विराटनगर । प्रदेश १ का एक न्यायाधिवक्ता चुणामणि आचार्य र उनका परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सरकारको हाइप्रोफाइल व्यक्तिलाई कोरोना संक्रमण भएको यो पहिलो पटक हो । विराटनगर ५ निवासी आचार्यका छोरा र श्रीमतीमा समेत कोरोना देखिएको छ । तर, संक्रमणको स्रोत के हो भन्ने खुल्न सकेको छैन । आचार्यले आफूमा ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराएको र रिर्पोट पोजेटिभ आएको बताएका छन् ।
ज्वरो आउने समस्या भएपछि आफू कार्यालय तथा अन्य सार्वजनिक कार्यक्रममा सहभागी नभई घरमै सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।
यसअघि विराट मेडिकल कलेजका प्रमुख वरिष्ठ चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण देखिएको थियो । उनलाई धरानबाट थप उपचारको लागि टिचिङ अस्पताल काठमाडौ पठाइएको थियो । प्लाज्मा थेरापी माध्यमबाट निक्कै गम्भीर अवस्थामा उपचार भएपछि उनको स्वास्थ्य सुधारोन्मुक भएको बताइएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार प्रदेश १ राजधानी विराटनगरमा ७ प्रहरीसहित १५ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशभर १८ जना संक्रमित थपिएका छन् ।