धनकुटा, १५ असार ÷धनकुटामा पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । मुलुकको ५७ औं र प्रदेश १ को ११ औं जिल्लाका रुपमा धनकुटामा स्वास्थ्य बीमा सुरु गरिएको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले वडा नं. ७ का जेष्ठ नागरिक शंकर दाहाललाई स्वास्थ्य बीमा परिचय–पत्र प्रदान गरी सेवा सुरुवात गरेका छन् । जिल्लाभर स्वास्थ्य बीमा दर्ता सेवा सुरु गर्न ६० वटै वडाका बीमा दर्ता सहयोगीहरुलाई तालिम प्रदान गरिएको छ ।
अब तालिम प्राप्त प्रतिनिधिहरु गाउँ–गाउँमा गएर स्वास्थ्य बीमा सम्बन्धि जानकारी गराएर बीमा गराउने अभियान सुरु गर्ने धनकुटा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोजराज भण्डारीले बताए ।
प्रदेश बीमा बोर्डका प्रतिनिधिहरु आएर धनकुटाका सबै वडाका प्रतिनिधिहरुलाई तालिम प्रदान गरेका छन् । भण्डारीले भने–‘अब तालिम प्राप्त बीमा दर्ता सहयोगी घर–घरमा पुगेर बीमा गराउने काम शुरु हुन्छ ।’
स्वास्थ्य बीमा गर्न बार्षिक न्यूनतम ३ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । त्यसबापत एक परिवारका पाँच जनासम्मको बीमा हुन्छ । बीमा गरेपछि सुचिकृत स्वास्थ्य सस्थाबाट १ लाखसम्मको स्वास्थ्य उपचार पाँच जनाले निःशुल्क पाउँछन् । परिवारका पाँच भन्दा बढी व्यक्तिको बीमा गर्न प्रति व्यक्ति ७ सयका दरले रकम थप्नुपर्छ ।
जस वापत प्रति व्यक्ति उपचार पाउने १ लाख रकममा २० हजारका दरले रकम थप हुन्छ । एक परिवारको बीमा गर्ने व्यक्ति संख्या अधिकतम १० तोकिएको छ भने अधिकतम उपचार पाउने रकम २ लाख कायम गरिएको छ । यता ७० बर्ष माथिका ज्येष्ठ नागरिकको बीमा निःशुल्क हुन्छ । अति बिपन्न, अति अशक्त, अपांग, एचआईभी संक्रमित, बहुऔषधीले काम नगरेका क्षयरोगी र कुष्ठरोगीको पनि निःशुल्क बीमा हुने भएकाले उनीहरुले निःशुल्क बीमा सेवा पाउँछन् ।
धनकुटामा जिल्ला अस्पताल सहित जितपुर र राजारानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट बीमितले निःशुल्क उपचार सेवा लिन सक्ने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भण्डारीले बताए ।
त्यसबाहेक धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, बिराटनगरस्थित कोशी अस्पताल, नोबेल शिक्षण अस्पताल लगायत सूचिकृत बिभिन्न अस्पतालबाट बीमितले निःशुल्क उपचार पाउँछन् ।
सरकारले सबै नागरिकको स्वास्थ्य बीमा गराउने अभियान अन्र्तगत बिभिन्न जिल्लामा बीमा कार्यक्रम संचालन गरी रहेको छ ।