सर्दू कोरिडोरले तोकेको मापदण्डअनुसार निर्माण गरिँदा सर्दू किनारमा बसेका करीब एक हजार सुकुम्बासी परिवार विस्थापित हुने समाचार प्रकाशमा आएको छ । धरानको विकासका लागि यो महत्वपूर्ण आयोजना हो तर विकासका क्रममा मानवको संरक्षणलाई विशेष ध्यान दिनु आवश्यक छ । सर्दू किनारमा रहेका बस्तीहरूलाई उचित व्यवस्थापन नगरी कोरिडोरको निर्माण कार्य अघि बढाउँदा सुकुम्वासी परिवार विस्थापित हुने विषय आएको छ ।
यो गम्भीर विषय हो । कुनै पनि विकास मानव समुदायको हितविरुद्ध लक्षित हुनु हुँदैन । मानव समुदायकै सुविधाका लागि विकास आयोजनाहरू सञ्चालित हुने भएकाले त्यस्ता विकास आयोजना सञ्चालन गर्दा मानव समुदायको अधिकतम हितलाई ध्यानमा राख्नु आवश्यक छ । त्यसकारण धरानको सर्दू कोरिडोर निर्माण गर्दा सुकुम्वासी परिवारहरूलाई बेवास्ता गरिनु हुँदैन भन्ने सरोकारवालाहरूको चासो न्यायोचित छ । यसलाई स्थानीय सरकार र दलहरूले गम्भीरतापूर्वक लिनु अपेक्षित छ ।
प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्पmत् २० करोड रुपैयाँको लागतमा धरान–१७ स्थित सर्दू खोलाको पुललाई आरम्भ विन्दु बनाएर धरान–१३ स्थित देवीमार्गको पुलसम्म करीब ७ किलोमिटर कोरिडोर निर्माण हुने भएको छ । नगरवासीका लागि यो सुखद् विषय हो । विकास आयोजना सञ्चालन हुने विषयलाई सबैले सकारात्मक रूपमा लिनु आवश्यक छ । यसलाई सबैले सकारात्मक रूपमै लिएका पनि छन् । विकासले मानवीय जीवनलाई सहज र सुविधायुक्त बनाउने भएकाले यसको विपक्षमा उभिनु उचित हुँदैन तर विकासका क्रममा हुने क्षतिलाई सकेसम्म कम गर्ने विषयमा भने सबैले सचेत हुनैपर्छ ।
करोडौँको भौतिक संरचना नष्ट गर्दै विपन्न परिवारहरूलाई उठिवास लगाएर गरिने विकास कति न्यायोचित हुन्छ ? यो प्रश्न स्वाभाविक छ र स्थानीय तहले यसको जवाफ दिनैपर्छ । उनीहरूको सुरक्षित व्यवस्थापनलाई बेवास्ता गरेर विकास आयोजना अगाडि बढाउँदा यसले गम्भीर समस्या सिर्जना गर्ने निश्चित छ । यसतर्पm सरोकारवालाहरूको ध्यान जानु आवश्यक छ ।
सर्दू कोरिडोरले त्यस क्षेत्रमा बसेका १३ वटा बस्तीका करीब एक हजार घर–परिवार विस्थापित हुने सरोकारवालाहरूको भनाइ छ । मापदण्डअनुसार कोरिडोर निर्माण हुँदा सबैभन्दा बढी क्षति सुकुम्बासी बस्तीमा हुने देखिएको छ । त्यसैले त्यस क्षेत्रमा विकास कार्य अघि बढाउँदा सरोकारवालाहरूसँग छलफल गरेर उपयुक्त विकल्पको खोजी गर्नु आवश्यक छ । उपयुक्त विकल्पसहित स्थानीयलाई विश्वासमा लिएर काम अघि बढाउँदा सहज र दीर्घकालीन हुने निश्चित छ ।