काठमाडौं । फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामाग्री माथि नियमनकारी निकाय प्रेस काउन्सिल नेपालले निगरानी थालेको छ ।
सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको जनाइएको छ । सामाजिक सञ्जालमा सम्प्रेषित सामाग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन काउन्सिलले कार्यविधि बनाई काम सुरु गरेको छ ।
मिडियाको नियामक निकाय काउन्सिलले विभिन्न पेजसहित सामाजिक सञ्जालमा सञ्चालकको नाम, ठेगाना प्रष्ट हुनुपर्ने सहित तथ्यपूर्ण समाचारको लागि विशेष अपिल समेत जारी गरेको हो । सामाजिक सञ्जालमा देखिएका कतिपय आपत्तिजनक सामग्री अनुगमनसहित प्रवृत्तिगत अध्ययन गरी सच्याउन र सचेतना जगाउन विभिन्न काम समेत गर्दै आएको काउन्सिलले जनाएको छ ।
सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा युट्युब, अनलाइन टिभीसहित सामाजिक सञ्जालको पेजहरूको प्रयोगमा सहजता ल्याउन र व्यवस्थित बनाउन प्रेस काउन्सिलले बेग्लै कार्यविधि बनाइ कार्यान्वयन गरिरहेको उल्लेख छ ।
सञ्चार माध्यमअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल युट्युब च्यानल एवम् फेसबुक पेजबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा उजुरी आएमा वा स्वअनुगमनबाट देखिएमा त्यस्ता सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको व्यवस्था बमोजिम नै कारबाही भइरहेको र अन्य सामाजिक सञ्जालबाट अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लील सामग्री सम्प्रेषण गर्ने, अन्धविश्वासलाई प्रश्रय
दिने, अशिष्ट र अमर्यादित गतिविधि समेटिएको सामग्री सम्प्रेषण भएको देखिएमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा पत्राचार गर्ने गरिएको काउन्सिलले जनाएको छ । पछिल्लो समय कतिपय सामाजिक सञ्जाल युट्युब र फेसबुक
पेजबाट प्रचलित कानुनअनुसार दर्ता भइ स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने गरी गलत भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ ।
कतिपय सामाजिक सञ्जालबाट सञ्चार माध्यमको विश्वास नगर्न, अहिले सामाजिक सञ्जाल नै आधिकारिक माध्यम हुन् भन्नेजस्ता भाष्य निर्माण गर्न भएका प्रयासप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।
सामाजिक सञ्जाल दुरुपयोग गरी भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजपूर्ण सामग्री सम्प्रेषण भइरहेको काउन्सिलको विशेष अनुगमनबाट देखिएको छ । सामाजिक सञ्जालमा भेटिने कतिपय अमर्यादित, अशिष्ट र तथ्यहीन सामग्रीले जनमानसमा अन्योल समेत सिर्जना गरेको छ ।