बराहक्षेत्र । होरेच चन्द्रवंशी उमेरले ७५ वर्ष पुगे । ७५ वर्षपछि उनको टहरोमा बिजुली बत्ति बल्यो । वराहक्षेत्र नगरपालिकाको वडा नं. ९ स्थित श्रीलंका टप्पुस्थित गरैयामा जन्मिएका उनले जीवनको उत्तरार्धमा बिजुली बत्ती देख्न पाएकोमा खुसी प्रकट गरे ।
गरैयामै जन्मिएका र ०४५ सालमा कोशी नदीको कटानमा परेपछि केही वर टप्पुमा सरेका भुराइ चन्द्रवंशीले पनि ६० औं वसन्त पार गरेपछि बिजुली बत्ती बलेको देखे ।
वराहक्षेत्र नगरपालिकाको श्रीलंका टप्पुमा विद्युत पुग्दा स्थानीय हर्षित भएका छन् । सप्तकोशी नदीले घेरेको वडा नं. ६ र ९ को भूभाग टप्पुमा बिजुली बलेपछि पुख्र्यौली रुपमा खेती किसानी गर्दै आएका किसानमा आशा र उत्साह पलाएको छ ।
सुगम जिल्लाको दुर्गमस्थलका रुपमा बुझिएको श्रीलंका टप्पुमा बिजुली पुग्दा स्थानीय खुसी भएको रामसेवक मेहताले बताए । संघसंस्थाको अनुदानमा सोलार बत्ती बाले पनि हाल बिजुली आउँदा खुसीयाली छाएको मेहताको भनाइ छ । ‘बत्ती नहुँदाखेरि सोलारबाट बाल्थ्यो, हुस्से लाग्दाखेरि सोलार पनि काम गर्दैनथ्यो, यतिखेर किसानले मोटर लाउँछ, पानी पटाउनको लागि सुविधा हुन्छ ।’ मेहताले भने ।
गरैया कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका स्थानीय युवा सन्तोषकुमार चन्द्रवंशीले खेती किसान गर्ने स्थानीयमा आशा र उत्साह पलाएको बताए । परम्परागत खेती किसानी गर्दै आएका चन्द्रवंशी, मेहता, बहरदारलगायतका समुदायमा सन्तोष लगायतका युवाले आधुनिक कृषिको योजना सुरु गर्दै आएका छन् । उन्नत बिउ, बिजनको प्रयोग र आधुनिक कृषि गर्ने उत्साह बोकेका सन्तोषजस्ता युवाहरुमा समेत बिजुली आएपछि उत्साह बढेको छ ।
‘२ वर्षअघि पोल गाड्दा नै बिजुली आउला भन्ने पर्खाइमा थियौं, बत्ती बाल्न पाउँछौं भन्ने आशा त थियो अहिले बिजुली बलिसकेपछि हामी सबै खुसी छौं,’ सन्तोषले भने, ‘कृषिका लागि अब मोटर जडान गर्न सकिने भयो, पानी तान्न सकिने भयो, सबैभन्दा ठूलो कुरोजस्तो लागेको त मोबाइल चार्ज गर्ने समस्या समाधान भयो ।’
विद्युत प्रसारणपछि स्थानीयले कृषि उत्पादन बढ्ने अपेक्षा लिएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षबाट आउने जंगली हात्ती लगायतका जनावरले दिने दुःख पनि कम हुने किसानको अपेक्षा छ । ‘जंगली जनावरले आतंक मच्चाउँथ्यो बत्ती आएपछि जनावरको दुःख नपाइएला भन्ने आशा छ ।’ वराहक्षेत्र ९ का वडा सदस्य समेत रहेका स्थानीय शम्भु चन्द्रवंशीले बताए । बिजुली आएपछि गरैया कृषि सहकारी संस्थाले आधुनिक कृषिसँगै चक्लाबन्दीमा खेती गर्ने योजना बनाएको छ । संस्थामा २ सय ६५ सदस्य छन् । ‘हामी संस्थागत रुपमा अघि बढ्छौं, हाम्रो पुख्र्यौली पेशा नै खेती किसानी हो, यसलाई आधुनिकीकरण गर्ने हाम्रो योजना छ, बिजुली बत्ती बलेपछि आशा र उत्साह पलाएको छ ।’ संस्थाका अध्यक्ष सन्तोषकुमार चन्द्रवंशीले भने ।
श्रीलंका टप्पुमा नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत प्रारम्भिक झण्डै अढाइ करोडको लगानीमा विद्युत विस्तार भएको नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख मिथिलेसकुमार गइवारले जानकारी दिए । ‘अनगोइङ प्रोजेक्ट हो, थप टेण्डर भएको छ, ५ वटा ट्रान्सफर्मर जडान गरेका छौं, प्रमुख गइबारले भने, ‘छुटफुट लाइन भने विस्तार गर्ने छौं, कोरोना संक्रमणका बेला औपचारिक कार्यक्रम गरिएन, हाललाई विद्युत छाडेका छौं ।’
विद्युत प्राधिकरणले हालसम्म यो विद्युत विस्तार परियोजनामा ३ पटकसम्म ठेक्का लगाइसकेको छ । पहिलो ठेक्कामा ३ सय ६८ वटा पोल गाडिएकोे थियो भने दोस्रो चरणमा १ सय ६० वटा पोल लगाइएको थियो । स्थानीयले जनश्रमदानमा १ सय २८ वटा पोल गाडेका छन् । १ सय ५० वटा पोल विस्तारका लागि नयाँ टेण्डर खुलाइएको छ । ५ वटा ट्रान्सफर्मर जडान गरिएको छ । थप एउटा विस्तार गर्न सकिने चक्रघट्टी वितरण केन्द्रका खुदराज घिमिरेले जानकारी दिए ।
विद्युत विस्तारले स्थानीयमा उत्साह थपिएको वराहक्षेत्र नगर प्रमुख निलम खनाल बताउँछन् । आधुनिक कृषि उत्पादन, जडिबुटी र चक्लाबन्दी खेतीका लागि स्थानीयलाई विद्युत विस्तारले सहयोग पुग्ने र सोही अनुसार कृषकलाई प्रोत्साहन गरिने नगर प्रमुख खनालले बताए ।
वराहक्षेत्र नगरपालिका विद्युतीकरणको दृष्टिले भाग्यमानी क्षेत्र हो तर पनि हालसम्म सबै क्षेत्रमा विद्युतीकरण हुन सकेको छैन । कोशी प्रोजेक्ट शुरु भएपछि वराहक्षेत्रको चतरा लगायतका क्षेत्रमा विद्युत विस्तार गरिएको उद्योग वाणिज्य संघ सुनसरी वराहक्षेत्रका अध्यक्ष रमेशकुमार विष्ट बताउँछन् । त्यसपछि नेपाल सरकारले ०३६ सालमा समेत विद्युत प्रसारण गरेको थियो । २०५२ सालमा समेत विद्युत लाइन प्रसारण भएको वराहक्षेत्रमा त्यस यता विद्युत सर्वसुलभ भएको थियो । यसलाई हेर्दा वराहक्षेत्रमा बिजुली आएको २५ वर्षपछि श्रीलंका टप्पुसमेत उज्यालो भएको छ ।