धरान । रंगमञ्चको इतिहासलाई पुनः व्युताउन धरानमा निर्माण हुन लागेको नाटकघरमा सांस्कृतिक प्रतिकहरुको प्रयोग गरर समावेशी बनाउन लागिएको छ ।
नाटकघरमा विभिन्न जातीय, धर्म, संस्कार, संस्कृतिहरुमा आधारित प्रतिकहरुको प्रयोग गरेर विशुद्ध नेपाली शैलिमा समावेशी बनाउन खोजिएको छ । नाटकघरमा किरात सभ्यतामा आधारित प्रतिक वाबु, सिलामसाक्पा, बुद्धतोरण लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक मुर्तिहरु राखिने भएको छ ।
धरान सभागृह परिषरमा रहेको करिब २ कट्ठा क्षेत्रफलमा नाटकघर निर्माण हुन लागेको छ । नाटकघर निर्माणका लागि करिब ५ करोड रुपैया लागत इस्टिमेट गरिएको छ भने पहिलो चरणको निर्माण थालनीका लागि संघीय संसद जय कुमार राईको निर्वाचन क्षेत्र विकाश कोषबाट ४० लाख रुपैया विनियोजन भईसकेको छ ।
सभागृह परिषरमा नाटकघर निर्माण हुने भए पनि स्थानीयहरुबाट केही अवरोध खडा भएको थियो । तर धरान उपमहानगरपालिकाले गत मंगलबार छलफल गरे पछि नाटकघर निर्माणका लागि बाटो खुलेको छ ।
अन्तराष्ट्रिय मापदण्डको नाटकघर कलाकार विक्रमश्रीले गरेको परिकल्पनामा आधारित रहेर निर्माण हुने भएको छ । श्री सहित ६ जनाको टिमले अन्तराष्ट्रिय मापदण्डमा सामाजिक, समावेशी, र प्यागोडा शैलिमा डिजाईन गरेका छन् । उनको टिममा धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, आर्किटेक इन्जिनियर मिटठु महिलरी, श्वेता राई, मृत्युन्जय घोष र इन्जिनियर प्रकाश शर्मा रहेका छन् ।
परिकल्पनाकार श्रीका अनुसार नाटकघरको गजुरमा दुई तिर किरात राईहरुको सांस्कृतिक प्रतिक वाबु रहने छ भने केन्द्रमा लिम्बु समुदायको सांस्कृतिक चिन्ह सालामसाक्पाको प्रतिक रहनेछ । भित्ताहरुमा विभिन्न जातीय, धार्मिक, तथा सांस्कृतिक प्रतिकका मुर्तिहरु राखिने भएको छ । दुई तले नाटकघरको ग्राउण्ड फ्लोरमा अतिथी सत्कार कक्ष, टिकट घर, छेउको दुई वटा बाटोमा मुर्ति, चित्रकला प्रर्दशनी कक्षहरु रहनेछन् । साइड कोरिडोरलाई प्रेक्षालय, कला ग्यालरीको रुपमा पनि प्रयोग गर्न सकिने उनको भनाई छ । प्रदेशकै पहिलो ग्यालरी हुने उनले बताए । पहिलो तलामै शौचालय समेत रहनेछ ।
नाटकघरको माथिल्लो तलामा रंगमञ्च बनाइने छ । रंगमञ्च सम्म जानका लागि सानो सुरुङ मार्ग बनाइने छ । उनले भने, ‘माथि जान सानो सुरुङमार्ग भएर जानु पर्छ, जसको वातावरणले बाहिरी माहौललाई बिर्साउछ, र दर्शक जुन उदेश्यका लागि जानुभएको हो, त्यसैमा केन्द्रित गराउँछ ।’ सुरुङ मार्गको बाटो दर्शक दिर्घा तर्फ निस्कने छ ।
रंगमञ्चमा अन्तराष्ट्रिय मापदण्डको फाइभ विङ्स प्रयोग गरिएको छ । जुन चै पाँच स्टेप सम्मको पर्दा रहनेछ । पाँच पटक सम्म पर्दा खोल्ने र बन्द गर्नुपर्ने हुँदैन् र दर्शकले पर्दा खोलेको र बन्द गरेको पनि थाहा पाउँदैनन् । उनका अनुसार १ सय ९० देखि २ सय सम्मको दर्शक क्षमता भएको रंगमञ्च हल बन्नेछ ।
छतमा लगाइने ट्रष्टमा लाइटमेन लगायत अन्य प्राविधिकहरु हिड्न मिल्ने गरी बनाइएको हुन्छ । नाटक हेरिसके पछि दुई ढोकाबाट दर्शकहरु, दुई ढोकाबाट कलाकार र एक ढोका आकस्मिक अवश्थाका लागि डिजाईन गरिएको छ । अशक्तमैत्री बनाइने नाटकघरमा कविता गोष्ठी लगायत अन्य साहित्यीक कार्यक्रम, बैठक छलफलका लागि पनि प्रयोग गर्न सकिने उनले बताए । नाटकघरलाई सबैको साझा महशुष गराउने किसिमको बनाउन लागिएको उनी बताउँछन् ।
नाटकघर निर्माणका लागि धरानका अग्रज रंगकर्मी प्रेम सुब्बाको संयोजकत्वमा निर्माण समिती गठन भएको छ । धरानका कलाकार, मुर्तिकार, साहित्यकार लगायतहरु सम्मिलित नाटकघर निर्माण उपभोक्ता समिती गठन भएको छ ।