प्रदेश १ को राजधानीमा कसरी फैलियो समुदायमा कोरोना ?

  • साउन २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । स्थानीय रुपमा विराट अस्पताल (विराट नर्सिङ) होमका वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पहिलो पटक देखिएको कोरोनाको संक्रमण तीव्र रुपमा विराटनगरका अन्य अस्पतालतिर पनि सरेको छ । दुई साताभित्र तरकारी व्यापारी, पान पसले, होटल संचालक र प्रदेशका उच्च पदस्थ पदाधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।

परीक्षणको दर बढ्दै जाँदा संक्रमणको क्षेत्रसमेत फराकिलो बन्दै गएको देखिन्छ । विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २०० कट्न लागेको छ । संक्रमणको बढ्दो ग्राफले ‘प्रदेश १ को राजधानी विराटनगरमा कोरोना संक्रमणको तीब्रतर फैलावट कसरी हुन पुग्यो ?’ भन्ने आम रुपमा अहिले यहि प्रश्न उठ्न शुरु भएको छ । तर, उत्तर सहज नभएपनि विराटनगरमा समुदायस्तरमै कोरोनाको संक्रमण पुगिसकेको निश्कर्षसाथ संक्रमणको ‘चेन बे्रक’ गर्न भन्दै महानगरले पुनः १५ दिने लकडाउन घोषणा गरेको छ । चिकित्सक र स्वास्थ्यकर्मीमा भएको संक्रमणको स्रोत नखुलेपनि अस्पताल हुँदै संक्रमण समुदायसम्म पुगेको तथ्यलाई महानगरलेसमेत स्विकार गरेको छ ।

खासगरी विराट अस्पतालमा वरिष्ठ चिकित्सक र स्वास्थ्यकर्मीमा देखिएको संक्रमण उनीहरुकै माध्यमबाट गाउँसम्म समेत पुगेको देखिएको छ । मोरङको ग्रामथान गाउँपालिका–२ मा युवामा भएको संक्रमणको स्रोत विराटकै एकजना नर्स थिइन । संक्रमित युवा भन्छन्,“घरमा चाहिएको औषधि लिन गाउँकै क्लिनिक गएको थिएँ अन्यत्र गएकै छैन् । पछि क्लिनिककै नर्स संक्रमित भई आइसोलेसनमा गएको थाहा भएपछि मलाई समेत लक्ष्यण देखियो । परीक्षण गरें । पोजेटिभ रिर्पोट अयाो । अहिले कोशी कोभिड अस्पतालमा उपचाररत छु ।”
विहीबारमात्र मोरङको गोठगाउँबाट कोरोना जितेर घर फर्किएका पूर्वाञ्चल विश्व विद्यालय डिन कार्यालयका अधिकृत सुजन दाहालले बाह्रखरीसंग भने,“विराटका वरिष्ठ चिकित्सकसंग एउटा कोठामा भेटघाट गरेको थिएँ । पछि उहाँमा लक्ष्यणसहितको कोरोना भएपछि मनमा चिसो पस्यो । अनि परीक्षण गराएको कोरोना देखियो । धन्न परिवारलाई सरेन छ ।” दाहालमा कोरोनाको लक्ष्यण थिएन । उनी गोठगाउँको आईसोलेसनबाट फर्किएर ‘होम क्वारेन्टाइन’ मा छन् ।

विराटमा कार्यरत अर्की स्वास्थ्यकर्मीबाट कोशी अस्पतालका अन्य सहकर्मीमा समेत कोरोना सरेपछि ‘पोस्टनाटल वार्ड’ सिल भयो । कोशीले आफ्ना कर्मचारीलाई अन्यत्र गई काम गर्न रोक लगाईसकेको अस्पतालका मेसु चुमनलाल दासले बताएका छन् । अस्पतालका ओपीडीमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएपछि बन्द गरिएको ओपीडी पुनः संचालनमा आएको छ । विराटबाट शुरु भएको संक्रमणको चेन निकै लामो भएको अन्यमा देखिएको संक्रमणले नै पुष्टि भईसकेको छ ।

विराटनगर महानगरपालिकाले समुदायस्तरमा कोरोना फैलिएको दाबीसाथ कोरोना भाइरसको संक्रमणको अवस्था पत्ता लगाउन दैनिक परीक्षण बढाएको छ । जनस्वास्थ्य महाशाखाका अनुसार दैनिक करिब ५ सय जनाको स्वाब संकलन हुँदैछ । महानगरभित्र संक्रमितको संख्या २०० कट्नै लाग्दा संक्रमण अस्पतालहरुमा समेत केन्द्रीत भएको देखिन्छ ।

महानगरको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की भन्छन्,“हामीले परीक्षणको दर बढाएका छौं तर स्वाब दिएर बाहिर हिंड्डुल गर्ने, अरुको सम्पर्कमा जाने र नजिता नआउनेहरु घरमा सेल्फ क्वारेन्टाइनमा नबसिदिंदा तीव्र संक्रमणको जोखिम झन् बढेर गएको छ ।” उनले परीक्षण नतिजा नआउञ्जेल घरमै धैर्यसाथ क्वारेन्टाइनमा बसिदिन नगरवासीमा अनुरोध गरेका छन् ।

संक्रमण विराटनगरको कोशी, विराट, न्यूरो र म्याक्स अस्पतालपछि गोल्डेन अस्पताल र मोरङ सहकारी अस्पतालसम्म पुगेको छ । पछिल्लो पटक स्वास्थ्यकर्मी र कर्मचारीसहित ११ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ सहकारीका पाँच, गोल्डेनका तीन र न्यूरोका थप तीन जनालाई कोरोना संक्रमण देखिएको छ । मोरङ सहकारीका रेडियोलोजी विभागका चिकित्सकमा संक्रमण देखिएको हो । बुधबार मृत्यु भएका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको एक्स–रे गरिएकोले संक्रमण स्रोत उनी हुनसक्ने अड्कलबाजी गरिएको छ । तर, पुष्टि भने भईसकेको छैन । ती पुरुषको कोशी अस्पतालमा मृत्यु भयो । कन्ट्रयाक ट्रेसिङमार्फत संक्रमितको सम्र्पकमा आएका र अस्पतालमा उपचाररत आठ जनाको स्वाब संकलन भएको थियो । अस्पतालका पाँच जनामा कोरोना देखिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक विकास अधिकारीले भने,“उच्च सतर्कतासाथ ओपीडी सेवा बन्द गरेर निर्मलीकरण गर्ने अभियान गर्दैछौं ।”

गोल्डेन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले स्वाब दिएकोमा बिहीबार तीन जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना देखिनेमा दुई जना चिकित्सक छन् । गोल्डेनले आकस्मिक र डाईलासिस विभाग बन्द गरेको छ । डिस्इन्सफेक्सन र सेनिटाईज गरेर अस्पतालले सेवा शुरु गर्ने भन्दै सूचना टाँस गरेको छ । न्यूरोले पनि आफ्ना सेवा निर्मलीकरण नहुन्जेलका लागि स्थगन गरिएको जनाएको छ । नेपाल चिकित्सक संघ कोशीका अध्यक्ष डा. फरवार्ड सिलवालले सबै अस्पतालको आकस्मिकबाहेकका सेवा तत्कालको लागि बन्द गरेर कोरोना संक्रमणे चेन ब्रेक गर्नुपर्ने स्थानीय सरकारलाई संस्थागत रुपमै सुझाव दिएका छन् ।

स्वाब दिएर तरकारी बेच्न बसे

विराटनगरमा कोरोना शंकास्पदले स्वाब दिने तर होम क्वारेन्टिनमा बस्नुको साटो व्यापार व्यवसाय भए त्यही गर्ने र हिंडडुल नरोक्ने गरेको पाइएको छ । यसअघि स्वाब दिएका गुद्रीका एक जना पसलले पनि पसल बन्द गरेनन् । शनिमन्दिर चौकका पान व्यापारीले पनि पान बेचिरहे ।

बुधबार पनि गुद्री बजारका एक जना युवाको रिर्पोट पोजेटिभ आएपनि उनी गुद्री बजारमा तरकारी बेच्न बसेका थिए । पछि नगरका सुरक्षाकर्मीले उनलाई खोजपड्ताल गरी आईसोलेसनमा भर्ना गराए । केही दिनअघि एक जना राजनीतिककर्मी पनि स्वाब दिएर मास्क वितरण गर्न सक्रिय भएको पाइएको थियो ।

महानगरका प्रमुख भीम पराजुली भन्छन्,“हामीले परीक्षणको दर बढाउनको लागि स्वाब संकलनलाई तीव्र बनाएका छौं तर प्रदेशको परीक्षण ल्याबबाट परिणाम आउन केही ढिला हुने भएकोले स्वाब दिएकाहरुलाई परिणाम नआउञ्जेल घरमै बस्न आग्रह गर्दै आएका छौं ।” पराजुलीले स्वाब दिएर जथाभावी हिंडुडुल नगर्न र पेशा व्यवसाय गर्ने भए आफू नबस्न सुझाव दिए । भारतसंग सीमा जोडिएको कारण पनि मानिसहरुको आउजाउले विरटानगरमा थप समुदाय संक्रमणको जोखिम हुने महानगरको ठम्याई रहेको र सतर्कता नअपनाउने हो भने कारोना संक्रमणको चेन थप बढेर जाने पराजुली बताउँछन् ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved