इलाम / इलामको सन्दकपुर गाँउपालिका ५ को जमुनामा अन्तर्राष्ट्रिय फुटबल रंगशालाको निर्माण कामको धमाधम भईरहेको छ । प्रदेश सरकारको १५ र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँ लागतमा गजाधर धनमाया रंगशालाको काम भईरहेका हो ।
केही समय अगाडी जमुनाका फुटबल खेलप्रेमी, बौद्धिक व्यक्तित्व र जनप्रतिनिधिको पहलमा जमुनामा चन्द्रपाल थेबे ढापपोखरीका नजिकै स्थानीय समाजसेवी तोयानाथ भट्टराई सँग १५ लाखमा १८ रोपनि जग्गा किनेको र बाँकि भट्टराईले निशुल्क जग्गा दान गरेपछि २५ पुगेको र रंगशाला बन्न आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप काम थालिएको गजाधर धनमाया रंगशाला उपभोक्ता समितिका अध्यक्ष उमेश गुरुङले बताए ।
जसमा अहिले प्रदेश र स्थानीय सरकारबाट ३५ लाख,फूटबल प्रेमी बाट एकलाख ४५ हजार र स्थानीयको सहयोगमा ८ लाख संकलनबाट काम भईरहेको हो । दुई वर्षमा सम्पन्न गर्नका लागि २५ रोपनी जग्गालाई वडा कार्यालयको माताहतमा ल्याएर रंगशाला निमार्ण कार्य शुरु गरेको हो । ‘यति बेला मैदान सम्याउने कार्य भैरहेको र रकम अपुग भएकोले बाँकी कार्यको लागि सँघिय र प्रदेश सरकार साथै गाउँपालिकालाई गुहारेको छौं’ गुरुङले भने, ‘उहाँहरुले पनि सहयोग गर्ने वचन दिएका छन ।’
करिब २ करोड लागत लाग्ने अनुमान गरिएको रंगशालाको लागि १६ रोपनी क्षेत्रफलको १ सय ५ मिटर लम्बाई र ६५ मिटर चौडाइ ६ रोपनी क्षेत्र फलमा प्लेयर बकस, फोर्थ अफिसियल र बाँकी क्षेत्रफलमा कङ्क्रिड प्याराफिट बनाउने योजना अनुरुप काम सुचारु भएको हो ।
आगामी २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । माईभ्याली गोल्डकपपछि सबै भन्दा धेरै दर्शक हुने र यहि चाप बर्सेनि बढेकोले रंगशाला बनाउनु अपरिहार्य रहेको वडा अध्यक्ष जितबहादुर साँवा बताउँछन् । उनी भन्छन “जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले ३४ वर्षदेखि बर्सेनि भानुदय आधारभुत विद्यालयको खेलमैदानमा खेल आयोजना गर्नुपर्ने बाध्यता थियो तर यो रंगशाला निमार्ण सम्पन्न भए पश्चात विद्यालयको मैदानमा फूटबल खेलाउनु पर्ने बाध्यता हट्ने छ”। हाल जमुनाबाटै नेपाली राष्ट्रिय फुटबलमा छिरिङ गुरुङ र दर्शन गुरुङले प्रतिनिधित्व गरिरहेकाले पनि इलामको जमुनालाई फूटबल क्षेत्रमा विकास गर्न पनि मैदानको आवश्यकता रहेको सावाँको भनाई छ ।
यो क्षेत्रबाट दार्जेलिङ नजिक भएको कारण जमुनाका खेलाडी फूटबल खेज्ल जाने र महिनौ सम्म बस्ने गर्दछन । जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्ने कागे मेला र सो अवसरमा हुने फूटबलमा पनिभारतको दार्जेलिङ र अन्य क्षेत्रबाट धेरै जसो फूटबल टिम आउने गरेका छन । त्यस कारण पनि इलाममा हुने माईभ्याली पछिको पहिलो फूटबल विकासको रुपमा हेरीएको छ ।
पर्यटकीय क्षेत्रमा फड्को
सन्दकपुर गाउँपालिकाको जमुना पर्यटकिय क्षेत्रका रुपमा पनि विकास भईरहेको छ । यहाँ जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपाल थेवे ढाप पोखरी पनि रहेको छ जुन निमार्ण भईरहेको रँगशाला नजिकै छ । उक्त पोखरी मानव निर्मित हो । पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । सो पोखरीमा ०७१ मा बाँध बाँधेर पानी जम्मा गर्न सुरु गरिएको थियो ।
दुई वर्ष अघिदेखि डुङ्गा सञ्चालनमा रहेको र यहाँ पर्यटकको आगमनमा समेत वृद्धि भएको समितिका अध्यक्ष एवम् पूर्व फूटबल खेलाडी विप्लव भट्टराईले बताए । उनले भने “पोखरी मात्र यहाँको आकर्षण नभई अन्य पर्यटकिय स्थल पनि रहेको र रंगशाल निमार्ण सम्पन्न पछि विकासमा गा्रमिण क्षेत्रमध्ये जिल्लाकै पहिलो पहिलो ठाउँ बन्ने पनि उहाँको भनाई छ” ।
सदरमुकामबाट २१ किलोमिटर उत्तरको जमुना स्थानीयको पर्यटन विकास प्रतिको मोह र सक्रियताका कारण अढाई तीन वर्षकै अवधिमा आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । यहाँबाट सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् ।