धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा उपचार गराईरहेकी सिरहाकी एक महिलालाई कोरोना पुष्टि भएको छ ।
जनकपुरबाट गत २२ गते रिफर भएर आएकी ३० वर्षिय महिलाको परिक्षणको रिपोर्ट आइतबार आएको थियो । उनलाई सोमबार (आज) आइसोलेसनमा सिफ्ट गरिएको छ । रिफर भएर आएको समयमै शंकास्पद रहेकाले छुट्टै राखेर उपचार गराईरहेकाले डराउनु पर्ने अवश्थामा नरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘हिजो आइसोलेसनमा बेड खालि नभएकाले त्यही राखिएको थियो, आज आइसोलेसनमा सारिएको हो, तर उनी आउँदा देखिनै सस्पेक्ट देखिएकाले छुट्टै राखेर उपचार गराईरहेका थियौं ।’
जनकपुर अस्पतालमा रहँदा नै श्वासप्रश्वासमा गाह्रो हुन थाले पछि प्रतिष्ठानमा रिफर भएर आएको सापकोटाले बताए । उनलाई कोरोना पोजिटिभ देखिए पछि कन्टयाक्ट ट्रेसिङ गर्न शुरु भइसकेको उनले बताए । पोर्टोकल अनुसार वार्डलाई सरसफाई गरिने र सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ गरिने उनको भनाई छ ।
बिरामी सँगै रहेका आफन्तहरु गाइनो वार्डमै रहेकाले अन्य बिरामीका आफन्तहरु त्रसित बनेका छन् । सँगै बसेका अन्यलाई नलगी बिरामी मात्रै लिएर जाँदा त्रास बढेको एक बिरामीका आफन्तले बताए ।