सदाबहार समस्याः धरानको खानेपानी

  • असार ७, २०७९
  • सन्जोगबाबु दाहाल
alt

धरान/ धरान– १५ बाझगराकी गृहिणी मञ्जु बस्नेतलाई विहान उठ्ने वित्तिकै एउटा नियमित चिन्ताले सताउने गरेको छ । चिन्ताको कारण अरु केही नभएर खानेपानीकै हो । कहिलेकाही विहान खाना पकाएपछि खुवाएर नानीहरुलाइ स्कुल पठाउने बेलामा धारामा तुरुक्क पानी चुहिन्छ, त्यसबेला खानेपानी थाप्न जाउं कि बच्चाहरुलाई स्कूल पठाउन जाउं दोधारमा पर्ने गरेकी छिन् । नानीहरुलाई स्कुल पठाउन जाउ धारामा पानी थाप्न ढिलो, नजाउं नानीहरुको स्कुल पु¥याउन ढिलो । मुख्य समस्या त धारामा पानी झर्नै छाडेपछि पानी थाप्न नै पाइदैन । यो उनको प्राय दैनिक नियती हो ।

बस्नेत भन्छिन्, ‘मानिसको जीवनसंग जोडिएको खानेपानीको पछि दौडदा दौडदै धरानमा मेरो जीवन पनि वित्नै लागेको छ । धरानमा खानेपानी समस्या धेरै ठूलो भयो । खाना पकाउन, लुगा धुन, सौचालय जान, नुहाउन पानी नभई हुदैन । यति धेरै पानीको आवश्यकता भएपनि कहिलेकाही त खानेपानी समेत थाप्न पाइदैन ।’

पुर्वको सुन्दर पर्यटकीय नगर भनेर चिनिएको धरानमा वर्षाैंदेखी खानेपानीको समस्या हुँदै आएको छ । खानेपानीको अभावमा तड्पिनु धरानेहरुको नियति नै भएको छ । बर्षायाममासमेत खानेपानी अभावकै कारण धरानका सर्वसाधारणको दिनचर्या नै कठिन बन्दै गएको छ ।

बस्नेतजस्तै अर्की गृहणी टीका बस्नेतको समस्या पनि उस्तै छ । धारामा पानी नआउदा धरान– १४ मा रहेको तुर्केबाट पनि पानी ल्याएको उनी सम्झिन्छन् । उनी भन्छिन्, ‘पहिला त राती १२ बजे खानेपानी संस्थानले पानी छोड्थ्यो । राति रुंगेर बस्नुपर्ने अवस्था थियो । कहिलेकाही त भुसुक्कै निदान्थ्यो । विहान उठेपछि तुर्केबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो ।’

एसियाली विकास बंैक (एडिवी) र नेपाल सरकारवीचको सम्झौता पछि धरानमा खानेपानी परियोजना सुरु भयो सन २०१२ मा । धरानमा अव चाही खानेपानीको समस्या समाधान होला भने ठानेका थिए । धरान १५ बस्ने विवेक राई तर अहिले पनि पहिलाको भन्दा फरक दिनचर्या नभएको बताउछन् ।
बर्षौदेखि यस्ता समस्या भोग्ने उपभोक्ता प्रत्येक गल्लीगल्ली चोकचोकमा भेटिन्छन् । अन्य समयमा भन्दा धरानमा खानेपानीको समस्या सुख्खा महिनामा हुने गरेको छ । पानीको मुहान सुक्ने र भूमिगत पानीको स्रोतबाट पनि पर्याप्त पानी ट्यांकीमा पानी जम्मा गर्न नसक्दा यस्तो समस्या आएको हो ।

धरानको खानेपानीको मुख्य स्रोत सर्दू, खर्दु र तामाखाम जलाधारसँगै भूमिगत पानी नै हो । तर जलाधार क्षेत्रको अतिक्रमण तथा यसको संरक्षण हुन नसक्दा खानेपानीका स्रोतहरू सुक्न थालेका छन् । भएका मुहानहरू सुक्दै जाने र जनसङ्ख्याको चाप बढेर खानेपानीको माग बढ्दै गएकाले धरानमा खानेपानीको समस्या चुलिँदै गएको हो ।

तत्कालिन धरान नगरपालिकामा निर्वाचित जनप्रतिनिधि नभएको समयमा राजनैतिकदलहरूको दलीय संयन्त्रको प्रयासबाट एकीकृत शहरी विकास आयोजना मार्फत एशियाली विकास बैङ्क (एडीबी) को २२ मिलियन ऋण तथा अनुदान सहयोगमा धरान खानेपानी (विस्तार, मर्मत सम्भार) योजना सुरु गरियोे । यसै योजना अन्तर्गत अहिले यहाँ खानेपानी आयोजना सञ्चालन भइरहेको छ ।

तत्कालीन शहरी विकास मन्त्री नारायण खड्काको पहलमा एकीकृत शहरी विकास कार्यक्रम अन्तर्गत एडीबीको ३५ प्रतिशत ऋण तथा २६ प्रतिशत अनुदान, नेपाल सरकारको २४ प्रतिशत अनुदान र धराननगरको १५ प्रतिशत गरी २२ दशमलव शून्य ७ मिलियन अमेरिकी डलर अर्थात् त्यसबेलाको सटही मुल्य करीब २ अर्ब १६ करोड रुपैयाँ) लगानीमा सम्पन्न भएको यस आयोजनाले धराने जनताको खानेपानी समस्याको समाधान हुने अपेक्षा राखिएको थियो ।

तर, अयोजना सम्पन्न भई गत २०७७ फागुन १७ गतेबाट खानेपानी संस्थानको सम्पत्ति, दायित्व र जिम्मेवार लिएर बनेको धरान खानेपानी व्यवस्थापन बोर्डले धराने जनताको त्यो सपना भने पुरा गर्न सकेको छैन ।

सम्झौतामा आयोजना सम्पन्न भएपछि भूमिगत स्रोतबाट दैनिक १ करोड ५२ लाख २० हजार लिटर खानेपानी वितरण गर्ने र भूमिगत स्रोत बाहेक सर्दू, खर्दू र तामाखाम स्रोतको पानी थप गर्दा १८ घण्टासम्म पर्याप्त पानी वितरण गर्न सकिने उल्लेख गरिएको थियो । धरानका उपभोक्तालाई सन् २०३१ सम्म न्यूनतम् १६ देखि २४सैं घण्टा ७ मिटरको प्रेसरमा डब्लूएचओ (विश्व स्वास्थ्य सङ्गठन) ले निर्धारण गरेको मापदण्डको शुद्ध खानेपानी उपलब्ध गराउने सम्झौता अनुसार बोर्ड गठन भएर बोर्डमार्फत खानेपानी वितरण गर्न थालिए पनि धराने जनताको अवस्थामा भने केही फरक पाइएको छैन । अहिले पनि खानेपानीका लागि सर्वसाधारण यत्रतत्र भौतारिन बाध्य छन् ।

आयोजनाको प्रारम्भदेखि नै अनुगमनकालागि छुट्टै संयन्त्र बनाइएको थियो । स्थानीय निकायमा जनप्रतिनिविहीनको अवस्थामा गठित दलीय संयन्त्रको निर्णयबाट खानेपानी आयोजना स्वीकृत भएको हो । नागरिक स्तरबाटै सर्वदलीयतथा सर्वपक्षीय अनुगमन समिति निर्माण गर्नुपर्ने आवाज उठेपछि नेपाली काङ्ग्रेसका त्तकालीन जिल्ला सचिव सुजेन्द्र तामाङको संयोजकत्वमा धरान खानेपानी आयोजना अनुगमन समिति गठन गरिएको थियो ।
आयोजनाले सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त सङ्घर्ष समितिसँग गरेको ११ बँुुुदे सहमतिको पालना नगरेको र डीपीआरमा उल्लेख भए बमोजिमको पानी वितरण नगरिएको भन्दै अनुगमन समितिका संयोजक तामाङले आयोजना असफल भएको दावी गर्दै आएका थिए ।

धरान खानेपानी बोर्डका व्यवस्थापक राजु पोखरेलले अहिले धरानमा २८ हजार भन्दा बढी उपोक्ताहरुलाई पानी वितरण भइरहेको बताए ।
पोखरेलले खानी पानी पर्याप्त रुपमा सर्वसाधारणलाई खुवाउन नसक्नुमा वितरण प्रणालीमा समस्या रहेको बताउछन । उनी भन्छन्,‘धरानमा खानेपानीको माग दैनिक अढाई करोड लिटर छ । हिउँदमा १ करोड ८० लाख लिटर भए पनि त्यसले पुगिरहेको छैन । ’

पुराना संरचना भएकाले बेला बेलामा बिगे्रेर समस्या दिइरहने भएकोले पनि पर्याप्त पानी वितरण गर्न नसकेको उनी बताउछन् । पोख्रेल भन्छन्, ‘हामी जति सक्दो चाडों त्यसलाई व्यवस्थित बनाएर पानी वितरणलाई सहज बनाउन लागिरहेका छौ । मेयर साहव पनि यसमा लागि रहनु भएको समस्या समाधान हुन्छ भन्ने हामीले आशा लिएका छौ ।’

पोखरेलका अनुसार पुरानो संरचनाकै कारण चुहावट बढी भएकाले कतै चौबिस घण्टा त कतै ३ दिनमा एक घण्टा मात्र पानी आउने समस्या भएको हो ।

पानी खुवाउन मेयरको सक्रियता
धराने जनताहलाई पानी खुवाउन धरानका नवनिर्वाचित धरानका मेयर हर्कराज साम्पाङको सक्रियता दैनिक बढ्दै गएको छ । ०७४ सालको पहिलो स्थानीय निर्वाचनमा थोरै मत ल्याएका हर्क साम्पाङले ०७९ को दोस्रो स्थानीय निर्वाचनमा खानेपानी समस्या समाधानको मुख्य एजेन्डा बोकेर धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वार बनेका थिए । बर्षोदेखिको समस्या दलका नेताहरुले पूरा गर्न नसनेपछि खानेपानीकै मुख्य एजेन्डा बोकेर आएका साम्पाङलाई धराने जनताले जिताए । जितेर पदभार ग्रहण गरेदेखि मेयर साम्पाङ खानेपानी समस्या समाधानमा दिनरात नभनी खटिरहेका छन् । कहिले जलाधार क्षेत्रमा रहेका पुराना पाइप फेर्ने, कहिले जलाधार क्षेत्रमै गएर सरफाई गर्ने त कहिले धरान ८ मा रहेको पम्पिङ साइडमै गएर खानेपानीको वस्तुगत अवस्था बुझ्ने काम गर्दै आएका छन् ।

खानेपानी समस्या समाधानसँगै भ्रष्टाचार र विसंगतिका विरुद्धमा आवाज उठाउदै आएका अभियन्ता साम्पाङ मेयर बनेपछि धरानेहरुले खानेपानी समस्या समाधानमा केही आशा पलाएको बताउने गरेका छन् । स्वयम मेयर साम्पाङले पाच बर्षे कार्यकालभित्र आफूले उठाएको एजेन्डा पूरा गरेर छाड्ने बताउछन् । उनी भन्छन्, ‘मलाई धराने जनताले उपमहानगरपालिकाको भ्रष्टाचार, वेथितिसँगै खानेपानी समस्या समाधान गर्न पठाएका छन् । म विगतमा अभियन्ता थिए अहिले म मेयर भएको छु, निर्णय गर्ने ठाउमा पुगेको छु । आफूले जनाएको प्रतिबद्धता पूरा गर्छु ।’
खानेपानीकै मुद्धामा भ्रष्टचार भएको लायतका आवाज उठाँउदै आएका उनै साम्पाङले विभिन्न समयमा कार्वाही समेत भोग्नु परेको थियो । उनै कार्वाही भोगेका मेयर अहिले खानेपानी बोर्डका अध्यक्ष भएका छन् । उनले धरानको खानेपानी वितरणलाई वैज्ञानिक बनाउदै भविष्यमा कोशीको पानी खानेपानी खुवाउने प्रतिबद्धता पनि गरेका छन् । गत शनिवार मात्रै धरान २० स्थित पकुवा खोलाको पानी धराने जनतालाई खुवाउन परियोजना निमार्णमा श्रमदान गर्दै गरेको अवस्थामा भेटिएका थिए ।

सो खोलाको पानीबाट ११ नम्बर वडाका स्थानीयलाई खानेपानी उपलब्ध गराउन सकिने अनुसन्धान टोलीको रायपछि मेयर साम्पाङले शनिबारदेखि सो परियोजनाको निर्माण सुरु गराएका छन् ।

पकुवा खोलाबाट पानी थप गर्दा पम्प चलाउँदाको खर्च कम हुने भएकोले आयोजना निर्माण मितव्ययी र हितकारी रहेको मेयर साम्पाङको दावी छ । ईञ्जिनियर प्रशान्त श्रेष्ठले मुहान क्षेत्रमा २ वटा टंकी निर्माणको काम भइरहेको बताउँदै त्यहाँबाट बर्खायाममा प्रशस्त पानी लैजान सकिने र त्यसले वडा नं ११ र १७ को लागि रेल्वे सिस्टमको भार कम हुने उल्लेख गरे ।

कोशी र तमोरको पानी
खानेपानीका समस्या दिर्घकालीन रुपमा समाधान गर्न कोशी र तमोरको पानी धरानमा ल्याउने परिकल्पान गर्न थालिएको पनि अढाइदशक वितिसकेको छ । नव नर्विाचित मेयर साम्पाङले चुनावी दौडका क्रममा धराने जनातालाई कोशीको पानी खुवाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
उनले केही दिन अघि धरानका सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोशीको पानी ल्याउन विषयमा अध्ययन गर्न उनले प्रदेश सरकारसँग समन्व्य गरिरहेको बताएका थिए । धरानबाट कोसी करिब १५ किलोमिटर दूरीमा छ भने तमोर २५ किमि  ।

संस्थानले १९ वर्षअघि पनि कोशीको पानी धरानमा ल्याउनेबारे प्रारम्भिक सर्भे गरेको थियो । केही बर्ष अगाडि खानेपानी संस्थान शाखा धरानका तत्कालीन प्रमुख दिपक श्रेष्ठसहितको टोलीले समेत गरेको सर्भे अनुसारे करिब ९० करोडको लागतमा बराहक्षेत्रको चतराबाट सिधै ल्याउन सकिने निष्कर्ष निकालेको थियो । तर, कोशी धेरै बालुवा र ढुंगामुढा बगाएर ल्याउने विश्वकै दोस्रो नदी भएकाले पानी शुद्धीकरण गर्ने प्रविधि जडानमै बढी खर्च हुने देखियो । उक्त सर्भेअनुसार काम अघि बढेन ।

धरान खानेपानी बोर्डका व्यवस्थापक राजु पोखरेलका अनुसार कोशीको पानी धरान ल्याउन सम्भव रहेको तर धेरै खर्चिलो हुन आँउने बताए ।
उनका अनुसार चतराभन्दा धरान ३ सय मिटर बढी उचाईमा भएकाले पम्प गरेर ल्याउनुपर्ने हुन्छ । अर्को स्थानीय तहको स्वीकृति पनि लिनुपर्ने र ठूला–ठूला पाइप ल्याउँदा अर्काको घरजग्गा परेमा क्षतिपूर्ति र मुआब्जाका कुरा समेत आउने उनले बताए । पानी ल्याउन ड्रिल गरेर पम्प गरी ३÷४ ठाउँमा ठूला–ठूला रिजर्भ्वायर ट्यांकी निर्माण गरेर पम्प गरेर सम्भावना भने रहेको उनले बताए । दुई दशकअघि धरानमा तमोरबाट पनि पानी ल्याउने कुरा चलेको थियो । तर तमोरको मूलघाटको सतह पनि धरानभन्दा होचो भएकाले योजना अघि बढेन ।

इलाम-२ उपनिर्वाचन: ए ...

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान ...

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved