झापा/ झापाको दमकस्थित बेलडाँगी शरणार्थी शिविरमा घरायसी विवादका क्रममा भएको कुटपिटमा तीन महिनाका शिशुको मृत्यु भएको छ।
ससुराले बुहारीमाथि कुटपिट गर्ने क्रममा उनको काखमा रहेका शिशु घाइते भएका थिए।
दमक नगरपालिका–३ स्थित शिविरको सेक्टर डी–२ मा बिहीबार दिउँसो करिब १ः२० बजे एकै परिवारका सदस्यबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो।
विवादका क्रममा ६८ वर्षीय मनबहादुर तामाङ, उनकी ६२ वर्षीया श्रीमती आशा तामाङ, ३४ वर्षीय छोरा फुर्बासिंह तामाङ र ३८ वर्षीया बुहारी बिमला भारतीबीच झगडा भएको प्रहरीले जनाएको छ।
झगडाका क्रममा मनबहादुरले बुहारी बिमलामाथि कुटपिट गर्दा उनको काखमा रहेका तीन महिनाका छोरा सामेल तामाङलाई चोट लागेको थियो।
घाइते शिशुलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो २ः०५ बजे शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले मनबहादुर, आशा, फुर्बासिंह र बिमलालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।