इटहरी । कोरोना कहर बिच लामो समयको लकडाउन पछि बल्ल तल्ल उठ्दै गरेको बजार पुनः दशैको मुखमा बन्द हुने हल्लाले सुनसरीका व्यवसायीहरू चिन्तित बनेका छन । करीब ५ महिनाको लकडाउन र निषेधाज्ञाले ठप्प बनेको ब्यापार ब्यवसाय सरकारले गत साउन ६ गते देखि खुकुलो बनाएसंगै ब्यवसायिहरूले थोरै राहत पाएका थिए ।
दैनिक संक्रमणको संख्या दुइ गुणाले बढदै समुदाय स्तरमै नकरात्मक असर पार्नुका साथै मानविय क्षति समेत बढेकोले सुनसरीमा पुनः लकडाउन हुने हल्ला बजारमा चल्न थालेको छ । सरसकारले लकडाउन खुलाए पनि ब्यापार व्यवसायले सोचे जस्तो प्रगति नगरेको बेला नजिकिएको चाडपर्वले भने केहि चहल पहल बढाए संगै फेरी लकडाउन हुने हल्ला बजारमा आएपछि सुनसरीका ब्यवसायीहरू चिन्तित बनेका हुन ।
कोरोना कहरकै कारण भारत संग सिमा जोडिएका नाकाहरू बन्द भइदिदा थोरै राहत पाएका सुनसरीका ब्यवसायीहरू अहिले दशैको मुखमा आफ्नो ब्यापार कुनै हालतमा बन्द नगर्ने पक्षमा रहेका छन । उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेल पनि पर्वहरूको मुखमा ब्यवसायीहरूलाइ पसल बन्द गरौ भन्न आफु नसक्ने बताए । हाल अध्यक्ष पौडेल स्वयम कोरोनाबाट संक्रमित भइ होम आइसोलेसनमा रहेका छन । कोरोना महामारी बिच उच्च सतर्कता अपनाएर ब्यवसायीहरूलाइ पसल सञ्चालन गर्न अनुरोध गरेको बताउदै अध्यक्ष पौडेलले चाडपर्वले छोएको बेला ब्यापार बन्द गर्ने पक्षमा आफुहरू नरहेको बताए ।
धरान उपमहानगरका मेयर तिलक राइ पनि लकडाउन घोषणा गर्दा नगरवासीको दैनिकी प्रभावित हुने बताउँछन् । कोरोना महामारी बिच जिल्लामा सबैभन्दा बढी क्षती आफ्नै शहरले बेहोरिरहेको बताउदै उनले उपमहानगरकै कर्मचारीहरू कोरोनाबाट संक्रमित भएपछि तत्काल केहि समयको लागि कार्यालय नै बन्द गरिएको अवस्थामा शहरलाइ ठप्प बनाउँन नहुने बताए ।
त्यस्तै इनरूवा नगरपालीकाका मेयर राजन मेहेताले पनि चाडपर्वको मुखमा पुरै लकडाउन गर्ने पक्षमा आफु नरहेको तर आंशिक गर्न राजी रहेको बताए । कुनै निश्चित समय तोकेर बजारलाइ केहि समय बन्द गर्न आफु तयार रहेको तर पर्वको मुखमा शहरनै ठप्प पार्न आफु नसक्ने र व्यवसायीहरूलाइ पनि ब्यापार बन्द गर भनेर भन्न नसक्ने बताए ।
यता सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेलले जिल्लामा तत्काल लकडाउन नहुने बताए । सुनसरीमा कोरोना नियन्त्रण बाहिर गएको स्विकार्दै समुदाय स्तरमा बढेको लापरवाहिकै कारण संक्रमण फैलिएको उनको दाबी छ । उनले हालै बसेको बैठकले सुनसरीका बजारलाइ थोरै ब्यवस्थित गर्नेगरी केहि निर्णयहरू गरिएको बताए ।
प्रमुख जिल्ला अधिकारी पोख्रेलले असोज २५गते देखि राति ८ बजे सम्म मात्र ब्यवसाय सञ्चालन गर्नुपर्ने, ब्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्क, सेनिटाइजर र साबुन पानी राखिनुपर्ने, बिद्यालय पठन पाठन बन्द गरिनुपर्ने, धार्मिक स्थलहरू पुर्ण रूपमा बन्द गरिनुपर्ने, भिडिभाड हुने स्थानमा प्रहरी परिचालन गरि स्थानीयहरूलाइ सजक गराउने जस्ता निर्णय भएको बताए । साथै प्रसाशनले आम जिल्ला वासिहरूलाइ यो वर्षको बडा दशै घरमै बसेर मनाउन अनुरोध पनि गरेको छ ।