धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ ।
कार्यक्रममा पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै डा. कमल तिगेलाले चौबिसे थुमका विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने धारणा राखे ।
उनले पुस्तकमा केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता विषयलाई पनि समेट्न सुझाव दिए ।
त्यसै क्रममा अर्का टिप्पणीकर्ता कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि पुस्तक आधारशिला बनेको बताए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) की धनकुटा शाखा अध्यक्ष बिनु चेम्जोङ लिम्बूले सम्पादन गरेको सो पुस्तक चौबिसे गाउँपालिकाले प्रकाशन गरेको हो ।
कार्यक्रममा बोल्दै टिप्पणीकर्ता डीआईजी खापुङले चौबिसे गाउँपालिकाको यस कार्यलाई अन्य स्थानीय तहहरूले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरे ।
चौबिसे गाउँपालिकाको अध्ययन यतिले मात्र पूरा नहुने चर्चा गर्दै खापुङले यस कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
राजारानीस्थित चौबिसे गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङसहित अन्य अतिथिहरूले पुस्तक विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चेम्जोङले पुस्तकले चौबिसे गाउँपालिकामा रहेका महत्वपूर्ण र ऐतिहासिक पक्षहरूलाई प्रकाशमा ल्याएको धारणा व्यक्त गरे ।
पहिलो प्रकाशनमा विविध कारणबस छुटेका विषयलाई आगामी संस्करणमा समेटेर पुस्तकलाई पूर्ण बनाउने उनको भनाइ थियो ।
कार्यक्रमका विशेष अतिथि एवम् मुन्धुम र लिम्बुवानको इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङले अहिले गाउँ बनाउने एजेन्डा कसैसँग नभएका कारण गाउँमा रहेका ऐतिहासिक र मुन्धुमिक धरोहरहरू सङ्कटमा पर्दै गएको बताए ।
तेह्रथुमको लालीगुराँस नगरपालिकाका नगर प्रमुखसमेत रहेका माबुहाङले गम्भीर ढङ्गले तिनको खोज र अनुसन्धान गरेर मात्र गाउँको वास्तविक विकासको आधार तय गर्न सकिने बताउँदै यस किसिमका खोज–अनुसन्धानका कार्य अन्य पालिकाहरूले पनि गर्नुपर्ने विचार राखे ।
पुस्तककी सम्पादक चेम्जोङले सम्पादन कार्य अत्यन्तै चुनौतीपूर्ण भएको अनुभव सुनाइन् ।
‘यसबाट मैले धेरै सिक्ने अवसर पाएकी छु’, उनले भनिन्, ‘आगामी दिनमा यस क्षेत्रमा थप काम गर्ने हौसला पाएँ ।’
पुस्तक प्रकाशनमा सहयोग गरेकोमा चौबिसे गाउँपालिकालाई धन्यवाद दिँदै उनले लेखकहरूप्रति पनि आभार व्यक्त गरिन् ।
कार्यक्रममा फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, प्रदेश अध्यक्ष सन्तवीर लामा, लेखकहरूका तर्फबाट भीमा खजुम मुसुम र चौबिसे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहालले शुभकामना मन्तव्य राखेका थिए ।
फोनिज, धनकुटा शाखाको समन्वयमा प्रकाशित पुस्तकमा त्रिवि मानवशास्त्र विभाग प्रमुख डा. डम्बर चेम्जोङको ‘आदिवासी पहिचान र स्थान नामकरणः राजारानीको प्रसङ्ग’, मुन्धुम तथा लिम्बुवानको इतिहासका ज्ञाता अर्जुनबाबु माबुहाङको ‘याक्थुङ लिम्बूहरूको चौबिस थुम’,
लेखक तथा पत्रकार राजकुमार दिक्पालको ‘इतिहासको साक्षी कुर्लेगढी’, लिम्बू संस्कृतिका ज्ञाता आइत खजुमको ‘ऐतिहासिक पुरुष हाम्बेकहाङ : एक अध्ययन’ र अनुसन्धाता भीमा खजुमको ‘सक्रक्पाः नामभित्र लुकेको रहस्य’ शीर्षकका लेखहरू सङ्कलित छन् ।
त्यस्तै पुस्तकमा ‘सांस्कृतिक सम्पदा युमाः थाक्केलुङ–खिवेत्लुङ’ शीर्षकमा केजी सुब्बा,
‘थिबोङ याक्थुङकालीन पधे यक् संरक्षणको पर्खाइमा’ शीर्षकमा हितराम तिल्लिङ, ‘ओझेलमा परेको ऐतिहासिक चेम्जोङ घर’ शीर्षकमा सागर सरगम चेम्चोङ,
‘साम्लोलुङधुङको सामाजिक–सांस्कृतिक महत्व’ शीर्षकमा पत्रकार सन्तवीर लामा र ‘पूर्वेली मगरको पहिचान : हुर्रा नाच’ शीर्षकमा पत्रकार विदुर खवासका लेख छन् ।