झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास्थित गाईको गोठमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट ४४ हजार ३५५ रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ करिब ५ः१५ बजे गोप्य सूचनाका आधारमा झलक राउतको गाईको गोठमा छापा मारेको थियो।
प्रहरीले जुवा खेलिरहेको अवस्थामा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका ५८ वर्षीय भवानीप्रसाद गुरागाईं, वडा नं. १ गाडागल्लीका ५४ वर्षीय पुरुषोत्तम बराल, वडा नं. ३ मन्दिर टोलका ४८ वर्षीय किशोर गोले, वडा नं. ५ माङहिम टोलका ३८ वर्षीय डम्बरबहादुर गिरी र वडा नं. २ रामनगरका ३० वर्षीय प्रकाश राईलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनीहरूबाट एक हजार रुपैयाँका ३७ थान, पाँच सय रुपैयाँका १० थान, एक सय रुपैयाँका २१ थान, ५० रुपैयाँको एक थान, २० रुपैयाँका १० थान र पाँच रुपैयाँको एक थान नोट बरामद गरिएको छ। बरामद नगदको कुल रकम ४४ हजार ३५५ रुपैयाँ रहेको छ।
पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।