाकामा ढाट लगाएपनि चोरबाटोबाट मानिसहरु जोगवनी गई किनमेल गर्न थालेपछि स्थानीय प्रशासनले जुक्ति लगाएको छ ‘पारिबाट आउनेलाई नाकामै समाउने अनि १४ दिने क्वारेन्टाइनमा पठाई दिने, पीसीआर परीक्षण गरेर मात्र घर जान दिने’ । भारततर्फ जाने नागरिकले प्रशासनको इजाजत लिनुपर्छ । तर, पछिल्लो केही समय यता सुरक्षाकर्मीको समेत आँखा छलेर भारत जानेहरुलाई निगरानी गर्ने, सीमामै रोक्ने र अटेर गरी भारत पुग्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा पठाउने क्रम शुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दुई दिनयता मात्र भारत गई चोरबाटो बाट नेपाल फर्कदै गरेका ८४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु मध्ये ४५ जनालाई परिवारसंगको समझदारीमा होम क्वारेन्टाइनमा पठाइएको छ । बाँकीलाई सीमा क्षेत्रमै विराटनगर महानगरपालिकाले संचालन गरेको होल्डिङ सेन्टरमा ल्याई पुनः सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ ।
कतिपय व्यापारीले जोगबनीबाट सामान ल्याएर गाउँगाउँसम्म बिक्रीका लागि लग्ने काम समेत गरिरहेको सूचनाको आधारमा प्रहरीले निगरानी र नियन्त्रण लिने क्रमलाई बढाएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन ।
प्रदेश १ को जोगबनी, भन्टावरी, काँकडभिट्टा र पशुपतिनगर नाकाबाट सरकारी अनुमतिमा नेपाल–भारत आउँजाउँ गर्न पाइन्छ । अन्यत्रबाट आउँजाउँ गर्न रोक लगाइएको छ । विराटनगरको इस्लामपुर, दरैयाबस्ती, विराटनगर–१६ को दक्षिण गेट क्षेत्रबाट लुकीछिपी भारत जाने र किनमेल गरी फर्कनेलाई प्रहरीले कार्वाही स्वरुप पक्राउ गरी अनिवार्य क्वारेन्टाइनमा पठाउन शुरु गरेको हो । मोरङको ६३ किलोमिटर क्षेत्रमा रानी नाका सहित ३६ नाका छन् । झापाबाट पानीटंकी नाका र सिलीगुडी जान समेत कडाई गरिएको छ ।
धेरै नेपाली कोरोना संक्रमण भन्दा अगाडि जोगबनी गएर किनमेल गर्न मन पराउने गरेकोमा अहिले भने नाका बन्द हुँदा सीमावर्ती जोगबनी बजारसमेत सुकेको छ । पारी जाने क्रम रोकिएसंगै विराटनगर बजारमा दशैं र चाडबाडको किनमेल गर्ने क्रम बढेको छ । बजारमा चहल पहलसमेत देखिन्छ । कोरोनाका कारण प्रदेश राजधानी विराटनगरमा मात्र ३ हजार भन्दा धेरै नागरिकमा संक्रमण पुष्टि भएको छ । २७ जनाको ज्यान गईसकेको छ ।
फोटो ः भारतको जोगबनी नाकामा नेपालतर्फको भाग ।