धरान/ नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ
आज पूजा कोठा वा दसैँघरमा दियो, कलश र गणेश स्थापना गरी देवी दुर्गाको आह्वानसहित पूजा आराधना गरिन्छ । चोखो माटो वा बालुवामा जौँ रोपेर जमरा राखिन्छ, जसलाई विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिमा जमराका लागि जौँ रोप्ने चलन छ । कतिपयले कुल परम्पराअनुसार अन्य अन्न पनि रोप्ने गरेका छन् ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज घटस्थापनाको साइत बिहान ११ः४७ बजे निर्धारण गरेको छ ।समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन तय गरिएको हो ।
सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भन्दै फैलाइएको हल्ला शास्त्रसम्मत नभएको उनले बताए ।
नवरात्रभर देवी दुर्गाका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइन्छ ।
सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजाआजा गरिन्छ ।समितिका अनुसार कात्तिक ४ गते बुधबार विजयादशमीका दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ ।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र फूलप्रसाद ग्रहण गर्ने परम्परा छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजा गरी धनधान्य र ऐश्वर्यको कामना गरिन्छ ।
काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँघरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा देवीको पूजा आराधना सुरु गरिन्छ ।
दसैँ मनाउन रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका मानिस गाउँघर फर्कन थालेका छन् । शैक्षिक संस्थामा बिदा सुरु भएसँगै राजधानी तथा सहरी क्षेत्रबाट आफ्नो थातथलो फर्कनेको चहलपहल बढेको छ ।