धरान/ होटल एशोसिएशन भेडेटारको आयोजनामा तीन दिनसम्म चलेको १३औँ भेडेटार फुड फेस्टिवल सफलतापूर्वक सम्पन्न भएको छ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पुस १६ देखि १८ गतेसम्म फेस्टिवल आयोजना गरिएको हो।
फेस्टिवल अवधिभर पर्यटकहरूका लागि स्थानीय र मौलिक खानाका परिकारको विशेष व्यवस्था गरिएको थियो भने हरेक साँझ आकर्षक सांगीतिक कार्यक्रममार्फत भरपूर मनोरञ्जन प्रदान गरिएको थियो।
कार्यक्रममा चर्चित गायिका मेलिना राई, गायिका दिपा सुहाङ लिम्बू, द प्याराडाइज नेपाल ब्याण्ड, सुहाङ एण्ड द आमा–छोरा ब्याण्ड, गायक गौरव नारायण राई, सुरेश गुरुङ, लिलाराज लावती, राजु स्यङ्बो लगायत कलाकारहरूको प्रस्तुति रहेको थियो। साथै गरिमा डान्स सेन्टर धरान र स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गर्दै दर्शकलाई झुमाएका थिए।
फेस्टिवलमा सांगीतिक कार्यक्रमसँगै खेल तथा मनोरञ्जनात्मक गतिविधि, स्थानीय कृषि उत्पादन तथा स्वदेशी कम्पनीका उत्पादनको बिक्री र प्रदर्शनीले समेत पर्यटकको ध्यान तानेको थियो।
होटल एशोसिएशन भेडेटारका अध्यक्ष तुमराज लिम्बुको सभापतित्वमा पुस १६ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले उद्घाटन गरेको फेस्टिवल पुस १८ गते साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दालीको प्रमुख आतिथ्यमा समापन भएको हो।
फेस्टिवलको उद्घाटन समारोहमा साँगुरीगढीको पर्यटन प्रवर्द्धनमा पत्रकारितामार्फत योगदान पुर्याउने दुई जना पत्रकारलाई सम्मान गरिएको थियो।
समापन समारोहमा भने साँगुरीगढीको कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने कृषकहरूलाई छ प्रकारका कृषि बालीका आधारमा पुरस्कृत गरिएको आयोजकले जनाएको छ।
तीन दिनसम्म चलेको फुड फेस्टिवलले भेडेटारको पर्यटन, स्थानीय उत्पादन र सांस्कृतिक पहिचानलाई थप प्रवर्द्धन गरेको आयोजकको दाबी छ।