धरान/ कोरोना प्रभावका कारण शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित शिक्षक, विद्यार्थीहरुलाई यथाशिघ्र खोपको व्यवस्था गर्दै विद्यालय संचालन गर्न शिक्षक संगठनले माग गरेका छन् ।
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश एक कमिटीले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई शिक्षा क्षेत्रमा देखिएका समस्या र गुनासा सहित १३ बुँदे मागपत्र बुझाएका छन् । शिक्षक, विद्यार्थीलाई यथाशिघ्र खोप दिनुपर्ने र आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने लगायतका बुँदाहरु मागपत्रमा उल्लेख गरिएको छ ।
संगठनका प्रदेश एक अध्यक्ष कमलप्रसाद तिम्सिना र इन्चार्ज हिक्मत बहादुर बस्नेतद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री राई समक्ष शिक्षक संगठनले प्रदेश १ को शिक्षा ऐन र शिक्षा नियमावली जारी गर्न माग गरेका छन् भने शिक्षा सम्बन्धि कानुनहरु यथासिघ्र जारी गर्न संघिय सरकारसँग पहलगर्न समेत माग गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टले शैक्षिक क्षेत्रमा गम्भिर असर गरेको भन्दै शिक्षक विद्यार्थीलाई कोरोना विरुद्धको खोप सुनिश्चित गरी स्वास्थ्य मापदण्ड पुरा गरेर विद्यालय सन्चालन गर्ने वातारण तयार गर्न माग गरेका हुन् । शिक्षकहरुले न्युनतम तलवमा काम गरिरहेका वालविकास शिक्षक र विद्यालयका कर्मचारीलाई विद्यालयमा दरवन्दी कायम गरी प्रवन्ध गर्न समेत माग गरेका छन् ।
नेपालमा विगतदेखि राहत शिक्षकको रुपमा काममा खटाइएका शिक्षकहरुको उमेरको हदका कारण शिक्षक सेवा आयोगको विज्ञापनमा स्थायी शिक्षकको आवेदन दिन बन्चित भएको र शिक्षण पेशाबाटै हात धुनुपर्ने अवस्था आएकोले यथासिघ्र विज्ञापन सच्चाई परिक्षामा सहभागी बन्ने वातावरण मिलाउन पहल गरिदिन प्रदेश सरकारका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
यसैगरी शिक्षक संगठनले शिक्षा सेवालाई थप मर्यादित र सम्मानयुक्त बनाउन अन्य कर्मचारी भन्दा शिक्षकहरुको सेवा सुविधा कम्तीमा १० प्रतिशतले बढि हुनुपर्ने व्यवस्था प्रवन्ध गर्न नेपाल सरकार समक्ष पहल गर्न र शिक्षा क्षेत्रमा प्रदेशको कुल बार्षिक बजेटको २० प्रतिशत रकम बिनियोजन गर्न प्रबन्ध गर्न समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गरेका छन् । विगतदेखि कक्षा ११ र १२ तथा प्राविधिक धारका अनुदानमा नियुत्ति गरिएका शिक्षक प्रशिक्षकहरुका समस्यालाई उचित सुनुवाई गरि सेवा स्थायित्वको प्रवन्ध मिलाउन समेत शिक्षकहरको माग छ ।
संगठनले प्रदेश एक सरकारले विगतमा सन्चालन गरेको विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रम प्रभावकारी भएकाले त्यसको निरन्तरताको समेत माग गरेको छ । प्राविधिक शिक्षा प्रतिको रुचि विद्यार्थी र अभिभावकको रुचि समेत बढेकाले सर्वसुलभ पहुच पुर्याउन प्राविधिक धारका विद्यालयहरु थप गरी प्राविधिक शिक्षा सोझै प्रदेश सरकारले सञ्चालन गर्न तराईका विद्यालयमा विद्यालय बस सन्चालन गर्न र पहाडी र हिमाली विद्यालयमा आवाशीय सुविधा भएका विद्यालय बनाउन माग गरिएको छ ।
शिक्षकहरुलाई पनि प्रदेश तथा स्थानीय तहमा समायोजनमा भएका कर्मचारीलाई जस्तै एक तह बढुवाको प्रवन्ध लागु गर्न र शिक्षकहरुलाई पनि निजामति कर्मचारी सरह पर्यटन काजको व्यावस्था गर्न र प्रदेश स्तरमा शिक्षकहरुको तहगत रुपमा बढुवाको विशिष्ट श्रेणीको व्यावस्था गर्न साथै दीर्घसेवी शिक्षकहरुलाई निजामति सरह ग्रेड संख्या समायोजन गर्न प्रवन्ध गर्न शिक्षकहरुको माग छ ।