धरानको तीनढ्वाङ्गे पुल एक वर्षदेखि जस्ताको तस्तै, कहिले बन्ला?

  • असार १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम अगाडि नबढ्दा स्थानीयवासी ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

विक्रम संवत् २०८० सालको चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिनामै भत्किएको थियो। तर एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले न मर्मतको पहल गरेको छ, न त नयाँ पुल बनाउने काम थालेको।

स्थानीय जीवन तामाङ भन्छन्, “वर्षदिन भयो पुल भत्किएको। पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ। साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ।”

उनका अनुसार पैदल यात्रीहरू ज्यानको बाजी लगाएर खोलो तर्दै आएका छन् भने सवारीसाधनहरू घुमाउरो वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्। “सवारीसाधन त अर्कै बाटो जान्छन्, हामीजस्ता बुढापाका र विद्यार्थीहरूलाई भने खतरै खतराको बीच हिँड्नुपरेको छ,” ७९ वर्षीय अमृत श्रेष्ठको गुनासो छ।

उक्त पुलबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने दूरी छोटो थियो। तर हाल वैकल्पिक बाटो प्रयोग गर्दा बिरामी अस्पताल ढिलो पुग्ने, जसले ज्यानै जोखिममा पार्न सक्ने अवस्था आएको स्थानीयको भनाइ छ।

बर्खा लागिसकेकोले खहरे खोलामा बाढीको त्रास बढेको छ। धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर परिवार प्रत्यक्ष बाढीको जोखिममा परेका छन्।

वडाध्यक्ष धनबहादुर राईका अनुसार वि.सं. २०१७ मा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर बनाइएको सो पुल अहिले पूर्ण रूपमा भत्किएको छ। मदन भण्डारी राजमार्गको निर्माण क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्रे गर्दा संरचना कमजोर भएर भत्किएको हो।

धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी पानी बगाउने योजना बनाइएको जानकारी दिए। उनले चाँडै पुनःनिर्माण प्रक्रिया अघि बढाउने आश्वासन पनि दिएका छन्।

राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार कालोपत्रे गर्दा पुलको संरचना ठीक देखिएकोले त्यसैमा कालोपत्र गरिएको थियो। तर पुरानो फलाम खिया लागेको कारण कल्भर्ट भाँचिएको हो। हाल साना सवारी सञ्चालन गर्न साइडबाट अस्थायी फलामको पुल बनाइएको छ।

स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि मात्र नयाँ पुलको निर्माण सुरु गरिने उनको भनाइ छ।

स्थानीयहरू भने पुल निर्माणमा भएको ढिलाइप्रति आक्रोशित छन्। उनीहरू सरकारले शीघ्र स्थायी समाधानका लागि ध्यान दिनुपर्ने माग गरिरहेका छन्। “यति लामो समयसम्म पनि पुल नबन्नु लापरबाही हो,” स्थानीयले भनेका छन्, “अब पनि राज्य सुतेर बस्यो भने जनधनको क्षति पक्कै हुन्छ।”

-रासस

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved