धरान/ प्रत्येक वर्ष साउन महिनामा धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी पुरा गरिएको छ ।
साउन महिना भगवान् शिवको विशेष महिना मानिने भएकाले प्रत्येक सोमबार तथा साउन महिनाभर नेपालका विभिन्न जिल्ला र भारतबाट समेत हजारौँ भक्तजन पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने गर्छन् ।
भक्तजनको चापलाई व्यवस्थित र सुरक्षित बनाउन धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, नेपाल प्रहरी,शसस्त्र प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारीलाई तीव्र बनाइएको धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेलालाई लक्षित गरी मन्दिर परिसर, जल चढाउने मार्ग, प्रवेशद्वार तथा आसपासका क्षेत्रको सरसफाइ, सडक मर्मत, खानेपानी, शौचालय,स्वास्थ्य सहायता कक्ष तथा भक्तजनको सहज आवागमनका लागि आवश्यक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । साउनको पहिलो सोमबारदेखि नै भक्तजनको उल्लेख्य भीड हुने भएकाले पूजाआराधना गर्न आउने भक्तजनको सहजताका लागि सुरक्षा व्यवस्था पनि कडा पारिने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अघिल्ला वर्षको तुलनामा यस वर्षको तयारी केही फरक ढङ्गले गरिएको छ । धरान–१४ वडा कार्यालय र पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिको समन्वयमा बोलबममा आउने भक्तजनलाई सहज रूपमा पूजा गर्न मन्दिर प्रवेशका लागि दुई वटा प्रवेशद्वारको व्यवस्था गरिएको छ ।” गर्मीको मौसमलाई मध्यनजर गर्दै लामो समय लाइनमा बस्ने भक्तजनको सहजताका लागि कुलर तथा एसीको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।
प्रत्येक वर्ष साउन महिनाभर सञ्चालन हुने बोलबम मेलामा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत ठूलो सङ्ख्यामा भक्तजन पिण्डेश्वर बाबाधाम पुग्ने गर्छन् । बोलबमका अवसरमा भक्तजनले सप्तकोसीको कोकाहा नदीबाट जल ल्याई पहेँलो वस्त्र धारण गरेर पिण्डेश्वर महादेवमा जल अर्पण गर्ने परम्परा रहिआएको छ ।
साउनभर विशेषगरी प्रत्येक सोमबार भक्तजनको अत्यधिक भीड लाग्ने भएकाले यस वर्ष पनि सोही अनुसार सम्पूर्ण व्यवस्थापनको तयारीलाई तीव्र पारिएको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
यस वर्षको बोलबम मेलामा गत बर्ष भन्दा बढी भक्तजन पिण्डेश्वर बाबाधाममा आउने अनुमान गरिएको छ सोही अनुसार सुरक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी, यातायात व्यवस्थापन तथा अन्य आधारभूत सेवाको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
बोलबम मेलाले धार्मिक आस्थासँगै धरानको पर्यटन प्रवद्र्धन तथा स्थानीय व्यापार–व्यवसायलाई समेत टेवा पु¥याउँदै आएको उहाँले बताउनुभयो । मेला अवधिभर भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन सम्बन्धित सबै निकायको समन्वयमा तयारीलाई अन्तिम रूप दिइएको वडाध्यक्ष भट्टराईले बताउनुभयो ।
पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले साउन महिनाभर लाखौँ भक्तजन आउने भएकाले यसलाई धार्मिक पर्यटनको अवसरको रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले यो वर्ष ४ देखि ५ लाखसम्म भक्तजन पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने अपेक्षा गरिएको जानकारी दिए।