धरान/ शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् ।
‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए ।
उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कारण कृतिको आकार सानो र छरितो हुनुपर्ने आयामिक धारणा प्रस्तुत गरेका थिए ।
रचनाको विषय विज्ञान र प्रविधिसँग सम्बन्धित हुनुपर्ने तथा भविष्यमा मानव समाजले सामना गर्नुपर्ने सम्भावित चुनौतीहरूमा केन्द्रित हुनुपर्ने आयामिक लेखनको प्रस्ताव रहेको पनि परदेशीले बताए ।
त्यस क्रममा नवआयाम अवधारणाका अभियन्ता कवि भीम विरही राईले पनि आप्mना विचार प्रस्तुत गरेका थिए ।
त्यसपछि तर्क दर्शनका प्रवर्तक चेवन राई, प्राध्यापक राजेश विद्रोही तथा कविहरू सुदीप पाख्रिन, प्रकाश दिप्साली, चन्द्र गुरुङ, इन्दु नेपाल योञ्जन, छविना लुङ्गेली, दीपा मग्राती, विशाल नाल्बो, , सञ्चारकर्मी देवेन्द्र कार्कीलगायतले यस अवधारणाका सबल र दुर्बल पक्षहरूबारे आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
उनीहरूले अभियानलाई निरन्तरता दिँदै कृतिको विषय छनोटमा ध्यान दिन सुझाव दिएका थिए ।