धरान । कोरोनाको जोखिममा श्रमजिवी पत्रकारहरुको अवश्था थप संकटग्रस्त बन्दै गएको अवश्थामा एकद्वार प्रणालीबाट सहयोग वितरण गर्न प्रेस संगठन नेपाल सुनसरीले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालाई संगठन सुनसरीका संयोजक श्रीशिषा राईले ज्ञापन पत्र बुझाउँदै आफुखुशी वितरण गरिने सहयोग तथा राहतले जिल्लामा क्रियाशिल रहेका संगठनहरु बिच अस्वस्थ्य प्रतिष्पर्धा हुन सक्ने भएकाले एकद्वार प्रणाली लागु गर्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र बुझाउँदै संयोजक राईले भने, ‘प्रेस संगठन नेपाल सुनसरी सहित विभिन्न संघसंगठनहरु राहत तथा सहयोग संकलनमा अहोरात्र खटिरहेकाछन्, यो राम्रो पक्ष हो तर सङ्कलित राहत सामाग्री वा सहयोगलाई आफुखशी वितरण गर्दा जिल्लाका संगठनहरुविच अस्वस्थ प्रतिस्पर्धा उत्पन्न हुनसक्ने जसले गर्दा वितरण सन्तुलित नभई संगठनहरु विच वैमनस्यता सिर्जना हुनसक्दछ ।’
सहयोग वितरणमा अस्वस्थ्य प्रतिष्पर्धा हुँदा नेपाल पत्रकार महासंघ र समग्र पत्रकारिता क्षेत्रको औचित्य र साख समेत शिथिल हुने अवश्था आउने भएकाले राहत वा सहयोगलाई केन्द्रित गर्न पनि माग गरेको छ । सुनसरीको पत्रकारिता संकटग्रस्त बनेको अवश्थामा सुनसरीका पत्रकारहरुको साझा संस्था महासंघ सुनसरीले अपेक्षाकृत भुमिका निर्वाह गरेको महशुष हुन नसकेको पनि बताए ।
उनले भने, दोस्रो चरणको लकडाउनका समयमा महामारीको अवस्था झन जटिल बनेसँगै जिल्लाको पत्रकारिता क्षेत्र र श्रमजिवी पत्रकारहरुको अवस्था थप संकटग्रस्त बन्दै जाँदा पनि समाधानतर्फ महासँघ गम्भिर नभएको देखिएको छ ।’
संगठनको आइतबार बसेको पुर्ण बैठकले संकटकालिन अवश्थामा पत्रकारहरुलाई राहत तथा सहयोग वितरण गर्न सञ्चार भैपरी कोषको स्थापना गरेको पनि जानकारी गराएको छ । कोषमा संकलन भएको रकम महासंघ सुनसरीमा जम्मा गरि एकद्वार प्रणालीबाट वितरण गरिने पनि संयोजक राईले बताए ।
सुनसरीको पत्रकारितामा कोरोनाले पारेको प्रभाव र अवश्थाको वृहत अध्ययन गर्न संगठनका केन्द्रिय सल्लाहाकार भवानी बरालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको महासंघलाई जानकारी गराएको छ ।
ज्ञापनपत्रमा पत्रकार बरालको संयोजकत्वमा केन्द्रिय सदस्यहरु केशव घिमिरे, देवेन्द्र कार्की र जयकृष्ण यादव, प्रदेश सदस्य राम खरेल सदस्य र सुनसरी सहसंयोजक शेखर ढकाल सदस्य सचिव रहेको ६ सदस्यिय सुनसरीको पत्रकारितामा कोभिड १९ को प्रभाव अध्ययन कार्यदल गठन गरिएको जनाएको छ ।
कार्यदललाई १५ दिन भित्र अध्ययन प्रतिवेदन बुझाउन समेत समयसिमा तोकिएको उनले जानकारी दिए । उनले भने, कार्यदलबाट प्राप्त निष्कर्ष र सिफारिशका आधारमा आगामी राहत वा सहयोग वितरणलाई व्यवस्थित गर्न नेपाल पत्रकार महासँघ लगायत विभिन्न निकायसँग छलफल र समन्वय गरिनेछ ।’
त्यसै गरि कोभिड १९ महामारीको बहानामा श्रमजिवी पत्रकारको सेवा सुविधा कटौति गर्ने, कार्यादेश नदिने र केही सञ्चारमाध्यमले निष्कासन समेत गरेको जानकारी प्राप्त भएकोले पत्रकारहरुको अवश्थाको विश्लेषण गरि तत्काल संबोधन गर्न समेत महासंघ समक्ष माग गरेको छ ।