धनकुटा/हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित ८ जना तास खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।
धनकुटा नगरपालिका–१ हिलेमा रहेको सिताराम श्रेष्ठको पाँचतले घरको अन्डरग्राउन्ड कोठामा तास खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएका सबै ८ जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले घटनाबारे जानकारी दिएका हुन्।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का ४४ वर्षीय तेजबहादुर मगरसहित ५२ वर्षीय मोहनबहादुर वि.क., ४५ वर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ र ५३ वर्षीय रमेश भण्डारी रहेका छन्।
त्यस्तै धनकुटा नगरपालिका–२ का ३२ वर्षीय दिपेन्द्र मगर, धनकुटा नगरपालिका–१० का ५० वर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीय रामकाजी वि.क. पनि पक्राउ परेका छन्।
प्रहरीले घटनास्थलबाट १ लाख १४ हजार ५ सय ५० रुपैयाँ नगद, चार बुङ खुला तास तथा विभिन्न अंक लेखिएका ११९ वटा गोटी बरामद गरेको जनाएको छ।
बरामद गोटीमध्ये ५ अंक लेखिएका ५९ वटा, २० अंकका २० वटा, ५० अंकका २० वटा र ५०० अंक लेखिएका २० वटा रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।