धरान/ प्रदेश नं. १ मै महत्वकांक्षी रुपमा लिएको सर्दु करिडोरको काम शुरु भएको छ । सर्दुले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्दै आकर्षक पर्यटकीय स्थल निर्माण गर्ने उद्देश्यका साथ यो महत्वकांक्षी योजना अगाडि सारिएका हो ।
परियोजना निर्माण भएपनि सर्दु किनाराको १ सय २० हेक्टर जग्गा सुरक्षित हुने, आसपासमा रहेका ७ सय घर धुरी र १४ हजार सर्वसाधारण लाभान्वित हुने बताइएको छ ।
सर्दु करिडोरको शिल्यान्यास तत्कालीन प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २ गते गरेका थिए । उद्घाटनका समयमा उनले बाध नियन्त्रण गर्नेमात्र उद्देश्य नभई, फराकिलो सडके, त्यसको छेउछाउमा रेष्टुराँहरु, हजारौं पर्यटक राति घुम्न जाने र रमाइलो गर्ने र फर्किनेस्थलको रुपमा विकास गर्ने परिकल्पना अन्तर्गतको शुरुवात भएको बताएका थिए ।
प्रदेश सरकार सरकारले बहुवर्षीय योजनाअन्तर्गत ठेक्का स्वीकृत गरेको र सो अनुसार १० करोड ६२ लाखमा प्यासिफिक जलजला कम्पनीसँग भदौ २५ गते सम्झौता गरेको भएपनि कोरोना संक्रमणका कारण समयमै काम हुन सकेको थिएन । यसमा संघीय सरकार र धरान उपमहानगरपालिकाले साझेदारी गर्नेगरी बजेटको व्यवस्था गरिएको उनले जानकारी गरएका थिए । ८७ मिटर खोलाको चौडाइ हुने गरी डिपिआर स्वीकृत भइसकेको पनि काम अगाडि बढ्न सकेको थिएन ।
करिडोरको मुख्य योजनाको शिलान्यास भएको स्थानदेखि पाँच किलोमिटर क्षेत्रमा तटबन्ध गर्ने, जाली, ढुंगासहितको रिमेटमिनवाल लगाइने, १७ सय मिटरमा कंक्रिटको ढलाइ र ढुंगा भरिने, १६ सय ७५ मिटरमा पक्का आरसिसीको रड राखिने, सर्दुखोला गहिरिएर नजाओस् भनेर ठाउँठाउँमा क्रस वाल, ५ किलोमिटरमा ड्रेन, धरान–१७ मा सडक ३० मिटरको हुने र करिडोरले छुने धरान ११, १३ र १७ बाटो फराकिलो बनाउने योजना अगाडि सारिएको थियो । योजना अनुरुप कामले तिब्रता पाएका छ । बर्षौदेखिको धरानको खोलाका कारण दुःख पाएका सर्वसाधारण अब दीर्घकालीन समस्या समाधान हुनेमा ढुक्का भएका छन् । पहिलो चरणमा सर्दू खोलाको नियन्त्रणको काम सुरु गरिएको छ । सर्दूको वितण्डा रोक्न दीर्घकालीन योजनाअनुरुप निर्माण गर्ने भनिएको सर्दू करिडोरको काम सुरु भएको हो । ठेक्का लागेको दुई वर्षपछि र ठेकेदार कम्पनीसँग सम्झौता भएको ९ महिनापछि काम सुरु भएको छ ।
डिपिआर अनुसार नै काम शुरु भएको जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय सुनसरीका डिभिजन प्रमुख चुडाराज ढकाल बताउँछन् । उनले भने–‘डिपिआर अनुसार नै काम शुरु गरेका छौै, कामलाई चाडो सक्ने उद्देश्य लिएका छौं ।’ उनले सर्दू करिडोरलाई रात्रिकालीन पर्यटकीय स्थल निर्माण गर्ने परिकल्पना अनुसार निर्माण गरिने अपेक्षा रहेको बताए । धरानको विकासका लागि सर्दू र सेउती करिडोरलाई भव्य रुपमा विकास गरेर लाने स्थानीय सरकारको महत्वकांक्षा रहिआएको छ । करिडोर निर्माणपछि धरानमा आर्थिक रुपमा समेत आकर्षक आयोजना सुरु हुने, पर्यटन, दीगो विकास र व्यवस्थित शहरमा रुपान्तरण गर्ने सपना पूरा हुने वडाध्यक्ष मनोज भट्टराईले बताए । उनले भने–‘उनले करिडोर निर्माणपश्चात विगतमा सर्दुले विचण्डा मच्चाएर सर्वसाधारणले धेरै धनजनको क्षति व्यहोर्नु परेको थियो, त्यो सदाका लागि अन्त्य हुन्छ भने आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिणत हुन्छ, यो धरानको मात्र हैन प्रदेश न. १ कै पर्यटकीय गन्तव्य क्षेत्र बन्न सक्छ ।’
सर्दू करिडोर परियोजना जलाधार संरक्षणलगायतमा समेत लक्षित गर्ने योजनाअनुरुप अघि बढेको वडाध्यक्ष भट्टराई बताउछन् । सुरुआतमा यसको विषयमा नबुझेर केही विवाद उत्पन्न भएपछि योजनाको काम रोकिएको थियो । अब विवाद नभएको उनले बताए । उनले भने–‘अहिले विवाद छैन प्रारम्भिक काम सुरु गर्ने सहमतिपछि सर्दू खोला पुलदेखि १ किलोमिटरको काम सुरु भइसकेको छ ।’
सर्दू खोला नियन्त्रणपछि २० हेक्टर ‘खोला उकास जग्गा’ निस्कने र त्यहाँ नगरपालिकाले पार्कलगायत पर्यटकीय स्थल निर्माण र व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ । परियोजनाको काम दुई बर्ष भित्रमा सकिने लक्ष्य राखिएको छ ।