धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौँ अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगितामा आइतबार सम्पन्न चार खेलमा सुनाखरी एकाडेमी, प्रभात इङ्लिस बोर्डिङ स्कुल, पाराडाइज बोर्डिङ स्कुल र चिल्ड्रेन्स एकाडेमीले विजयी सुरुआत गरेका छन्।
पहिलो खेलमा सुनाखरी एकाडेमीले युनाइटेड गोर्खा एकाडेमीलाई २२–१५ अङ्कले पराजित गर्यो। खेलमा सुनाखरीका बसन्त राई म्यान अफ द म्याच घोषित भए।
दोस्रो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले समिट सेकेन्डरी स्कुललाई ३०–२४ अङ्कले हराउँदै दोस्रो चरणमा स्थान बनायो। प्रभातका साइमन विके म्यान अफ द म्याच घोषित भए।
तेस्रो खेलमा पाराडाइज बोर्डिङ स्कुल, तरहराले माउन्ट हर्मन एकाडेमी, धरानलाई एकतर्फी ५५–९ अङ्कले पराजित गर्यो। उत्कृष्ट प्रदर्शन गरेका पाराडाइजका रितिक साह म्यान अफ द म्याच बने।
अन्तिम खेलमा चिल्ड्रेन्स एकाडेमी, धरानले इस्ट होराइजन, झापामाथि ३०–१७ अङ्कको जित निकाल्यो। चिल्ड्रेन्सका प्रकुस तामाङ म्यान अफ द म्याच घोषित भए।
कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित प्रतियोगितामा मोरङ, सुनसरी र झापाका १६ विद्यालयको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेता टोलीले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट खेलाडी, उच्च स्कोरर र राइजिङ प्लेयरलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
डिपो सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष तथा विद्यालयका पूर्वअध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्बूको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो।