धनकुटा / प्रदेश नम्बर १ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले धनकुटामा कोरोना भाइरसको कारण मारमा परेका किसानहरुलाई एक करोड ५३ लाख ७१ हजार ४ सय ५१ रुपैयाँ राहत वितरण गरेको छ ।
कोरोना भाइरसको कारणले सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका धनकुटाका ८४ वटा कृषि फर्म तथा समुहमा आवद्ध किसानलाई राहत वितरण गरेको हो । प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र धनकुटा मार्फत तरकारी÷च्याउ अनुदान, हरियो चिया र कृषि ऋण ब्याज अनुदान कार्यक्रम शिर्षकमा सञ्चालित ३० वटा कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम वितरण गरेको हो ।
त्यस्तै भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटा मार्फत कुखुरा पालन, दुग्ध पदार्थ, दुग्ध उत्पादन र बंगुर पालन गरी ६८ कृषि फर्म तथा समुहमा आवद्ध कृषकहरुलाई राहत रकम वितरण गरेको छ । जसमा कृषि ज्ञान केन्द्र धनकुटा मार्फत ६१ लाख ५४ हजार ९ सय ३१ रुपैयाँ तथा भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटा मार्फत ९२ लाख १६ हजार ५ सय १३ रुपैयाँ राहत वितरण गरेको छ ।
मन्त्रालयले जिल्ला समन्वय समिति धनकुटाको समन्वयमा एक कार्यक्रम गरी मन्त्रालयका राज्यमन्त्री रामबहादुर मगरले किसानलाई राहत वितरण गरेका थिए । राहत वितरण गर्दै राज्यमन्त्री मगरले प्रदेश सरकारले कोरोना प्रभावित किसानलाई सानो सहयोग गरेको बताए । उनले कोरोनाको कारण कृषि क्षेत्रमा तत्काल क्षति गरेको बताउँदै प्रदेश नम्बर १ सरकारले कृषि क्षेत्रमा ४५ करोड रुपैयाँ बराबरको राहत वितरण गर्ने तयारी गरेको भएपनि किसानले उत्साह जनक निवेदन नदिएको बताए ।
फर्म, दुग्ध र सहकारीलाई प्राथमिकतामा राखेर सहयोग गरेको भन्दै राज्यमन्त्री मगरले राहत वितरण कार्यमा धनकुटामा सन्तोषजनक निर्णय भएको बताए । उनले प्रदेश नम्बर १ मा झापामा सबैभन्दा बढी त्यसपछि धनकुटामा राहत वितरण गरिएको पनि बताए ।
राहत पाएपछि धनकुटा नगरपालिका–३ का दुग्ध उत्पादक किसान पुण्यप्रसाद खतिवडाले व्यक्तिगत रुपमा नभई सहकारी मार्फत खेती प्रणालीमा लाग्दा किसानले पनि राहत पाउँदा रहेछन् भन्ने लागेको प्रतिक्रिया दिए । उनले किसानका दिन अहिलेसम्म नआएको बताउँदै दिगो कृषि विकासमा लागेका किसानलाई यतिले मात्रै नपुग्ने बताए ।
राहत वितरण कार्यक्रममा प्रदेशसभा न्याय प्रशासन तथा विधायन सभा सभापति इन्द्रमणि पराजुली, प्रदेश सभा सदस्य लिला सुब्बा, निरन राईले प्रदेश सरकारले प्रदेशका व्यवसायिक किसानलाई ठूलो सम्मान गरेको बताए ।