धरान । मासु व्यवसायीहरुले आफु खुशी मासुको मुल्य तोक्न थाले पछि धरान उपमहानगरपालिकाले केही दिन अघि जारी गरेको नयाँ मुल्य कार्यान्यवनका लागि आइतबार मासु पसलहरु अनुगमन गरेको छ ।
आइतबार (आज) देखि लागु हुने गरि गत शुक्रबार धरान उपमहानगरपालिकाले मुल्य समायोजन गर्दै नयाँ मुल्य सार्वजनिक गरेको थियो । मुल्य समायोजन कार्यान्यवनको विषयमा गरिएको अनुगमनका क्रममा अधिकांश मासु पसलहरुले नयाँ मुल्य कार्यान्यवन गरेको भेटिएको अनुगमन अधिकृत वेद प्रसाद सापकोटाले बताए ।
सापकोटाका अनुसार धरान १७ रेल्वे, धरान १३, धरान १२ चतरालाइन लगायत विभिन्न ठाउँमा अनुगमन गरिएको थियो । केही पसलहरुमा समायोजन भन्दा बढी मुल्य पाइएको पनि उनले बताए । उनका अनुसार केही पसलले कुखुराको मासु ३ सय, खसीको मासु १ हजारमा बिक्रि गरेको भेटिएको उनले बताए ।
मासुको मुल्य निर्धारण गर्न गठित समितिले आइतबार देखि लागु हुने गरि नयाँ मुल्य निर्धारण गरेको थियो । समितिले बोइलर कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैया सँुगुरको मासु प्रतिकिलो ३ सय ६०, खसीको मासु प्रतिकिलो ९ सय र राँगाको मासु प्रतिकिलो ३ सय ५० निर्धारण गरेको थियो ।
मुल्य समायोजन कार्यान्यवन नभएका पसलहरुलाई पहिलो पटक चेतावनी दिएर छाडिएको सापकोटाले बताए ।