धरान । लामो समय देखि अन्यौलमा रहेको धरानमा बन्ने एयरपोर्टका लागि अन्तिम प्रयासको रुपमा धरान उपमहानगरपालिकाले बजेट विनियोजन गरेको छ ।
एयरपोर्टका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले ८० लाख रुपैया विनियोजन गरेको छ । डेढ दशक अघि धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट निर्माणका लागि शुरुवात भएको थियो । तर जग्गा अभाव र व्यवस्थापन हुन नसक्दा एयरपोर्टको मुद्धा अन्यौलमै रहेको थियो ।
प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल शुरु गर्ने उल्लेख गरे पछि असार १० गते धरान उपमहानगरपालिकाले ७ औं नगरसभामा प्रस्तुत गरेको बजेटमा विमानस्थल जग्गा व्यवस्थापनको लागि आवश्यक कार्य गर्न ८० लाख बजेट विनियोजन गरेको हो ।
अठार सिटे जहाजको लागि एयरपोर्ट बन्न सक्ने सम्भावना अझै रहेकाले आवश्यक जग्गा व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको धरानका प्रमुख तिलक राईले बताए । उनले भने, १८ देखि २० बिघा जग्गा नागरिक उड्यायन प्राधिकरणलाई उपलब्ध गराउने हो भने १८ सिटे जहाजको लागि एयरपोर्ट बन्नसक्ने सम्भावना रहेको छ, त्यसैले अपुग जग्गा व्यवस्थापन गर्नको लागि ८० लाख बजेट विनियोजन गरिएको हो ।’
उनका अनुसार यतिको नाममा करिब ७ बिघा जति जग्गा छ भने उपमहानगरपालिकाको नाममा ७ बिघा जग्गा छ । बाँकी ४ वा ५ बिघा अपुग रहेको जग्गा अधिग्रहण गरेर सट्टा भर्ना दिनको लागि आवश्यक जग्गा विकास योजना बनाउन ८० लाख बजेट आगामी बर्षको लागि विनियोजन गरिएको हो ।
धरान १७ स्थित डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो । पछिल्लो समय ४२ सिटे हवाईजहाज अवतरण हुने एयरपोर्टको अध्ययन गर्दा ९३ दशमलव २५ बिघा जमिन आवश्यक पर्ने प्रतिवेदन आएको थियो । सोही प्रतिवेदने अनुसार एयरपोर्टको लागि जग्गा निःशुल्क उपलब्ध गराउन नागरिक उड्याउन प्राधिकरणले उपमहानगरपालिकालाई पत्राचार गरेको थियो । जुन जग्गा प्राप्तीको हिसाबले सम्भव नै थिएन ।
प्रस्ताव गरिएको ८० लाख बजेटले सप्तरंगी पार्क दक्षिणमा उपमहानगरपालिकाले घेरा गरेर राखेको जग्गामा जग्गा विकास योजना अनुसार प्लानिङ गरिने उनले बताए । उनले भने, ‘त्यहाँ एयरपोर्टमा ज जस्को जग्गा पर्छ, ती जग्गाधनीहरुलाई सट्टा भर्ना दिएर स्थानान्तरण गर्ने प्रस्ताव अनुसार ८० लाख बजेट विनियोजन गरिएको हो ।’
मेयर राईका अनुसार धरानमा एयरपोर्ट बनाउने अन्तिम प्रयासको रुपमा यो प्रस्ताव अघि बढाइएको हो । यसो गर्दा पनि सम्भव नभए अब धरानमा एयरपोर्टको मुद्दा सधैलाई टुंग्याउनुपर्ने उनको भनाई छ ।