धनकुटा, १५ भदौ ÷धनकुटामा जारी निषेधाज्ञा थप कडा पारिएको छ । दोस्रो पटक थप गरी भदौ ११ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई भदौ १७ गतेसम्म थप कडा पारिएको हो ।
कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको र उनीहरुको ट्रयाकिङ र ट्रेसिङको कार्य भईरहेकोले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलन नदिनका लागि निषेधाज्ञालाई थप कडा पारिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञा कडा पारिएसँगै धनकुटा बजारमा सुरक्षा व्यवस्था कडा पारिनुको साथै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस अघि लागु गरिएको निषेधाज्ञामा दैनिक बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म र साँझ ५.०० बजेदेखि ७.०० बजेसम्म दैनिक उपभोग्य खाध्य सामग्रीहरु र अन्य आवश्यकीय सामग्रीहरु स्वास्थ्य प्रोटोकलको पालन गर्दै खरिद विक्री गर्न पाउने व्यवस्था गरिएको थियो ।
तर आजदेखि निषेधाज्ञा कडाई गरिएसँगै भदौ १७ गतेसम्म बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म मात्र दैनिक उपभोग्यवस्तुहरुको पसल खुल्ला रहने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विमलीले बताए । यो समयमा औषधी पसल बाहेकका कुनै पनि पसलहरु तोकिएको समय बाहेक खुल्ला रहने छैनन् ।
त्यस्तै सरकारी कार्यालयहरु सकेसम्म विधुतीय माध्यमद्धारा वा ५० प्रतिशत कर्मचारीलाई सहभागी गराएर संचालन गर्न पाउने छन् भने वित्तिय संस्था तथा बैकहरु विधुतीय सेवा बाहेक अन्य गर्न नपाउने निर्णय गरिएको छ । यता सर्वसाधारणलाई नागरिकहरुलाई अत्यावश्यक काम बाहेक पूर्णरुपमा निषेध गरिएको छ भने अन्य कर्मचारीहरुलाई सम्बन्धित कार्यालयको कार्ड लगाएर मात्र हिड्डुल गर्न व्यवस्था गरिएको छ ।