धरान । पहिलो लकडाउन खुकुलो भए सँगै धरानमा दैनिक कोरोना संक्रमितको संख्या बढीरहे पनि स्थानीय तहका सरोकारवाला पक्षको भुमिका भने शुन्य रहेको छ ।
धरान उपमहानगरपालिकाको समन्वयमा काम गर्ने सामाजिक संस्था तथा राजनितिक दलहरुको भुमिका खासै देखिएको छैन् । विभिन्न समयमा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने संघसंस्थाहरु कोरोनाको संक्रमण बढिरहेको अवश्थामा अभियान संचालन गर्न नसक्दा पनि नागरिककै लापरवाहीले कोरोना संक्रमण बढी रहेको छ ।
सरकारले नागरिक आफै सचेत भए मात्रै कोरोना नियन्त्रण गर्न तथा रोकथाम गर्न सकिने जनाउँदै सचेत रहन आग्रह गरिरहेको छ तर स्थानीय तहमा सचेतनाका कार्यक्रमहरु कमै हुने गरेका छन् । स्थानीय तहले टेम्पोमा सुचना सुनाउँदै हिडेको छ तर सामाजिक संघसंस्थाहरुको सचेतना अभियान न्युन रहेको छ ।
सामाजिक संघ संस्था तथा त्यसमा आवद्ध अभियान्ताहरुको पहल कदमी नहुँदा र नागरिकहरु संक्रमण नियन्त्रण तथा रोकथामका लागि सचेत नहुँदा धरानमा अहिले संक्रमण दर दिनहँु बढी रहेको छ ।
संक्रमण नियन्त्रण गर्न लकडाउन घोषणा गर्दा आम सर्वसाधारणलाई नै मार पर्ने, लकडाउन खुल्ला गर्दा पनि सुरक्षा नअपनाउँदा संक्रमणको उच्च जोखिममा रहेको छ । नागरिकलाई सचेत गराउन सबैभन्दा ठुलो भुमिका सामाजिक संस्थाको भए पनि नगरपालिकाकै मुख ताकेर बस्ने बानिले गर्दा समस्या बढ्दै गएको एक सामाजिक अभियन्ता बताउँछन् । सामाजिक अभियन्ताहरुमा पनि संक्रमण पुष्टि हुँदै गए पछि अभियान संचालन गर्न नसकेको उनीहरुको भनाई छ ।
कोरोनाको जोखिम शुरु भए सँगै धरान जोसिजले सचेतना जगाउने अभियान शुरु गरेको थियो । अहिले कोरोनाको उच्च जोखिममा रहँदा कुनै पनि कार्यक्रमहरु तथा अभियान संचालन गरिएको देखिन्दैन् । कोरोना भाइरसबाट बच्ने उपायहरुका विषयमा समय समयमा सचेतना कार्यक्रम संचालन गर्दै आएको धरान जेसीजका अध्यक्ष दिपेन्द्र निरौलाको दाबी छ ।
जेसिजले धरान उपमहानगरपालिका सँगको समन्वयमा धरानका विभिन्न स्थानमा १ हजार लिटरका चार वटा हात धुने धारा सहितको ट्याङकी राखि दिएको थियो । मुख्य चौकहरुमा राखिएका धारा सहित ट्याङ्की पनि प्रयोग विहिन भएका छन् । सरकारले भिडभाड हुने किसिमका कार्यक्रमहरु संचालन नगर्न उर्दी जारी गरेकाले नियमको पालना गरिएको उनको भनाई छ । उनले भने, तर संक्रमणको जोखिम बढ्दै गएकाले आम मानिसहरुलाई संक्रमणका बारेमा सचेत बनाउनका लागि सामाजिक दुरी कायम गर्दै माक्स वितरण गर्ने, कोरोनाबाट कसरी बच्ने भनेर बजारमा पर्चा, ब्यानरहरु टास्ने योजना बनाउदै छौं, साथै होमआइशोलेसनमा बस्दा के गर्ने, क्वारेन्टाइन भनेको के हो, भन्ने विषयमा जानकारी मुलक पर्चा ब्यानर टास्ने योजना रहेको छ ।’
सामाजिक संघसस्था सँगै राजनितिक दलहरुको भुमिका पनि शुन्य नै रहेको छ । सत्तासिन दलहरु सरकारले गरिरहेको छ भन्दै बसेका छन् भने प्रतिपक्षी दल सरकारको आलोचनामै दिनहरु बिताई रहेको छ । तर आफ्ना कार्यकर्तालाई परिचालन गर्दै तल्लो स्तर सम्म सचेतनाका अभियानहरु संचालन गर्न सकेको छैन् ।
धरानको प्रमुख दलको रुपमा रहेको नेकपा प्रेस विज्ञप्तीमै सिमित रहेको छ । विज्ञप्ती जारी गर्दै नागरिकलाई सुचना सम्प्रेषण गरिरहेको छ तर स्थानीय स्तर सम्म पुगेर नागरिकलाई सचेत गराउन सकेको छैन् । नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी भन्छन, ‘नगर कमिटिले प्रेस विज्ञप्ती जारी गर्दै नगरवासीहरुलाई भौतिक दुरी कायम गर्न, अनिवार्य माक्सको प्रयोग गर्न, अनावश्यक भिडभाडहरु नगर्न प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।’
धरानमा संक्रमण दर बढीरहेको अवश्थामा सचेतना कार्यक्रमहरु संचालन गर्न समस्या रहेको उनको भनाई छ । भिडभाड नगरी नागरिकलाई सचेत बनाउने विषयमा योजना बनाउने उनले बताए । उनले भने, ‘हामीले हाम्रो संगठन मार्फत सचेतना फैलाउने काम गरिरहेका छौं, विभिन्न भातृसंगठनहरु मार्फत मास्क, सेनिटाइजर वितरणको कार्यक्रमहरु गरिरहेका छौं ।’
यता धरान उपमहानगरपालिकाका प्रमुखकै पार्टी नेपाली कांग्रेसलाई पार्टीको अधिवेसनले कोरोना सचेतना कार्यक्रमलाई प्रभाव पारेको छ । कांग्रेसले पनि सर्कुलरमै सिमित रहेको छ । कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङ भन्छन्, ‘कोरोनाका कारण अधिवेसन संग सम्बन्धित कार्यहरु पनि अघि बढाएका छैनौं, सबैतहका कमिटीहरुलाई अनिवार्य रुपमा सुरक्षा सावधानीको उपायहरु पलना गर्न गराउनका लागि सर्कुलर जारी गरेका छौं ।”
सचेतना अभियानका लागि नगरपालिकाले आव्हान गरिदिए प्रभावकारी हुने उनको भनाई छ । उनले भने, ‘सामाजिक संघ संस्था, नागरिक समाज, राजनितिक पार्टीलाई सहयोगको आव्हान गर्याै भने त्यो झन प्राभवकारी हुन्छ, तर त्यसको लागि वातवरण चै नगरपालिकाले बनाइदिनु पर्छ ।’
सामुदायिक स्तरमा सचेतना कार्यक्रमहरु सञ्चालन नगरेको उनले बताए । तर छिट्टै नगरपालिका सँग समन्वय गरेर अभियानहरु सँचालन गर्ने योजना रहेको बताए ।