‘मैले पञ्चे बाजा बजाएको मैले थाहा पाएदेखि नै हो, मैले अहिलेसम्म निरन्तर बजाउदैआएको छु, यो पेशा अझै छोड्न मन लाग्दैन, तर मेरा छोरा नातिले बजाउनै छाडे ।’ यो भनाई तेह्रथुम लाली गुरास नगरपालिकाका छविलाल दर्जीको हो । पुस्तौदेखि अंगाल्दै आएको पञ्चे बाजा बजाउने पेशा अहिले आएर भने पछिल्ला पुस्ताले बजाउनै छाडेपछि उनी चिन्तित बनेका हुन् ।
आइतबार धरान ७ शुक्रपथमा पञ्चेबाजा मध्येको सनाई बाजा बजाउदै घर घर हिड्दै सहयोग माग्दै आएका उनले आफू बाचुन्जेल बजाउन नछोडने बताए । उनले भने–‘विहेमा यही बजाएर छोराछोरी, नाति सबै हुर्काए, पढाए, अहिले छोरा छोरी लाखापाखा लागे, सबै यो पेशा छोडेर अन्य पेशा गर्न थाले, तर म त बाजुन्जेल पञ्जे बाजा बजाउन छोड्दिनँ ।’
उनको यो भनाईले पञ्चेबाजाप्रति कतिको मोह रहेछ भन्ने स्पष्ट हुन्छ । अहिले धरान नै बस्दै आएको बताउने उनी छोराछोरी अन्य पेशा अंगालेर लाखापाखा लागेपछि बुढेसकालको सहारा यही भएको बताउँछन् । उनी भन्छन्–‘छोराछोरी सबै बाहिर छन्, बुढाबुढीको बाच्ने सहारा यही नै हो ।’
उनलाई पछिल्लो पुस्ताले यस्ता बाजा छोड्दै जाँदा लोप भएर पो जाने हो कि भन्ने चिन्ता छ । पहाडमा सयौको विवाह बटुलामा बजाएर आम्दानी समेत गर्दै आएका उनले पञ्चे बाजा बिनाको विवाह खल्लो हुने बताउछन् । ७० बसन्त पार गरेका दर्जीले सकी नसकी सनाई बाजा फुक्दा पनि उनलाई कुनै कठिनाई भएको महसुस नगर्ने उनी आफू बाचुन्जेल यो बाजा नछोड्ने प्रण गर्छन् । उनी भन्छन्–‘मैले थाहा पाएदेखि मैले यो बाजा बजाएर धेरैको विवाहमा गएको छु, अब उमेर पनि ढल्किन लाग्यो, सकुन्जेल म यो छोड्दिन ।
हुन त केही केही स्थानमा पञ्चे बाजा लोप हुन लागेको भन्दै समिति नै बनाएर जोगाउने प्रयास पनि गरेका छन् । युवा पुस्ता पुराना तथा संस्कृति झल्किने कामहरु छाड्दै पेशा बदल्दै गएका कारण सांस्कृतिक बाजा संरक्षणमा समस्या हुदै गएको छ । युवाहरु वैदेशिक रोजगार जाने, व्यापार व्यवसायतर्फ आकर्षित हुने अर्थात व्यवसाय नै परिवर्तन गर्ने गरेका कारण पनि पुख्र्यौली पेशा संकटमा पर्दै गएका हुन् । युवाहरुले पेशा बदलकै कारण पुस्ता हस्तान्तरण हुन नसक्दा पञ्जेबाजा लोप हुने सम्भावना बढेर गएको सरोकारवालाहरुको समते भनाई छ ।