धरान/ धरानस्थित कृषि उपज बजारमा तिहार आउन बाँकी छँदै भारतीय फूल भित्रिएको छ । फूलको चाड तिहारमा विगतका बर्षहरुमा नेपाली फूलले बजार पिटे पनि यस बर्ष भने भारतीय फूलको मालाले बजार पिट्ने सम्भावना बढेर गएको छ ।
कृषि उपज बजारका अनुसार २०५८ सालमा स्थापना भएको यो बजारमा प्रत्येक बर्षको तिहारमा तिहार लक्षित फूलको कारोबार हुँदै आएको छ । पूर्वी पहाड मूख्य श्रोत रहेको फूलको कारोबार यस बर्ष तिहार छिटो भएका कारण स्थानीय फूल कम फूल्ने आंकलन गर्न सकिने कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् ।
उनका अनुसार मंगलबारमात्र धरानमा १ लाख २५ हजार माला धरान भित्रिएका बताए । उनले भने–‘मंगलबार एकै दिनमा १ लाख २५ हजार भारतीय फूलको माला कृषि बजारमा भित्रिएको छ, अहिले ती माला शितघरमा भण्डारण गरिएको छ, अझै ६० हजार माला भारतबाट आउने प्रक्रियामा छ ।’
उनले यस बर्ष फूलफुल्ने सिजन भन्दा अगाडि नै तिहार परेका कारण भारतीय बजारले बजार पिट्ने सम्भावना रहेको बताए । उनले यस बर्ष १ करोड ७५ लाख मूल्य बराबरको ३ लाख ५० हजार मालाको कारोबार हुने अनुमान रहेको बताए । गत बर्षको तिहारमा ३ लाख २५ हजार माला खरिद विक्री भएको बताउदै कारोबारको हिसाबले १ करोड ६२ लाख रहेको बताए ।
यता प्रत्येक बर्ष फूलको व्यवसाय गर्दै आएका व्यपारीहरुले यस बर्ष नेपाली फूल कम उत्पादन हुने भएपछि भारतीय फूलको माला समयमै ल्याएर शित भण्डारमा भण्डारण गरेको बताए । व्यापारी टिकाराम श्रेष्ठले तिहार छिटो भएकोले स्थानीय सयपत्री फूल उत्पादन प्रयाप्त नहुने देखिएको बताए । उनले भने–‘ स्थानिय सयपत्री फूल उत्पादन पर्याप्त नहूदा भारतीय फूलले बजार लिने सम्भावना बढेर गएको छ ।’ उनका अनुसार नेपालमा स्थानीय सयपत्री फूलको ब्यवसायिक उत्पादन कम हूनु, बेमौसमी झरी पानीले बेर्ना बिगार्नु जस्ता कारणले यस बर्ष स्थानीय फूल कम उत्पादन हूने सम्भावना भएको हो ।
श्रेष्ठको मात्र हैन व्यापारी शैलेन्द्र चौधरीको समेत भनाई उस्तै छ । प्रत्येक बर्षको तिहारमा भारतीय फूलको माला खरिद गरेर कृषिबजारमा विक्री गर्दै आएका उनले समेत यस बर्ष नेपाली फूलको उत्पादन कम हुने भएकोले भारतीय माला समयमै ल्याएर भण्डार गरेको बताए ।
धनकुटा पात्लेका कृषक कमल कार्कीले यो बर्ष तिहारपछि मात्र फूल फुल्ने भएकोले तिहारको समयमा फूल विक्री गर्न सकिने बताए । उनले गत बर्ष यही बजारमा ल्याएर प्रति मुठा ५० रुपैयाले फूल बचेको बताउदै यो बर्ष त्यो सम्भावना कम भएको बताए ।