विराटनगर । बुढीगंगा गाउँपालिका वडा नं ७, डङ्ग्राहा, कमलपुरका १७ वर्षका आनन्द विश्वासको जीवनमा अचम्म लाग्ने परिवर्तन देखिएको छ । पाँच महिनाको अवधिमा उनमा आएको परिवर्तन देख्नेहरू स्वयम नै आश्चर्यमा परेका छन् । आनन्दको स्वभाव, आत्मविश्वास र क्षमतामा जुन मात्रामा परिवर्तन देखियो, त्यो नै अरूलाई आश्चर्यमा पार्ने किसिमको छ ।
आनन्दको बुवा झगंरी विश्वास र आमा कमली विश्वास हुन् । मध्यम वर्गीय विश्वास परिवार जेनतेन जीवन गुजारा गरिरहेको छ । आनन्द ग्रामथान गाउँपालिका वडा नं ६, नेताचोकमा रहेको पशुपति सेकेण्डरी बोर्डिङ्ग स्कुलमा कक्षा १० मा पढ्छन् । प्रतिकूल आर्थिक अवस्था भए पनि उनी अरूभन्दा जेहेन्दार र मेहेनती छन् ।
आश्चर्य मान्नुपर्ने कारण यति नै मात्र होइन । यस बीचमा उनको जीवनमा आएको परिवर्तनले सबैभन्दा धेरै खुसी उनका बाआमालाई दिएको छ ।
यही २०७५ बैशाखमा वुढीगंंगा गाउँपालिका वडा नं ७, कमलपुरमा नारी विकास संंघले सफल रूपान्तरण जीवन उपयोगी सीप केन्द्र सञ्चालनमा ल्याएको थियो । वल्र्ड भिजन इन्टरनेशनलकोे सहयोगमा प्रत्येक शनिवार सञ्चालन भएको उक्त केन्द्रमा उनी सहभागी भएका थिए ।
रूपान्तरण कक्षामा भर्ना हुनुअघि उनलाई नेपाली भाषामा अरूसँग बोल्न पनि राम्ररी आउँदैनथ्यो । अप्ठ्यारो गरेर बोल्थे । अनि कक्षामा चाहिं चकचक गरिरहन्थे । कक्षामा नियमित आउँदैन थिए । अरूका अगाडि गएर बोल्न डराँउँथे । तर जब रूपान्तरण कक्षामा सहभागी हँुदै गए । कक्षामा सहजकर्ताले प्रश्नोत्तर, खेल, अभिनय आदिको माध्यमबाट प्रस्तुती गर्न लगाए । समूह कार्य गर्न लगाए, नाटकहरूमा खेलाए । राम्रा र नराम्रा बानीका बारेमा जानकारी दिए । जीवन उपयोगी सीपहरू सिकेर उनको जीवनमा बसन्तको बहार देखिएको छ । अहिले उनी नेपाली भाषा अप्ठ्यारो नमानीकन बोल्छन् । पहिले जस्तो चकचक गर्दैनन् । बरू कक्षामा अगाडि गएर बोल्ने र बालविवाह विरूद्धको कार्यक्रमहरूमा सहभागी हुने गरेका छन् । उनी सडक नाटकहरूमा सहभागी भएर अभिनयसमेत गर्छन् ।
रूपान्तरण कक्षाका नियमित सहभागी उनी भन्छन्, ‘रूपान्तरण कक्षामा सहभागी हुने अवसर पाएँ । त्यसमा सहभागी भएका कारण मभित्र धेरै सकारात्मक परिवर्तनहरू आएका छन् । यस कुरामा मलाई अत्यन्त खुसी लागेको छ ।‘
किशोर वयका आनन्द विश्वासको जीवनमा आएको यो खुशी, विश्वास परिवारको मात्र खुसी होइन । हाम्रो पनि खुसी हो, हामी सबैको हो ।