सुन्दरहरैँचाका महिलाहरुको बाख्रा पालनबाट आर्थिक उन्नति

  • जेठ २६, २०७९
  • "अमर खड्का"
alt सुन्दरहरैँचा वडा नं. ६ की गीतादेवी ओझा भट्टराईंको फर्ममा पालिएका बाख्रा तथा खसीको स्याहार गर्दै ।

इटहरी/ कुनै बेला वैदेशिक रोजगारीमा जाने र पैसा कमाउँनेलाई समाजमा ज्ञानी एवम् शिक्षित व्यक्तिभन्दा पनि इज्जतले हेर्थे । त्यही भएर मोरङ सुन्दरहरैँचाकी गीतादेवी ओझा भट्टराईको १४ वर्ष अघि बाबुआमाले विदेश जाने केटा रोजेर विवाह गरि दिए । गीतादेवीका बाबुआमाले त्यो बेला भनेका थिए, ‘ पैसा बिना भोकै मरिन्छ । विदेश गएर मिहिनेत गरेर पैसा कमाउने केटाले सुखसँग पाल्छन् ।’
गीतादेवीले पनि त्यो बेला पैसा कमाउने उत्तम विकल्प नै विदेश ठानेका थिइन् । त्यही भएर उनले सुन्दरहरैँचा वडा नं. ६ का चन्द्रप्रकाश भट्टराईसँग विवाह गरिन् । विवाह गरेको केही महिनालगतै फेरि चन्द्रप्रकाश विदेश गए । गीतादेवीले अर्काको अधिया खेती गरेर जसोतसो परिवारको गर्जो टादै आइन् । समय वित्दै गयो, श्रीमान चन्द्रप्रकाश बिरामी भएर फर्के ।

गीतादेवीलाई पहिले विवाह गर्दा सोचेको र विवाहपछिको अवस्थामा पुरै फरक अनुभूति भयो । उनले मनमनै चिन्तन मनन गर्थिन, ‘सोचेजस्तो हुन्न रहेछ जीवन ।’ त्यो बेला गीतादेवीको घरको अवस्था आर्थिक रुपमा दयनीय थियो । समाजमा धन सम्पति र पैसालाई सफलताको सूचक मान्नेको सामु गीतादेवीको आर्थिक अवस्था कमजोर भएकाले गर्दा आफन्त र गाउँलेले पनि हेपाहा व्यवहार गर्थे ।
अर्काको अधिया खेती गर्दै परिवार धान्दै आएकी गीतादेवीले आर्थिक समस्या केही हदसम्म टार्ने सोचले दुईवटा बाख्रा पालेकी थिइन् । त्यही पनि मरे । उनका ससुरा बुवा धामी झाक्रीको काम गर्ने गरेकाले बाख्रा छुदैन्थे । कष्टकर ढंगले गुजारा टार्दै संघर्ष गर्दै गीतादेवी अघि बढ्दै गोइन् । उनका श्रीमान चन्द्रप्रकाश पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि सम्हालिँदै फेरि विदेश आउँजाउँ गर्न थाले ।
गीतादेवीले जहिल्यै आर्थिक समस्याले छटपटी भइरहेको बेला तीन वर्षअघि व्यवसायिक रुपमै वाख्रा पालन गर्ने निधो गरिन् । शुरुवातमा चारवटा लोकल बाख्रा पालनबाट सुरु गरेकी गीतादेवीकोमा यतिबेला ७६ वटा बाख्रासहित खसी र बोका छन् । बाख्रासहित खसी र बोका थप्दै जादा बोयर जातका दुईवटा पाठा र एउटा बोका अस्टेलियाबाट खरीद गरेर ल्याइन । अनि, विस्तार लोकल पनि थप्दै गइन् ।
यतिबेला उनकोमा बोयर जातका बाख्रासँगै खसी र बोका छन् । लोकल जातका बाख्रा बोयर बोकाको वीउँ प्रयोग गरेर क्रस गरेका पाठापाठी पनि उत्पादन हुँदा छन् । बोयर जातका बाख्रा वा बोका हेर्दै बलियो र खँदिलो मासु भएको हुन्छ। प्राय सेतो वा खैरो वा दुवै रङ्ग मिसिएको बोयर बाख्राले धेरै थरि रोग प्रतिरोध गर्न सक्षम हुन्छन् ।

त्योभन्दा पनि चाख लाग्दो कुरा बोयरको पाठा पाठी एकदमै छिटो बढ्छन् । बोयरको बोका वा खसी प्रतिगोटा दुई लाखसम्म विक्री हुन्छन । गीतादेवीलाई श्रीमान चन्द्रप्रकाशले पुरै काममा सघाउँछन् । ‘बाख्रा पालन गर्ने क्रममा अस्टेलियाबाट पाठा र बोका ल्याउँदा गाउँलेले हामीलाई बौलाए भने गर्थे,’ गीतादेवीले भनिन, ‘अहिले भने गाउँलेले हाम्रो प्रसंसा गर्छन् ।’

गीतादेवीका श्रीमान चन्द्रप्रकाश भोजपुरबाट २०६५ सालमा मोरङको सुन्दरहरैँचा बसाई झरेका थिए । पहाडबाट झरेपछि गीतादेवीको चन्द्रप्रकाशसँग विवाह भएको थियो । भट्टराई परिवारले पहाडको पुख्यौली सम्पति विक्री गर्दा डेढ कट्ठा जग्गा खरीद गरेर सामान्य घर बनाएर बसे । अहिले पनि त्यही घर छँदैछ । गीतादेवीका ससुराबुबाको २०७१ सालमा क्यान्सर रोग लागेर निधन भयो । ससुराबुवाको उपचारका लागि पनि ठूलै रकम खर्च भयो । त्यो खर्च पनि ऋण गरेर टारिएको थियो ।

गीतोदवी यतिबेला बाख्रापालनबाट आर्थिक उन्नति गर्नेमा ढुक्क छिन् । ‘अहिलेसम्म जे जति लगानी गरेर फर्म यहाँसम्म ल्याई पु¥यायौ, अब भने हामीले आम्दानी गर्ने चरणमा छौ,’ उनले भनिन्, ‘मासु पारखीको संख्या बढीरहेका गर्दा खसी वा बोका विक्री नहुने कुनै समस्या नै छैन् ।’ तीन विघा जग्गा लिजमा भएर खसी बाख्राका लागि उनले घाँस पनि लगाएका छिन् । गीतादेवीले नेपाल सरकारकै आर्थिक बिकासका लागि ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना समृद्दिले बाख्रा पालनका लागि पछिल्लो समय सहयोग गर्दै आएको बताइन् ।

गीतादेवीजस्तै, सुन्दरहरैँचा वडा नं. ६ कै इन्दिरा कार्कीले एक वर्षदेखि बाख्रा पालन थालेकी छन् । उनकोमा यतिबेला १३ वटा बाख्रा र खसी छन् । उनको नेतृत्वमा महिलाहरुले दुर्गाश्वरी पशुपालक समूह बनाएर बाख्रा पालन अभियान नै थालेका छन् । महिलाहरु गाउँमा फुर्सदिला भएपछि समूह बनाएर बाख्रा पालन थालेको इन्दिराले बताइन् । उनको समूहमा २५ जना महिला छन् ।
उनका अनुसार सरकारकै आर्थिक विकासका लागि ग्रामिण उद्यम तथा बिप्रेशण आयोजना समृद्दिले उर्जा प्रदान गरेकै कारण महिलाहरु संगठीत भएर बाख्रापालन तर्फ लागेका हुन् । ‘समृद्दिले महिलाहरुलाई उर्जा दिलायो, अनि वित्तिय साक्षरता तालिम दिएपछि अब पुरुषसरह हामी पनि केही गर्न सक्छौं भनेर सवै महिला संगठीत भएर लागि परे,’ उनले भनिन, ‘अहिले हामी महिला सफलतातर्फ अघि बढीरहेका छौं ।’

यस क्षेत्रका महिलाले अगुवाई गरेर अभियानकै रुपमा थालेका हुन् । स्थानीय एलिसा तिम्सिनाको खेतमा केरा खेती लगाउने गर्थिन् । तर, यतिबेला केरा खेती रोग लागेर नास भएपछि बाख्रा नै पालन थालेकी छन् । ‘केरा खेती रोग लागेर सखाप भएपछि बाख्रा पालन थाल्यौं,’ एलिसाले भनिन, ‘भर्खरैदेखि पाल्न थालेका हौ, अहिले बाखा र खसी गरेर १५ वटा पुगेका छन् ।’ बाख्रा पालनका लागि आफ्नो भएको केही जग्गा र लिजमा लिएर घाँसको बिउ उत्पादन गर्ने गरेकी छन् । जसले गर्दा घाँसको कुनै समस्या छैन् ।

सोही ठाउँकी आशा कार्की पनि आफूलाईं केही गर्ने इच्छा पहिलेदेखि भएर बाख्रा पालन थालेकी छन् । आशाले भनिन, ‘पहिला एक(दुईवटा पाल्ने गर्थे, अहिले समूहमा आबद्द भएपछि १४ वटा पालेको छु ।’ काममा व्यस्त हुँदा जीउँ पनि फूर्तिलो हुने र आम्दानी पनि हुने भएपछि हौसला मिल्ने गरेको अनुभव सुनाइन् ।

त्यसो त गरि खान सक्ने उमेरका मात्र होइन, रिटायर्ड जीवन विताउनुपर्ने उमेरका पनि बाख्रा पाल्दै आएका छन् । सुन्दरहरैँचा वडा नं. ६ कै लक्ष्मीदेवी तिम्सिना उमेरले ७६ वर्ष पुगिन् । जोसिलो भएर बाख्रा पालन गर्दै आएकी छन् । बिहान उठेदेखि खसी(बाख्रालाई घाँस काट्न र चराउनमै दैनिकी वित्ने गर्छ । ‘सकुन्जेल त छोराबुहारीको आशा गर्नु भएन नि,’ उनले भनिन, ‘दुईवटा छोराछोरी अलगै गरि खान थालेका छन् । एउटा छोरा घरमा छैनन अनि हामी बुढाबुढी त जसरी पनि गरि खान परियो नि ?’

सुन्दरहरैँचाका थुप्रै वस्तीमा यतिबेला घरैपिच्छे बाख्रा पाल्न थालेका छन् । विशेषगरी, वडा नं. ६ मा महिलाहरुले नेतृत्व गरेर दुईवटा अलग अलग समूह बनाएर खरो प्रतिस्पर्धा गरि बाख्रा पालन थालेका हुन् । यहाँ एउटा दुर्गाश्वरी पशुपालन कृषक समूह र अर्को गोदावरी महिला कृषक समूह छ। दुर्गाश्वरीको नेतृत्व इन्दिरा कार्की र गोदावरी कृषक समूहको नेतृत्व ललिता राईले गरेकी छन् ।
दुर्गाश्वरी कृषक समूहले खसी बाख्राका लागि सवैले आ आफ्नो जग्गामा घाँस लगाएका छन भने गोदावरीले भने सिद्दार्थ सामूदायिक वनको १५ विघा क्षेत्रफलमा घाँस लगाएको सचिव पवित्रा श्रेष्ठले बताइन् । सामूदायिक वन क्षेत्रको जग्गाा बाख्रा पाल्ने महिला समूहले किम्बु, भटमासे, इन्दु, मेन्दोला, इपिलइपिल, बकाइनो, बडहर, टाकी जातका घाँसखेती लगाएका छन् । ‘महिलाहरु समूहमा आबद्द भएको छोटो समयमै आत्मनिर्भर हुन थालेका छन,’ गोदावरी कृष समूह सचिब श्रेष्ठले भनिन् ।

यहाँका महिलाले समूहमार्फत बाख्रा पाल्न गरेर खसी बोका उत्पादन गरेकैले गर्दा मासु उत्पादनमा समेत सहयोग पुगेको छ। भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मोरङका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार ९३१.९१ मेट्रिक टन खसी बोकाको मासु उत्पादन भएको छ। आर्थिक वर्ष ०६७÷०७७ मा एक हजार ७९८.९६ मेट्रिक टन उत्पादन हुँदा आर्थिक वर्ष २०७५÷०६७ मा भने एक हजार ६४७ मेट्रिक टन उत्पादन भएको थियो । सुन्दरहरैँचा नगरपालिकामा आर्थिक वर्ष २०७७÷०७८ मा खसी र बोकाको मासु ५१.९२ मेट्रिक टन उत्पादन भएको छ। यसरी वर्षेनी कृषकले बाख्रा पाल्न गरेसँगै खसी र बोकाको मासु उत्पादन वढ्दो भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रवक्ता वदेलाल यादवले बताए ।

समूह बनाएर बाख्रा पालन थालेका कृषकलाई नेपाल सरकारकै आर्थिक बिकासका लागि ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना समृद्दि अन्तर्गत समुहका लागि दुर्गाश्वरी र गोदावरी कृषक समूहलाई एक–एकवटा बोयर जातको बोका, खोर सुधार गर्न आर्थिक सहयोग र आहारा व्यवस्थापनका लागि सहयोग गर्दै आएको छ। समृद्दि आयोजना इटहरीका अधिकृत इमिल प्रधानले कृषक समूहलाई सेवा प्रदायक संस्था बीमा, बैक तथा वित्तिय संस्थाको पहुँचका लागि जोड्ने काम भइरहेको बताए ।

समृद्दिकै सहयोगमा दुर्गाश्वरी कृषक समूहका लागि कृषि विकास बैंकले वित्तिय साक्षरताको कार्यक्रम पनि सञ्चालन गरेको छ। गोदावरी कृषक समूहका लागि समृद्दिको सहयोगमा सुन्दरहरैँचा नगरपालिकको प्राविधिक सहयोगमा बाख्रापालन गर्ने प्रत्येकको घर घरमा पुगेर पशु विमा गरिएको छ ।

यसरी समृद्दि आयोजनाको सहयोगमा सुन्दरहरैँचाका महिलाले समूह बनाएर बाख्रा पालन थालेसँगै आर्थिक हैसियत बढेको छ। सामाजिक इज्जत पनि बढेको छ । यहाँका महिलाका निम्ति पैसाका लागि अरुको भर पर्नु पर्दैन् । बजारमा मासुको मूल्य बृद्दि हँुदै गएको अवस्थामा आर्थिक क्षेत्रमा परनिर्भर रहने यहाँका महिला अहिले घर घरमा बाख्रा पालेर आत्मानिर्भर बन्दैछन् ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved