धरान । कोरोना संक्रमितको उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने भएकाले धरानलाई पनि सरकारले रेड जोनमा राखेको छ ।
सरकारले गरेको वर्गिकरण अनुसार संक्रमण भित्रिने संवेदनशिल क्षेत्रको रुपमा धरान तथा सुनसरीलाई नै घोषणा गर्ने भएको छ । कोरोना संक्रमितको उपचारका लागि अस्पताल संचालन हुने धरान र नेपाल भारत सिमाना जोडिएकाले सुनसरी जिल्लालाई नै रेडजोन घोषणा गरिने तयारी रहेको छ ।
नेपालका ७७ जिल्लाहरु लाई ४ क्षेत्रमा वर्गिकरण गरी सरकारले कोरोना भाइरस संक्रमण भित्रिने सम्भावना रहेका १४ जिल्लामा १५ दिन थप लकडाउन लम्व्याउने र अन्य जिल्लामा वर्गिकरण अनुसार आंशिक रुपमा खुकुलो गर्ने भएको छ । वर्गिकरणमा रेड जोन, यल्लो जोन, ग्रीन जोन र ब्ल्याक तथा संक्रमित जिल्ला तोकिने छन् ।
प्रदेश १ का ८ जिल्ला रेड जोनमा राख्ने प्रस्ताव गरिएको छ । वैशाख २५ गतेसम्मको लकडाउन सकिने मिति नजिकिएसँगै प्रदेश १ का यी जिल्लाहरूलाई रेड जोन अर्थात् उच्च जोखिममा राखेको छ । जसमा सुनसरी, मोरङ, झापा, उदयपुर, इलाम, ताप्लेजुङ, तेह्रथुम र भोजपुर उच्च जोखिममा परेका छन् ।
यी जिल्ला बाहेक धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा एल्लो जोन अर्थात् आंशिक जोखिममा राखेको छ भने सोलुखुम्बुलाई ग्रीन जोन अर्थात् न्यून जोखिममा परेको छ ।