इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ ।
सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काए हुन थालेका हुन् ।
लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए ।
लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्रास पूर्ण यात्रा गर्न बाध्य छन् । उनीहरू सडककै कारण जोखिम मोलेर अहिले यात्रा गर्न बाध्य बनेका छन् ।
सडक हिलाम्मे भएकोले सवारी साधन घन्टौं फस्नाले सवारीमा भन्दा पैदल यात्रा छिटो र सहज हुने गरेको छ । पहिरोले साँघुरा बनेका सडक हिलाम्मे हुँदा सडकमा गाडी चिप्लिएर दुर्घटनामा पर्ने र हिलोमा गाडी फस्ने समस्या छ ।
इलामबाट आमचोकसम्म दैनिक गुड्ने सवारीका चालक गौरव लामिछाने निकै दुःखले मात्र गाडि कुदाउँन सकिने बताउँछन् । उनी भन्छन् ‘अप्ठ्यारो ठाउँमा यात्रुलाई गडीबाट उतार्नु पर्छ ।गाडी गुडाउने भन्दा पनि कसरी पुग्ने भन्ने हुन्छ । १० जनाको ज्यान आफ्नो हातमा लिएर हिड्नु पर्छ मनमा डरभएपनि दुख गर्ने परो के गर्नु र ।’ लामिछाने भन्छन,,‘गाडी भाडा उठेभन्दा झण्डै दोब्बर खर्च निस्कन्छ स्टाभको भत्ता नै कहाँबाट दिने गाह्रो छ । ’
कच्ची सडक भत्किएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिन बन्दै गएको हो । गाडी चालकहरूले निकै दुःखले यात्रा गराउने गरेका छन् । धेरै जसो ठाउँमा बाटो खनेर र यात्रुहरू उतारेर मात्र गाडी गुडाउने गर्दछन् ।
फाकफोकथुम गाउँपालिका–३ का लक्षुमन दहाल दैनिक रूपमा गाडीमा समस्या आउने गरेको दुखेसो पोख्छन् । बाटो अप्ठ्यरो भएकाले दैनिक जसो गाडीका सामान बिग्रने गर्छन् । एकातिर लकडाउनले सवारी नचल्दा गाडीको किस्ता तिर्न समस्या परेको छ भने अर्कातिर गाडीको आम्दानीले गाडी बनाएर चलाउन गाह्रो हुने गरेको दहाल बताउँछन् ।
लकडाउनमा ठप्प भएका सवारी लकडाउन खुल्दा समेत सडक समस्याले नचल्दा बैङ्कमा किस्ता तिर्नु पर्ने व्यवसायीलाई भने ठूलै समस्या भोग्नु परेको छ । सवारीबाटै कमाएर किस्ता तिर्नु पर्नेमा लकडाउनले ठप्प हुनु एकातिर समस्या छ भने अर्कातिर सडक खराब भएकाले दोब्बर खर्च आउनाले झन् समस्या भोग्नु परेको फाकफोकथुमकै गोपाल लामिछाने बताउँछन् ।
लामिछानेले उनका साथिसँग मिलेर एक वर्ष अघि सेयरमा मा गाडी किनेका थिए । तर, अहिले त्यो किस्ता धान्ने मुस्किल बनेको छ । चैत्र देखिको लकडाउनले घरमै गाडी थन्क्याएका गोपालले अहिले गाडि कुदाउँने बाटै नहुँदा पैसाको पिरलोले गाजेको गोपाल सुनाउँछन् । उनी भन्छन्,‘सडक राम्रो हुँदा सदरमुकामबाट चार घण्टामै आमचोक पुगिन्छ तर अहिले इलाम सदरमुकामबाट काठमाडांै चाँडो पुगिएला तर आमचोक पुग्न त्यो भन्दा धेरै समय लाग्छ ।’
गोपाल भन्छन्,‘ जनप्रतिनिधि आएपछि बाटो बन्ला भनेको झन धेरै बिग्रिएको छ । स्थानीयलाई बनाउँ भनो भने अहिले लाखाँै बजेट छुट्याइको बाटोमा नेताले बनाउनु पर्छ भन्छन कोहि मान्दैनन ।’
यता फाकफोकथुम गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले राँके भेडेटार सडकको काम भइरहेको यात्रा समस्या रहेको बताउँछन् ।
पहिरो र हिलोले सडक बिग्रिरहेको बेला गोलिया र गिटी ढुङ्गा बोकेर ठूला सवारी गुड्नाले विग्रिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘पहिले नै सडक राम्रो थियो अहिले तपाईंहरु( जनप्रतिनिधि) आएपछि झन् बिग्रियो भन्ने आरोप छ तर विकास गर्नका लागि विनास अलिअलि हुन्छ नि ।’
अहिले सडक कटिङ भएका ठाउँमा पहिरो गएपनि मोषममा सुभार आएपछि मर्मत गर्ने योजनामा रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘अहिले खोलामा पक्कीपुल नभएपनि हेम पाइप राखेर राखिएको छ, त्यसैले खोला तर्न समस्या छैन । त्यसरी नै अब दुईवर्षमा पालिकाभित्रका सडकलाई दिगो विकासतर्फ लैजाने योजनामा रहेको छ ।’ श्रेष्ठले थपे,‘जनप्रतिनिधि मात्र नभइ जनताको समेत कमजोरी छ आफ्नो घर अगाडि हिलो भयो भने त्यहाँ भल कटाउँदैनन बरु अध्यक्षलाई ल्याएर धान रोप्न लगाउनु पर्छ भन्दै गफ चुटेर बस्छन ।’
जनप्रतिनिधि आएपछि सडकको समस्या सुल्झिन्छ भन्ने आशामा रहेका सर्वसाधारण अहिले निरुत्साहित भएका छन् । हिलाम्बे सडकमा खुट्टा टेक्न समेत समस्या भएले विरामी पर्दा समेत एम्बुलेन्स सञ्चालन नहुँदा घण्टौसम्म स्टेचर र डोकोमा बोकेर अस्पताल पु¥याउनुपर्ने समस्या भएको स्थानीय बताउँछन् ।