लकडाउनमा वराहक्षेत्रका स्वास्थ्य संस्थाको सेवा प्रभावित रोग लुकाएर बसे महिला

  • असार १७, २०७७
  • विष्णुमाया पराजुली
alt

चक्रघट्टी/ कोभिड १९ भाइरसले अहिले नेपाल लगायत सारा विश्वलाई आक्रान्त बनाएको छ । कोरोना संक्रमण फैलिनबाट बच्न गरिएको लकडाउनले मानिसको व्यापार, रोजगारी, शिक्षाजस्ता विभिन्न क्षेत्र लगायत दैनिक जीवनलाई नराम्रोसँग प्रभावित गरेको छ । यसबाट नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवाजस्तो संवेदनशील विषय पनि अछुतो रहन सकेको छ्रैन । लकडाउनले पु¥याएको असर बारे बुझ्न वराहक्षेत्र नगरपालिकाको महेन्द्रनगर चक्रघट्टीस्थित स्वास्थ्य चौकी पुग्दा त्यहाँ अरु दिनको भन्दा बढी नै भीड देखिन्थ्यो ।

सेवाग्राहीहरु कोही लाइनमा थिए त कोही पर चौतारीमा बसेर पालो कुरिरहेका थिए । अनि, स्वास्थ्यकर्मीहरुको दौडधूप पनि त्यतिकै थियो । लकडाउनले नगरवासीलाई बनाएको अस्तव्यस्तताको यो प्रतिनिधि चित्रण मात्र हो । कोरोना संक्रमण र यसको प्रभावका कारण असहज अवस्था स्वास्थ्य संस्थामा मात्र होइन नगरभरि नै छ । तर तीव्र चाप र सशंकित मान्छेहरुको भीड भने स्वास्थ्य संस्थाहरुमा देख्न सकिन्छ ।

स्वास्थ्य चौकीको परिषरभित्र रहेको चौतारामा मध्यान्ह १२–१ बजेतिर गफिदै भेटिएका उनीहरु शितल खान नभएर स्वास्थ्य सेवा लिन अस्पतालसम्म आएका हुन् । लकडाउनले गर्दा अढाई तीन महिनासम्म घरभित्रै बसेका उनीहरु निःशुल्क उपलब्ध हुने गर्भ निरोधक डिपो–प्रोवेरा सुई लिन आएका थिए । ‘बाहिरको निजी क्लिनिकमा यो सुई किन्न गयो भने महँगो पर्छ, फेरि लकडाउन भरि त त्यहीबाट किन्न बाध्य भयौं, अहिले खुलेको छ अनि सुई लिन पनि सित्तैमा पाइने हुनाले पालो पर्खेर बसेको ।’ वराहक्षेत्र–३ नडाहाबाट आएकी सेवाग्राहीले भनिन् ।

एकातिर लकडाउनमा बाहिर ननिस्कन सरकारी मार्गनिर्देशन अर्कोतर्फ कोरोना संक्रमणको त्रासले कहींकतै हिड्ने अवस्था छैन । बजारमा ४० रुपैयाँमा पाउने परिवार नियोजनको चक्की ६० रुपैंया तिर्नु परेको अर्की महिला सन्जिता गिरी (नाम परिवर्तन) ले बताइन् । ‘विषम परिस्थितिमा पनि स्वास्थ्य जस्तो पवित्र र अति आवश्यक वस्तुमा पनि मान्छे ब्रह्मलुट गर्छन् ।’ उनले गुनासो गरिन् ।

जनआन्दोलनका द्वन्दपीडित उनका श्रीमान अहिले शारिरीक अशक्त छन् । नियमित खाने गरेको उनको मानसिक समस्याको औषधी स्वास्थ्य संस्थामा पाइँदैन । लकडाउनले भाडाका गाडी बन्द छन् । नजिकको शहरमा गएर औषधी ल्याऊ भने आफ्नो निजी साधन छ्रैन । चल्ने गरेका केही दूधवाला गाडीलाई आग्रह ग¥यो मान्दैन्न । औषधी नपाएर श्रीमान्को स्वास्थ्यमा थप समस्या बढेको उनको गुनासो छ ।

एकातिर लकडाउनको पिरलो भने अर्कोतिर स्वास्थ्यकर्मीले समेत सेवा राम्रो नदिएको सर्वसाधारणको गुनासो छ । विविध समस्या लिएर स्वास्थ्य संस्था पुगेका विरामीहरुलाई डाक्टरले परीक्षण नै नगरी औषधि दिने गरेको बताउँछन् ।

खुट्टाको समस्या लिएर स्वास्थ्य संस्था पुगेकी स्थानीय एक महिलाले आफूलाई, डाक्टरले हेर्दै नहेरी साधारण सोधपुछ गरेर औषधी दिएको बताउँछिन् । उनीसँगै आएकी अर्की युवतीको पनि गुनासो उस्तै छ । उनले भनिन्, ‘पेटमा भकभकी सोला हानिरहेको छ । तर स्वास्थ्य चौकीमा चिकित्सकले जाँच गर्नु त परै जाओस्, परबाट सोधेर औषधि दिएर पठाएका छन् ।’
बिरामीलाई परैबाट सोधपुछका भरमा औषधि दिँदा बिरामीको बढी गुनासो सुनिन्छ । तर कोरोना भाइरसको महामारीबाट बच्न सरकारले मात्र होइन कि विश्व स्वास्थ्य संगठनले नै सुझाएको समाजिक दूरी, कोभिड १९ बाट बच्ने सबैभन्दा राम्रो उत्तम सुरक्षा उपाय हो भन्छन् विज्ञ । तर सेवाग्राहीमा यसको सचेतनाको अभाव, यसको कार्यान्वयन गराउन ठूलो चुनौती बनिरहेको देखिन्छ ।
डाक्टरले नछोई उपचार गरेको, वास्ता नगरेको भन्ने गुनासो बिरामीहरुबाट आउने गरे पनि डाक्टरहरुले भने सेवाग्राही तथा स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम नहोस् भनेर समाजिक दूरी कायम गरेर उपचार गर्नु परेको भन्दै, आफूहरुको बाध्यता बुझिदिन आग्रह गर्छन् ।

जिल्लाकै कान्छो नगरपालिका वराहक्षेत्र नगरपालिकामा २ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३ स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई र २ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेको छन् भने एउटा नगर अस्पताल रहेको छ ।

लकडाउनमा सेवाग्राहीको चाप घट्दो

वराहक्षेत्र नगरकै ठूलो अस्पताल वडा नं.– ६ मा रहेको नगर अस्पतालमा माघ महिनामा जम्मा २ हजार २ सय ५४ जना र फागुन महिनामा ३ हजार २ सय ९७ जना बिरामीको उपचार गरिएको छ । लकडाउनले चैत महिनामा उपचार गरउनेको संख्या १ हजार ८ सय ७४ मा झरेको छ भने वैशाख महिनामा उपचार गराउने को सङ्ख्या १ हजार ९ सय २२ रहेको छ ।
लकडाउनमा नगर अस्पतालले भने आकस्मिक, प्रसुति तथा दिर्घरोगीहरू बाहेक नर्मल ओपीडी सेवा बन्द गरेको थियो । महामारीको समयमा ज्वरोका समस्यामा भने समाजिक दूरी बनाएर आवश्यक सेवा तथा परामर्श दिइएको नगर अस्पतालका व्यवस्थापन प्रमुख अनिल गिरी बताउँछन् ।
देशका केही ठूला र नाम चलेका अस्पतालले जँचाउन, उपचार गराउन गएका बिरामी सेवाग्राहीलाई अन्य अस्पतालमा रेफर गरेका समाचारहरु आएका थिए । यसले गर्दा पनि स्वास्थ्यकर्मीमा विश्वास घटेको तथा लकडाउनमा स्वास्थ्य संस्थामा जाने बिरामीको संख्या घटेको जानकार बताउँछन् । तथापि संक्रमणको अवस्थामा स्वास्थ्य संस्थाले उपचारमा गर्ने तरिकामा थोरै परिवर्तन गरेर भए पनि उचित व्यवस्थापन गरेको दाबी गर्छन् ।

वराहक्षेत्र नपामा आरडीटी किट आएपश्चात् कोरोना परीक्षण गराउँदा नगर अस्पतालका १ जना डाक्टरलाई पनि आरडिटी पोजेटिभ देखिएको थियो । जसका कारण भने नगर अस्पताल २ दिनसम्म बन्द गर्नुपरेको थियो । तर स्वाब परीक्षणबाट पिसिआर रिपोर्ट नेगेटिभ अर्थात् कोरोना संक्रमण नभएको पाइएपछि नगर अस्पतालको सेवा नियमित गरिएको नगर अस्पतालकी पब्लिक हेल्थ अफिसर रञ्जु तिवारी बताउँछिन् ।

नगरका अन्य स्वास्थ्य संस्थाले पनि जोखिम मोलेरै स्वास्थ्य सेवा निरन्तर दिएको बताउँछन् । केही दिन बन्द गरिए पनि सुरुवातमा मूल गेटमा नै गएर फिवर र नन–फिवर केस हेर्ने व्यवस्था मिलाइएको प्राथमिक स्वास्थ्य केन्द्र चतराले जनाएको छ ।

सामान्य रुघाखोकीमा सेवाग्राहीको सोधीखोजी

लकडाउनमा अस्पताल आउने बिरामीको संख्यामा कमि आयो तर पनि कोरोना भाइरसको त्रासले सामान्य रुघाखोकी लाग्दा पनि सोधपुछ गर्न आउने बिरामीको संख्या भने बढेर गयो । बिरामीको ट्राभल हिस्ट्री बुझेर नआत्तिन र सचेत रहन सल्लाह दिने गरेको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अमृत थापा बताउँछन् ।

कमजोर भौतिक संरचनाका वाबजुद सामाजिक दूरी कायम गरेर आकस्मिक बाहेका बिरामीलाई सेवा दिएको प्राथमिक स्वास्थ्य चौकी कालाबन्जरका सिनियर अहेब अधिकृत प्रमोद राई बताउँछन् । दीर्घ रोगीलाई भने अस्पताल पटक–पटक आउनु नपरोस् भनेर लामो समयसम्म पुग्ने औषधि दिएको अहेब राईले बताए ।

वराहक्षेत्र–३,४ र ५ हेर्ने प्राथमिक स्वास्थ्य चौकीबाट १ महिना बच्चालाई खोप लगाउने कार्य रोकिए पनि त्यसपछि पुनः संचालन गरिएको छ । गर्भवती जाँचको अवस्थामा पनि केही फरक पारी सुरुवातमा कोरोनाको त्रास र पिपिई अभावका कारण गर्भवतीलाई पनि नछोई टाढैबाट आवश्यक क्याल्सियमगायत औषधि उपलब्ध गराइएको अहेब राई बताउँछन् ।

त्यसै ओपिडीलाई फिवर क्लिनिक बनाएर संक्रमणको अवस्थामा पनि सेवा दिइएको र एएनसी र पीएनसी पनि चलाइएको बताउँछन् प्राथमिक स्वास्थ्य चौकी प्रकाशपुरमा कार्यरत सिनियर अनमी मित्र राई । उनले प्रकाशपुर माध्यमिक विद्यालय वराहक्षेत्र–१० मा बनाइएको क्वारेन्टिनमा एक हप्तासम्म २४ सै घण्टा सेवा दिएको बताइन् । उनका अनुसार २ जना स्वास्थ्यकर्मीले नियमित १ हप्तासम्म २४ सैं घण्टा डिउटी गर्नुपर्ने गरी क्वारेन्टिनको व्यवस्थापन गरिएको बताउँछिन् । क्वारेन्टिनमा खानाको व्यवस्था नगरपालिकाले नै गरेको छ ।

कोरोना संक्रमणको महामारी र त्रासको अवस्थामा अत्यन्त सावधानीपूर्वक उच्च मनोबलका साथ काम गरेको बताउँछन् प्रकाशपुर स्वास्थ्य चौकीका सिअहेब निखिल पोख्रेल । उनले बिरामीलाई पनि उचित परामर्शका साथ नआत्तिन र सचेत रहन निरन्तर सम्झाइएको बताए । मूल गेटमा साबुन पानी राखेर आउने बिरामीलाई हात धुन लगाई सेनिटाइज गरी सुरक्षित उपचार गरिएको सिअहेब पोख्रेल बताउँछन् ।

सामुदायिक स्वास्थ्य इकाई श्रीलंका कोशीटप्पुमा कार्यरत हेल्थ असिस्टेन्ट पाण्डव चन्द्रवंशी भन्छन्, “यहाँ दैनिक ३०–४० जनासम्म बिरामीलाई सेवा दिइरहेको छौं । जम्मा २ जना स्वास्थ्यकर्मी कार्यरत श्रीलंका टप्पुको सामुदायिक स्वास्थ्य इकाईबाट यतिबेला उनी प्रकाशपुर माविको क्वारेन्टिनमा डिउटीमा खटिएका छन् । उता १ जनाले मात्र सबै हेर्नुपरेको बताउँछन् । वराहक्षेत्र नगरपालिका–१ मा रहेको सामुदायिक स्वास्थ्य इकाईमा दैनिक १०–१५ जना बिरामीलाई स्वास्थ्य सेवा दिइरहेको बताउँछन् स्वास्थ्य इकाईमा कार्यरत हेल्थ असिस्टेन विकाश झा ।

त्यस्तै वराहक्षेत्र नगरपालिका वडा नं.–४ मा करिब ६ महिना अगाडि मात्र आधारभूत स्वास्थ्य चौकी स्थापना भएको हो । सुरुको अवस्थामा सेवाग्राहीको चाप अत्यन्तै कम हुन्थ्यो तर कोभिड–१९ को महामारीका कारण देशमा लकडाउन भएपछि टाढा गएर स्वास्थ्य सेवा लिन अप्ठ्यारो भएपछि सेवाग्रहीको चाप बढेको बताउँछन् हेल्थ असिस्टेन नवीन लम्साल ।

वडा नं. ४ जनसंख्या क्षेत्रफलका हिसाबले सानो वडा हो । यतिबेला २०–३५ जनासम्म बिरामी आउने गरेको र सकेको सेवा दिएको छ । तर यो अवस्थामा काम गर्न निकै जोखिम छ । पिपिई सिमित मात्र भएकाले जोखिमको अवस्था देखा परेको स्वास्थ्यकर्मीको गुनासो छ ।

कोरोना संक्रमण भेटियो

यो आलेख तयार पार्दासम्म प्रकाशपुर माविको क्वारेन्टिनमा रहेका मध्ये २ जनामा कारोनाको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरू स्थानीय रहेको र दुवै जना भारतबाट आएको बताइएको छ । अन्य कुनै समस्या नरहेको र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । प्रकाशपुर माविको क्वारेन्टिनमा हालसम्म जम्मा ५८ जना बसेका छन् ।
वराहक्षेत्र नगरपालिकामा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्यांक छ । वराहक्षेत्र नगरपालिकाका विभिन्न क्वारेन्टिन स्थलमा जम्मा १ सय ८३ जना बसेका छन् । क्वारेन्टिनमा रहेका सबैको अवस्था सामान्य रहेको वराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीले जानकारी दिइन् । महामारीको समयमा बाहिर जान समस्या हुने हुँदा स्थानीयस्तरमा भएका स्वास्थ्य संस्थाको भूमिका यतिबेला अझ महत्वपूर्ण हुन्छ ।

अस्पतालमा प्रसुति गराउनेको संख्या घट्यो

यतिबेला फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई संक्रमणको जोखिम धेरै हुन्छ । अरु उपचारलाई संक्रमणको सुरुवातमा केही दिन रोकिए पनि अथवा उपचार पद्धतिलाई केही फरक पारिए पनि प्रसुति सेवा भने रोक्न सक्ने अवस्था रहँदैन । त्यसैले यो सेवा कुनै पनि बेला नरोकिएको स्वास्थ्य संस्थाहरुको भनाइ छ तर पनि कारोना भाइरसको महामारी र लकडाउनका बेला स्वास्थ्य संस्थामा प्रसुति गराउनेको संख्यामा पनि कमि आएको देखिन्छ ।

वराहक्षेत्र न.पा.–६ को प्रथमिक स्वास्थ्य चौकी महेन्द्रनगरको तथ्याङ्क अनुसार गएको २ महिनामा माघ र फागुनमा प्रसुति गराउनेको संख्या २३ रहेको छ भने लकडाउन सुरु भएको चैत र वैशाखमा जम्मा १५ जनाले प्रसुति गराएको तथ्याङ्क छ । त्यस्तै जेठ महिनामा मात्र ५ जनाले प्रसुति गराएका छन् ।

तथ्यांकअनुसार प्रसुती गराउनेको संख्यामा पनि कमि आएको देखिन्छ । तर प्रसुति सेवा भने नियमित चलिरहेको र नरोकिएको बताउँछिन् अनमी टेकमाया घले ।
संक्रमणको समयमा प्रसुति सेवा निरन्तर चलिरहेको छ तर व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) समयमा उपलब्ध नभएको र आएका पनि पर्याप्त नहुनुले जोखिम उच्च रहेको छ । पर्याप्त औषधी पनि समयमा उपलब्ध हुन नसक्नु नै यतिबेला स्वास्थ्य संस्थाको प्रमुख समस्या भएको छ ।

लकडाउनमा रोग लुकाएर बसे महिला

गाइनोका बिरामीलाई अरु बिरामी भन्दा अलि बढी संवेदनशील हुने र अप्ठ्यारो मान्ने भएकाले लकडाउनका समयमा समस्या लुकाएर घरमै बसेका महिलाहरु अहिले लकडाउन केही खुला भएपछि अस्पताल आउन थालेका छन् ।

एक डेढ महिना निरन्तर रगत बगिरहँदा पनि समस्या लुकाएर बसेका बिरामी अस्पताल आउन थालेको बताउँछिन् प्राथमिक स्वास्थ्य केन्द्र चतरामा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. अञ्जु थापा । ‘किन आउन ढिलो गर्नु भएको भनेर सोध्दा लकडाउन थियो आउन पाइएन, सकिएन यस्तै भयो’ भन्ने गरेको डा थापा बताउँछिन् । कोरोनाका कारण सेवा उपलब्ध होला कि नहोला भन्ने सोचले समस्या लुकाएर घरमै बस्नले गरेको पाइएको चिकित्सक बताउँछन् ।

सामान्य स्वास्थ्य समस्या लिएर चतरा सामुदायिक स्वास्थ्य केन्द्र पुगेका १ पुरुष उपचार सेवामा कुनै समस्या नभएको बताउँछन् । त्यहीँ उपचार गर्न आएकी १ सुत्केरी महिला भने अन्तिम पटक गर्भवती जाँच गराउन आउन नसकेको बताउँछिन् ।

उनलाई खान मन नलाग्ने, वाकवाक लाग्ने, खुट्टा सुन्निने समस्या आएको थियो । सुत्केरी गराउन आउँदा प्रेसर बढेका कारणले पर्याप्त सामग्रीको अभाव छ भनेर बाहिर रिफर गरे पनि बाटोमै बच्चा जन्मिएको कारण फेरि यतै फर्किइन् । स्वास्थ्य केन्द्रमा भर्ना भएपछि केही ठीक हुँदै गएको र केन्द्रबाट सेवा राम्रै भएको उनको भनाइ छ । उनले नवजात शिशुलाई घरमै राखेर केन्द्रमा उपचार गराइन् ।
यतिबेला सम्पूर्ण स्वास्थ्य संस्थाकोे प्रमुख समस्या स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पर्याप्त र गुणस्तरीय पिपिई उपलब्ध नहुनु हो । ल्याबमा ब्लड तान्ने, इमर्जेन्सीका बिरामी हेर्ने स्वास्थ्यकर्मीलाई गुणस्तरीय पिपिई नहुँदा संक्रमणको खतरा छ ।

पर्याप्त औषधीको अभाव कमजोर भौतिक संरचनाका कारण बिरामीको चाप बढेका बेला पर्याप्त वार्डको अभावका कारण इमर्जेन्सी व्यवस्थापनमा समस्या आउने गरेको छ ।
बिरामीलाई बुझाउन गारो छ । यतिबेला बिरामीलाई सामाजिक दूरी कायम गराउन निकै चुनौतीपूर्ण भएको छ । अन्योलता अभैm पनि रहेको अवस्थामा कम्तीमा सामाजिक दूरी मात्र कायम गर्ने र सुरक्षा सतर्कता बढाउन सके कोरोना विरुद्धको लडाइँमा सहजता हुने स्वास्थ्यकर्मी बताउँछन् ।

कोरोना भाइरसको त्रास र लकडाउनको शुरुवाती केही दिनमा खोपलगायत सेवा केही दिन बन्द गर्नु परेको भए तापनि यतिबेला भने स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सम्पूर्ण सेवा नियमित रुपमा सुरु भएको बताउँछिन् वराहक्षेत्र न.पा. स्वास्थ्य शाखाकी अस्पताल नर्सिङ निरीक्षक दीपा अधिकारी ।

स्वास्थ्य सामग्रीको अभाव हुन दिँदैनौंः नगर प्रमुख

बाहिरबाट आउने मानिसको जोखिमको सन्दर्भमा वराहक्षेत्र नगरपालिकामा भारतबाट आएकालाई कोरोना संक्रमण देखिएको छ । भारतको सुनौली नाकाबाट आएकालाई बढी कोरोना संक्रमण देखिएको वराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले जानकारी दिए ।

स्वास्थ्य सामग्री सुरुवातमा सबैभन्दा पहिला नगरपालिकाको आफ्नै खर्चमा खरिद गरेको र अहिले पनि मौज्दात रहेकाले कहींकतै स्वास्थ्य सामग्रीको अभाव हुन नदिने मेयर खनालले बताए । दातृ संस्थाहरुबाट पनि सहयोग भएकाले स्वास्थ्य क्षेत्रका लागि आवश्यक बजेट छुट्याइएको बताए ।
सुरक्षाका तमाम उपाय अपनाएर एलोपेथिक, आर्युवेदिक उपचार पद्धतिको पनि विकास गर्ने, गाउँगाउँ, वडा र टोलटोल गएर स्वच्छ जीवनशैली र मानिसलाई सुखी रहने तथा रोग प्रतिरक्षा बढाउने उपाय अवलम्बन गराउने अबको योजना रहेको नगर प्रमुख खनालले बताए ।

स्वास्थ्य चौकीको क्षमता स्तरोन्नति गराउने, नगर अस्पताललाई आधुनिक मोडलमा लैजाने र व्यवस्थित गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र चतरा र नगर अस्पताललाई १५ बेडको अस्पताल बनाउने योजनालाई अघि बढाइने नगर प्रमुख खनालले जानकारी दिए ।

महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति सबैलाई समेट्ने गरी उत्पादन मूलक, आयमूलक क्षेत्रमा अघि बढ्ने खालको सन्तुलित बजेट आउने भन्दै मेयर खनालले स्वास्थ्यसँग दैनिक क्रियाकलाप जोडिने भएकाले दैनिक खानपानलाई ध्यान दिँदै ‘भान्सा घरभित्र अस्पताल’ नारालाई अघि सार्दै रोग लाग्न नदिन स्वस्थ्य खानेकुराका साथ स्वस्थ्य जीवनशैली, सकारात्मक चिन्तन, योग तथा ध्यानलाई नियमित दिनचर्यामा समावेश गर्न नगरवासीलाई नगर प्रमुख खनालको अनुरोध छ । यसो गर्न सके कोरोनालाई जित्न सकिने नगर प्रमुख खनालको विश्वास छ ।

यतिबेला नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेको छ । बजेटले पनि स्वास्थ्य संस्थाको माग र समस्यालाई सम्बोधन गरेको छ ।

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved