निर्वाचनताका घोषित मुद्दाहरू हल गर्न युवा संघको दवाव

  • भदौ २७, २०७७
  • भूमिप्रसाद पाठक
alt

 पथरी, भदौ २७ गते । नेकपा निकट यसको भातृ संगठन– राष्ट्रिय युवा संघ नेपालले मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर ३ मा निर्वाचनताका उठाइएका र यसमा पनि प्राथमिकिकरण गरिएका मुख्य–मुख्य मुद्दाहरू बिना कुनै ढिलासुस्ती अविलम्ब समाधान गर्नका लागि पार्टी नेतृत्व र सरकारी निकायहरूमा गम्भीर ध्यानाकर्षण सहितको सिर्जनात्मक दवाव दिने उद्देश्यअन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाको सभाकक्ष, पथरी बजारमा अन्तरक्रियात्मक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
हिजो भदौ २६ गते सम्पन्न यो कार्यक्रम मूलतः युवा संघ नेपाल, मोरङ जिल्ला समितिको पहलमा संघका केन्द्रीय नेता रवीन थापा, विजय डाँगी, जिल्ला अध्यक्ष नवीन पौडेलसहितले गएको संघीय निर्वाचनताका उठाइएका र उठेका विषयवस्तुहरूमध्ये प्राथमिकीकरण गरिएका मुद्दाहरूको छिनोफानो गर्नुपर्नेमा जोड भएको थियो ।
 
 
चुनावमा जारी राजनीतिक घोषणापत्र र पार्टीको तर्फबाट अघि सारिएको उम्मेदवारले विभिन्न सभा, कोणसभामा उठाएका विषयवस्तुहरू जनमतसँगै अनुमोदित भए, हामीले यसबीचमा के–के गर्न सक्यौं ? वा सकेनौं ? त्यसको लेखाजोखा गर्ने समय नजिकै आइरहेकोले त्यो समयअगावै यसको समिक्षा गर्न र अधुरा–अपुरा कार्यभारहरू पूरा गर्ने गराउने सन्दर्भमा दवाव दिन र सम्बन्धित सबैको ध्यानाकर्षण बढाउन यो अन्तरसंवाद कार्यक्रम आयोजन गरिएको हो, कार्यक्रमको सहजीकरण गर्नुहुँदै जिल्ला अध्यक्ष नवीन पौडेलले भन्नुभयो । 
 
आफूहरू कसैको भजन गर्ने मात्र होइन । गतिहिनता तोड्न युवा संघ कोरोनाको त्रासलाई उछिनेर सडकमा उत्रिएको छ । यो अन्तरसंवाद कार्यक्रमले उठान गर्न खोजेको विषयगत अभिप्रायमाथि प्रकाश पार्नेक्रममा युवा नेता थापाले स्मरण गर्दै गराउँदै भन्नुभयो– संघीय निर्वाचनताका हामीले मूलतः यो मोरङको ३ नम्बर क्षेत्रमा ५ वटा मुद्दाहरू उठायौंः– १) सुकुम्बासी सहितको अव्यवस्थित बसोबासको समस्याको दीर्घकालीन समाधान, २) पथरी शनिश्चरे नगरपालिकामा रहेको ऐतिहासिक शरणार्थी शिविरस्थलमा बहुसाँस्कृतिक संग्रहालय निर्माण, ३) स्थायी प्रकृतिका खोला तटबन्धन, ४) पूर्वाञ्चल विश्वविद्यालयलाई गोठगाउँमा स्थानान्तरण गर्ने र ५) राधानगर, बाहुनीको पेट्रोलखानी अन्वेषण र उत्पादन गर्नुपर्ने रहेका थिए ।
 
 
जनमतले हामीलाई यी काम गर्न अख्तियारी दियो । हामीले के–कति गर्‍यौं ? अनुमोदन हुन आवश्यक छ । कबोलअनुसार काम नभएको हो भने बचेखुचेको समयमा यी कामहरू अविलम्ब आरम्भ गरिनुपर्छ । आलटाल, ढिलढाल, बहाना आदि अभिव्यक्त हुने कुनै समय र शब्द अघि सार्न हामीलाई कत्ति पनि छुट छैन, त्यसो भएकोले युवा संघ, नेपाल सिर्जनात्मक दवाव सहित आवश्यक ढंगले काँध थापेर नै सहकार्यमा गर्न समेत तयार रहेको बताउनुभयो । 
 
कार्यक्रममा संविधानसभा सदस्य माननीय चण्डीप्रसाद राईले संग्रहालय निर्माणको प्रसंगमा आफू जोडिएको केही सन्दर्भहरू उठाउँदै भन्नुभयो– प्रदेश सरकारको प्रादेशिक गौरवको योजना बनेको बेला त्यसलाई विफल बनाउन लाग्नेहरू अहिले पनि कुनै न कुनै ढंगले लागेकै छन् ।
 
उहाँले शिविरसहित पूर्वपश्चिम मुख्य सडकको उत्तरतर्फको जंगलको करीव ८ सय विगाहा जग्गा आफूलाई बाबुले अंश दिएको व्यहोरा उल्लेख गर्दै कुलनाथ निङलेखुले जिल्ला अदालतमा मुद्दा हालेकोमा निङलेखुले मुद्दा हारेका थिए । लगत्तै निङलेखुले पुनरावेदन गरेको अवस्था रहेकोले संग्रहालयको प्रक्रिया बिचाराधिनजस्तो बनेको छ । तर यो बन्छ, बन्छ । ठाडो जंगल रहेको क्षेत्रमा त्यस प्रकारको दावी गरेर भू–माफियामार्फतको चलखेललाई अन्त्य गर्न सबै लाग्नुपर्ने देखिन्छ । सभासद राईंले आफ्नो संयोजकत्वमा प्रदेश सरकारले बनाएको संग्रहालयको पूर्व सम्भाव्यता अध्ययन समितिले डेढ वर्ष अघि प्रतिवेदन बुझाएको समेत स्मरण गराउँदै यसलाई अविलम्ब कार्यरूप दिनुपर्ने बताउनुभयो । 
 
सम्पन्न यो पहिलो र महत्तपूर्ण अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश सदस्य युवराज बास्कोटाले पथरी शनिश्चरे नगर एकातिर प्रचुर सम्भावनाले पछ्याइरहेको र अर्कोतिर चुनौतिको चाङ चुलिँदै गएको स्मरण गराउँदै सुकुम्बासी सहितको अव्यवस्थित बसोबाससम्बन्धी समस्याको दीर्घकालीन समाधान यहाँको पहिलो शर्त हो भन्नुभयो । उहाँले कुनै एउटा नयाँ अनुहारको, बिरानो वा सुकिलो मानिस हिड्दै गर्दा मूल बाटोबाट यसो वरपर भयो भने भू–माफियाका नाममा स्थानीयबाट गालीगलौज र हातपातको शिकार हुनुपरेको समेत दृष्टान्तहरू राख्नुभयो ।
 
उहाँले यहाँको समस्याको प्रकृति र समस्या समाधानको उपाय पनि फरक हुने हुनाले तदानुकूल आयोग निर्माण हुनुपर्ने र अविलम्ब कार्यारम्भमा जोड दिनुपर्नेमा आफ्नो मत राख्नुभयो । युवा नेता बास्कोटाले संग्रहालय बन्ने भनिएको प्रस्तावित ठाउँथलाका बारेमा अध्ययन जरूरी छ ।
 
एकातिर यहीँ ठाउँमा नगरपालिकको भवन बन्ने कुरा स्थानीय जनमत र अदालतबाट समेत अघि सरेको छ भने अर्कोतिर यो जमिनमाथि अरू विभिन्न ढंगले दोहन भइरहेको, विभिन्न शीर्षकमा प्रयोग भइरहेको र यसको उचित संरक्षण नभएकोले शिविर क्षेत्रका टहराहरूलाई व्यवस्थित रूपले एकातर्फ मात्र बनाउनका लागि यसको चुस्त व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता कतिपय विषयवस्तुहरू मूलतः बसोबासको समस्या सहितका प्रमुख समस्याहरू समाधानमा सबै तहका सरकारसँगको समन्वयात्मक भूमिका, योजना निर्माण र कार्यान्वयन तालिका बनाएर अघि बढ्न ढिलो भइसकेको पनि धारणा उहाँले राख्नुभएको छ । 
 
नेकपाका नेता दिननाथ तिम्सिनाले समस्या भएकै ठाउँबाट यसको समाधानको प्रयत्न भएको खुशी व्यक्त गर्दै युवा संघ नेपालको यो भूमिकाको तारिफ गर्नुभयो । विषयगत प्रस्तुतिका सिलसिलामा नगर ईञ्चार्ज समेत रहनुभएका नेता तिम्सिना, मोहन तुम्बापो र भगतचन्द्र थपलियाले दोहोरो स्वामित्वसहितको बसोबासको समस्या समाधान गर्न पहिलो प्राथमिकता बनाएर जिल्ला तहमा विशेष आयोग बन्नुपर्नेमा जोड दिनुभएको छ ।
 
नेता तिम्सिना र तुम्बापोले नेता भानुभक्त ढकालले चुनावाताका एकजना जिम्मेवार उम्मेदवारका हैसियतले बोल्नुभएका विषयवस्तुलाई यहाँ भाइरल बनाउने गरिएको विषयले कहिलेकाहीँ आफैलाई गिज्जाएको अनुभूति हुने गरेको तीतो यथार्थ पोख्नुभयो । नेकपाको पोल्टामा परेको जनताको विश्वासको जनमत डगमगाउन नदिन र घोषित विषयवस्तुहरूलाई परिणामतः कार्यान्वयनमा ल्याउन आफूहरू युवा संघको यो दवावमा सक्रिय साथ दिन, ऐक्यबद्धता जाहेर गर्न आमरण अन्नसन बस्नुपरे पनि तयार रहेको बताउनुभयो । 
 
पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले बसोबासको समस्या समाधान र संग्रहालय निर्माणको प्रश्नमा समन्वय भइरहेको बताउनुहुँदै संग्रहालय निर्माणका सन्दर्भमा मन्त्रालयको अवधारणा र कन्सल्टेन्सीको डिजाइनमा एकरूपता हुनुपर्ने धारणा राख्नुभयो । 
कार्यक्रममा नेकपा जिल्ला नेता पार्थबहादुर बुढाथोकी, प्राज्ञिक व्यक्ति पर्शु मिश्र, तुलसी ढकाल, उपप्रमुख यमुना बिष्ट र स्थानीय दर्जनौं युवा नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 
 
 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved