एघार नोभेम्बरका कथाहरूमा लाहुरे समाजको चित्रण

  • पुष २४, २०७७
  • राजेश विद्रोही
alt

उठान 

यो लेखएघार नोभेम्बरकथा सङ्ग्रहमा सङ्कलित कथाहरूमा प्रस्तुत सामाजिक पर्यावरणको विश्लेषणमा केन्द्रित छ । यस लेखमा एघार नोभेम्बरका कथाहरू र समाजको सम्बन्धलाई केलाउने प्रयास गरिएको छ । यस सङ्ग्रहमा सङ्कलितअधिकांश कथाहरूले‘लाहुरे–जीवन’ को अँध्यारो पाटोलाई देखाएका छन् । विपन्नताका कारण विदेशी सेनामा भर्ती हुन बाध्य नेपाली नागरिकहरूको सामाजिक पर्यावरण र तिनका पीडालाई उजागर गर्ने यी कथाहरूले तिनका सङ्घर्ष र विवशतालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । कतिपय कथामा सहरिया सामाजिक पर्यावरणको चित्रण गरिएको छ । विपन्न समुदायका बालबालिकाहरूको दयनीय र कारुणिक जीवनको चित्रण, नेपाली समाजमा व्याप्त शासकीय अव्यवस्था र जातीय पहिचानप्रतिको श्रद्धाभावलाई प्रस्तुत गर्न कथाकारले नेपाली ग्राम्य र सहरी क्षेत्रको सामाजिक पर्यावरणलाई माध्यम बनाएका छन् । नेपाली समाजमा स्थापित लाहुरे–संस्कृति र यसले सामाजिक जीवनमा पारेको नकारात्मक प्रभावलाई सङ्ग्रहका कथाहरूले उद्घाटन गरेका छन् ।

विषयप्रवेश

काङमाङ नरेश राई नेपाली साहित्यमा परिचित नाम हो । ‘युद्ध साहित्य’ मार्पmत् आफनो पहिचान स्थापित गरेका राईले पहिचानवादी नेपाली साहित्यको उन्नयनमा पनि योगदान दिएका छन् । लेखनको माध्यमबाट पहिचानको मुद्दालाई विशेष महत्त्व दिने साहित्यकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरी उनले ‘पहिचान पुरस्कार कोष’ नै स्थापना गरेका छन् । सन् २०१५ मा स्थापना गरिएको यो कोषले पहिचान गुमाएको समुदायका पक्षमा स्वर उराल्ने कृतिलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ । यस कोषको स्थापना गरेबाट पनि उनको पक्षधरता स्पष्ट हुन्छ । कोष स्थापना गरेर उनले पहिचानको पक्षमा शोध–अनुसन्धान र लेखनलाई प्रोत्साहन गरिरहेका छन् । सीमान्तीकृत समुदायका भाषा–संस्कृतिको जगेर्ना तथा तिनको विकास र प्रवद्र्धन हुनुपर्ने राईको मान्यता छ ।

युद्ध बोकेको सिताङ (२०६८) उपन्यासको लेखनबाट उनले आख्यान लेखनमा प्रवेश गरेका हुन् । त्यसपछि २०७१ मा उनको अर्को कृति खुकुरीको धारमा प्रकाशित भएको छ । यो कृतिमा दोस्रो विश्वयुद्धदेखि अफगान युद्धसम्म वीरतापूर्वक लडेका र गोर्खा पल्टनमा काम गरेका २४ जना गोर्खा–सिपाहीहरूको वीरता र पराक्रमको कथा समेटिएको छ । यही कृति अङ्ग्रेजीमा अनुवाद भएर फियरलेस वरिवर (सन् २०१५) को रूपमा बजारमा आएको छ । राई शोषित–उत्पीडित समुदायका पीडा र तिनका बाध्यताहरूलाई प्रस्तुत गर्ने स्रस्टा हुन् । उनका अधिकांश पात्रहरू विपन्न तथा दमित–उत्पीडित समुदायका छन् । कवितामा पनि उनी उत्तिकै सक्रिय छन् । कथा होस् वा उपन्यास अथवा कविता नै किन नहोस्, उनका रचनामा युद्धले मानव जीवनमा पारेका आघात र समाजमा छाडेका खतहरूलाई मार्मिक ढङ्गले देखाइएको हुन्छ । उनले युद्धले जीवनमा छाड्ने घाउहरूलाई आप्mना रचनामा जीवन्त रूपमा प्रस्तुत गर्ने अभिरुचि देखाएका छन् ।

एघार नोभेम्बर (२०७५) उनको सातौँ कृति हो भने यो उनको पहिलो कथा सङ्ग्रह हो । एघार नोभेम्बरका कथाहरूमा गोर्खा भर्ती र त्यसपछिका वास्तविक घटनाहरूको चित्रण गरिएको छ । यसमा नेपाली युवाका बाध्यता र तिनका सङ्घर्षपूर्ण जीवनलाई विषय बनाइएको छ । बेलायती साम्राज्यको विस्तारमा रगत र पसिना बगाएका गोर्खा सैनिकमाथि बेलायतले गरेको विभेदपूर्ण व्यवहार पनि यसमा विषय बनेर आएका छन् । युद्धले जीवनमा सिर्जना गर्ने अँध्यारा, कठिनाइ र संस्कृतिमा पार्ने प्रभाव उनका कथाहरूमा मुखर भएर आएका छन् । उनी युद्ध साहित्यका सर्जक मात्र होइनन्, अभियन्ता पनि हुन् । युद्ध साहित्यमार्पmत् उनी युद्धले सिर्जना गर्ने जटिलतालाई उजागर गर्छन् र यसको विपक्षमा अभिमत जाहेर गर्छन् । उनी आफैँ पनि बेलायती गोर्खा सैनिकको जीवनबाट सेवा निवृत्त भएका व्यक्ति हुन् । त्यसैले उनका कथाहरूमा उपस्थित कतिपय प्रसङ्ग र दृश्यहरू उनी आफैँले भोगेका वा नजिकबाट अनुभव गरेका होलान् । आफैँ सैनिक भएर पनि उनी युद्धको विपक्षमा छन् । उनको यो नयाँ कथा सङ्ग्रहमा सङ्कलित कथाहरूले पनि प्रकारान्तरले युद्धकै कथा भन्छन् । यी कथाहरूले युद्धले सिर्जना गर्ने अँध्यारो पक्षलाई सुन्दर ढङ्गले देखाएका छन् । यी कथाहरूमा नेपाली समाज र नेपाली समाजकै एउटा अभिन्न अङ्ग बनेको लाहुरे समुदायको जीवनशैली र भोगाइलाई चित्रण गरिएको छ । समय र परिस्थितिका अगाडि विवश र लाचार पात्रहरूमार्पmत् नेपाली समाजको चित्र प्रस्तुत गर्नु यी कथाहरूको मुख्य वैशिष्ट्य हो । १७२ पृष्ठमा फैँलिएको यस कृतिमा तक्मा, कान्ते अर्थात् क्रान्तिसिं, एक सेकेन्ड, ढङ्लङ बोजू, डिभोर्स, एघार नोभेम्बर र लुङ्टारिबुङ गरी जम्मा सातवटा कथाहरू छन् । यीमध्ये सबैभन्दा छोटो कथा एक सेकेन्ड १९ पृष्ठमा विस्तारित छ भने सबैभन्दा लामो कथा ढङ्लङ बोजू २७ पृष्ठमा फैँलिएको छ ।

एघार नोभेम्बरका कथाहरूमा प्रयुक्त सामाजिक पर्यावरण

आधुनिक समयमा आख्यान निकै लोकप्रिय विधा हो । यस समयमा आख्यानसँग सम्बन्धित कृति धमाधम प्रकाशित भइरहेका छन् र यी कृतिहरूले पाठक पनि पाइरहेका छन् । यसै क्रममा राईको कथासङ्ग्रह एघार नोभेम्बरपनिबजारमा आएको छ । यसमा सङ्गृहीत कथाहरूमा कस्तो सामाजिक पर्यावरण पाइन्छ भन्ने पक्षलाई यहाँ अध्ययनको विषय बनाइएको छ ।हरेक कथाको आप्mनै पर्यावरण हुन्छ । कुनै घटना, परिस्थिति वा विषयप्रति आफ्नो विचार वा दृष्टिकोण प्रस्तुत गर्न कथाकारले कथाको रचना गर्छ । यसका लागि कथाकारले कथामा कुनै न कुनै देश, काल र वातावरणको चित्रण अवश्य गर्छ । कथाको विषयअनुसार कथामा सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिकजस्ता विविध पर्यावरणको चित्रण गरिएको हुन्छ र त्यस पर्यावरणको स्वाभाविक प्रस्तुतिका लागि कथाकारले उपयुक्त पात्रको छनोट गरेको हुन्छ । पात्र उपयुक्त नभएमा आप्mनो पर्यावरणलाई स्वाभाविक रूपमा प्रस्तुत गर्न कथा असफल हुन्छ । एघार नोभेम्बर कथा सङ्ग्रहमा सङ्कलित कथाहरूको पनि आप्mनै पर्यावरण छ । यी कथाहरूमा अभिव्यक्त सामाजिक पर्यावरण र चित्रित पर्यावरणमा पात्रहरूको प्रयोगलाई यहाँ विश्लेषण गरिएको छ । एघार नोभेम्बर कथा सङ्ग्रहमा सङ्गृहीत कथाहरूमा चित्रित सामाजिक पर्यावरणको खोजी र यस्तो सामाजिक पर्यावरणको प्रस्तुतिमा प्रयुक्त पात्रहरूको विश्लेषण यहाँ गरिएको छ :

सैनिकका विधवाहरूको पीडादायी जीवनको प्रस्तुति

कथाकार राई आफैँ पूर्वसैनिक भएका कारण सैनिक जीवन र सैनिक परिवारका सदस्यले भोग्नुपर्ने मानसिक आघातलाई उनले राम्ररी बुझेका छन् । उनका कथामा सैनिक–विधवाहरूको पीडादायी जीवनको जीवन्त प्रस्तुति पाइन्छ । आर्थिक रूपमा सम्पन्न र सुखी देखिने सैनिक परिवारका विधवाहरूले भोग्नुपर्ने चुडान्त पीडालाई कथाकार राईले मार्मिक शैलीमा प्रस्तुत गरेका छन् । गोर्खा समुदायमा यस्ता विधवाहरू प्रशस्त पाइन्छन् । युवा उमेरमै लडाइँमा ज्यान गुमाएका गोर्खा–सिपाहीका दुःखी विधवाहरू थुप्रै छन् । यस्ता महिलाहरूले भोग्नुपर्ने भावनात्मक एक्लोपन र यो एक्लोपनबाट सिर्जना हुने पीडाको गहिराइलाई कथाकारले आफ्ना कथाहरूमा प्रस्तुत गरेका छन् । सैनिक–विधवाहरूको पीडालाई व्यक्त गर्ने दुईवटा कथाहरू यस सङ्ग्रहमा छन् : ढङ्लङ बोजू र एघार नोभेम्बर ।

ढङ्लङ बोजू कथाकी मुख्य पात्र ढङ्लङ गुरुङ हुन् । बेलायती गोर्खा सैनिक कुलमान गुरुङले पहिलो छुट्टीमा नेपाल आउँदा ढङ्लङसँग बिहे गरे तर कुलमानले अल्पायुमै जीवन गुमाउनु प¥यो । हङकङमा सीमा सुरक्षामा खटिएका बेला गैरकानुनी रूपमा हङकङको सीमाभित्र प्रवेश गरेको चिनियाँ नागरिकको छुरी प्रहारबाट उनले ज्यान गुमाउनु प¥यो । त्यसपछि लामो जीवन ढङ्लङले एक्लै बिताउनु प¥यो । ‘लोग्नेको मृत्यु हुँदा ढङ्लङको साथमा थियो–तीन वर्षीय छोरो । थपमा थिए–एक टिल सुन, पन्ध्र तोला चाँदी र भर्भराउँदो जवानी’ (पृ. ८६) । साहित्यकार बाँचेको युगका सामाजिक समस्या, सांस्कृतिक मान्यता र विश्वासलाई समग्र रूपमा पर्यावरण भनिने मोहनराज शर्मा र खगेन्द्र लुइटेलले आफ्नो पुस्तक पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त (चौथो सं., २०७२) मा प्रस्ट्याएका छन् । कथामा माथिको प्रसङ्ग आउनुको कारण थाहा पाउन हिप्पोलाइट एडोल्फ टेनको सिद्धान्तलाई बुभ्mनु आवश्यक छ । प्रत्येक साहित्यकारले जन्मेदेखि नै आफ्ना वरपरको पर्यावरणबाट प्रभाव ग्रहण गर्ने र यी प्रभावहरू पछि उसका साहित्यमा अभिव्यक्त हुने टेनले उल्लेख गरेका छन् । प्रस्तुत कथामा पनि कथाकार राईले आफूले जानेको, भोगेको लाहुरे समुदायको सामाजिक पर्यावरणलाई चित्रण गरेका छन् ।

कथाकार राई हुर्किएको समाजको सामाजिक परिवेशमा पनि गोर्खा–सिपाहीहरूका सुख–दुःख र हर्ष–विस्मात् व्याप्त छ । उनले सैनिकका विधवाहरूको पीडादायी जीवनका कथा–व्यथा बाल्यकालदेखि नै सुनेका र देखेका छन् । त्यही सामाजिक पर्यावरणको प्रभाव उनको लेखनमा परेको छ । जीवितै छँदा पनि ढङ्लङले लामो समय लोग्नेसँग बस्न पाइनन् । लोग्नेको मृत्यु भएपछि त झन् उसले कहालीलाग्दो जीवन बाँच्नु प¥यो । ढङ्लङले लोग्नेको पेन्सन पनि पाइनन् । सुन र चाँदी बेच्दै छोरा ताइमोसानलाई पढाइन् । युवा वयमै विधवा भएर कहालीलाग्दो एक्लो जीवन बिताउन बाध्य सैनिक–पत्नीहरू नेपालमा थुप्रै छन् । नेपाली समाजको यो डरलाग्दो सत्य कथामा प्रस्तुत भएको छ । गोर्खा भर्ती नेपाली समाजमा संस्कृतिकै रूपमा स्थापित भयो । चम्किलो इज्जत बोकेको लाहुरे–संस्कृतिले नेपाली समाजको छातीमा छाडेका गहिरा घाउहरू भने सधैँ छायाँमै रहे । लुकेका तिनै पीडादायी घाउहरूलाई कथाकार राईले आफ्ना कथामा उनेका छन् ।

ढङ्लङ बोजू पनि युवा वयमै विधवा भइन् । उनको अन्तर्हृदयले नचाहे पनि छोरा ताइमोसान गोर्खा सैनिकमै भर्ती हुन्छ । उनको जीवनमा छोराबुहारीबाहेक कोही छैन । विवश भएर एक दिन छोरालाई पछ्याउँदै ढङ्लङ बोजू पनि बेलायत पुग्छिन् । जीवनका अन्तिम दिनहरू बेलायतमै बिताएकी ढङ्लङ बोजूले आफ्नो जीवनको अन्तिम सास पनि उतै फेर्छिन् । अपरिचित भूमिमा पुगेर ज्यान गुमाउनुपर्ने अवस्था गोर्खा–सैनिकका लागि स्वाभाविक हुने गर्छ र यो दुःख भोग्नुपर्ने अवस्था तिनका आफन्तहरूको जीवनमा पटक–पटक आउँछ । गोर्खा समुदायका सदस्यहरूले यस्तो परिस्थिति आफ्नो समुदायमा अनेकौँपटक देखेका छन् । कथाकार राईले यही सामाजिक यथार्थलाई कथाको रूप दिएका छन् । लाहुरे–समाजको यो पीडा उनका कथामा प्रभावकारी रूपमा आएको छ ।

सैनिक–विधवाको मर्मान्त पीडा अभिव्यक्त गर्ने यस सङ्ग्रहको अर्को कथा हो – एघार नोभेम्बर । यो शीर्षकथा पनि हो । यसै कथाको शीर्षकबाट सङ्ग्रहको नामकरण गरिएको छ । सन् १९९९ को जुन २१ मा बम निष्क्रिय बनाउने क्रममा कोसोभोको वेस्ट अफ प्रिस्टिनामा वीरगति प्राप्त गरेका सार्जन्ट राईकी विधवा अनन्तालाई केन्द्रमा राखेर यो कथा बुनिएको छ । यो यथार्थ घटना हो । सत्य घटनालाई नै राईले आख्यानीकरण गरेका छन् । सार्जन्ट राईको निधन हुँदा अनन्ता २८ वर्षकी थिइन् । यो युवा वय नै हो । छोराछोरीका साथ उनले अब लामो जीवन पतिको अभावमै बिताउनुपर्ने अवस्था आएको छ । जीवनको यति लामो समय पतिको अभावमा एक्लै बिताउनुपर्ने र छोराछोरीको अभिभारा पनि बोक्नुपर्ने अवस्था नेपाली नारीहरूका लागि कल्पना गर्नसमेत कठिन हुने अवस्था हो तर अनन्ताले यो परिस्थितिको सामना गरिन् । यसले लाहुरे–समाजको एउटा पाटोलाई देखाएको छ ।

कथामा ‘म’ पात्रका रूपमा उपस्थित हितबहादुर पनि गर्भेटुहुरो हो । ऊ गर्भमै छँदा बर्माको लडाइँमा गएका उसका बाबु फर्किएर आएनन् । उनी जीवित छन् वा मरिसके भन्ने दोधारमा उनकी आमाले ७० वर्ष बिताइन् । हितबहादुर भन्छ, ‘७० वर्ष पर्खनुभयो आमाले । दिनहुँ बाटो र भञ्ज्याङ हेरिरहनुहुन्थ्यो । उही आशाको त्यान्द्रोले उही बाटो र भञ्ज्याङ हेर्दाहेर्दै घरको सिकुवामै पोहोर साल आमाको चोला उठ्यो’ (पृ. १३७) । ८६ वर्षको उमेरमा उनले प्राण त्याग गरेको आधारमा के बुझन सकिन्छ भने पति बर्माको लडाइँमा जाँदा उनी १६ वर्षकी थिइन् । एउटा छोरालाई काखमा च्यापेर एउटी महिलाले पतिको सम्झनामा यति लामो समय बिताएको घटना कम हृदयविदारक छैन तर जतिसुकै पीडादायी र अकल्पनीय भए पनि यी कथा हाम्रै समाजका हुन् । ‘लाहुरे’ का पत्नीहरूले यो पीडा चुपचाप सहेकै हुन् र अहिले पनि सहिरहेकै छन् । लाहुरेका पत्नीहरूको जीवनको यो पाटो राईका कथाका माध्यमबाट प्रस्तुत भएको छ ।

बेलायती सानका लागि गोर्खा सैनिकले दिएको योगदानको अभिव्यक्ति

बेलायती सेनाको प्रतिष्ठा र सानको संरक्षणमा गोर्खा सैनिकले दिएको योगदानको विषयलाई प्रस्टसँग भन्ने कथा तक्मा हो । तक्मामा ५७ डिग्रीसम्म तापक्रम पुग्ने अफगानिस्तानको तातो मरुभूमिमा अत्याधुनिक हतियारधारी तालिवानी लडाकुबाट घेरिएको बेलायती सेनालाई गोर्खा सैनिक आनन्दले ज्यानको बाजी थापेर बँचाएको कथा उल्लेख छ । मृत्युकै मुखमा पुगेर पनि उसले अत्यन्तै धैर्य र साहस प्रदर्शन गरेको छ । तालिवानी लडाकुहरूको घेरामा परेको ‘विमिक’ (सैनिकले प्रयोग गर्ने एक प्रकारको सवारी साधन) लाई उसले नफर्काएको भए ऊ मात्र होइन, उसका साथीहरू पनि जीवित फर्किने थिएनन् किनभने हवाई सहयोग माग्न सञ्चारका लागि चाहिने ‘रेडियो’ विमिकमै छुटेको थियो । गोलीको निरन्तर वर्षाको बीचमा विमिक फर्काएर ल्याउने काम कम जटिल थिएन तर आनन्दले यो काम गर्छ । कसैले पत्याएको थिएन । त्यहाँ अर्का गोर्खाली सैनिक किरणले पनि ठूलो पराक्रम देखाएको थियो । आनन्दलाई विमिकसम्म पुग्ने वातावरण बनाउन उसले तालिवानपट्टि गोली चलाएको थियो । त्यसैले त गोरा अफिसरले आनन्द र किरणलाई बहादुरीको तक्मा दिलाउने आश्वासन दिएको थियो तर उनीहरूले तक्मा पाएनन् ।

जीवन र मृत्युका बीच थोरै मात्र दुरी भएको त्यो समय अत्यन्तै भयानक थियो । त्यस बेला आनन्दको मनमा विचारका अनेक तरेलीहरू आउँछन् । ‘भर्ती लागेर गल्ती गरेछु आमा । मेरो मृत्युपछि क्षतिपूर्तिबापत् धेरै पैसा अवश्य पाउनुहुन्छ । त्यसको अंशियारी हुनेवाला बुहारीलाई पनि बनाउनुहोला’ (पृ. २२) । यो, जीवनको अन्तिम क्षणमा आउने सोचाइ हो । अब आप्mनो जीवनको अन्त्य हुँदैछ भन्ने निश्चित भएपछि मनमा यस्तो विचार आउँछ । कथाको पात्र आनन्द यस्तै क्षणबाट गुज्रिएको छ । यस्तो अवस्थाको वर्णन कथाकारले निकै प्रभावकारी ढङ्गले गरेका छन् । सार्जन्ट राईले पनि कोसोभोमा ज्यान गुमाए, जसको वर्णन एघार नोभेम्बर कथामा गरिएको छ । डिभोर्स कथाको पात्र डम्बरले पनि सैनिक तालिमकै क्रममा लागेको चोटका कारण देब्रे खुट्टामा जीवनभरि पीडा खपिरहनुपर्छ । दोस्रोपटकको शल्यक्रियामा कमजोरी हुँदा उसको खुट्टा बिग्रिन्छ ।

गोर्खा सैनिकहरूको यस्तै वीरता, पराक्रम र शौर्यका कारण बेलायती साम्राज्यको विस्तार र उसको राष्ट्रियताको संरक्षण सम्भव भएको हो । बेलायती सेनाको प्रतिष्ठा र गौरवलाई उँचो बनाउने पनि गोर्खा सैनिकहरू नै हुन् । गोर्खालीहरूकै कारण उसको सेनाको शक्ति बढेको हो । गोर्खा सैनिकहरूको यही पराक्रम र शौर्यका गाथा थाहा पाउन पनि यी कथाहरू पढ्नु आवश्यक छ । बेलायती राष्ट्रियता र प्रतिष्ठाको जगेर्नामा गोर्खाली सैनिकले दिएको योगदान यी कथाहरूका माध्यमबाट सहजै बुझन सकिन्छ । यी कथाहरूमा बेलायती राष्ट्रियता र प्रतिष्ठाको जगेर्नामा गोर्खाली सैनिकहरूले महत्त्वपूर्ण योगदान दिए पनि तिनले र तिनका परिवारले बेलायती सरकारबाट पर्याप्त सहानुभूति वा सम्मान प्राप्त गर्न नसकेको अवस्था देखाइएको छ ।

गोर्खा सैनिकका आफन्तहरूको कहालीलाग्दो जीवनको सजीव वर्णन

बाहिरबाट सुखी, सम्पन्न र उज्यालो देखिने गोर्खा सैनिकका आफन्तहरूको जीवनको अँध्यारो पाटोलाई कथाकार काङमाङ नरेश राईले आफ्ना कथामार्फत् सुन्दर ढङ्गले देखाएका छन् ।

गोर्खा सैनिकका आफन्तहरूले जीवनमा भोग्नुपर्ने पीडा र विवशतालाई उनले कथाका विषय बनाएका छन् । सङ्ग्रहका अधिकांश कथामा यो भाव मुखरित भएको देखिन्छ । जीवनको सञ्चालनमा पैसाको भूमिका नहुने होइन तर पैसाले मात्र पनि जीवन चल्दैन । भावनात्मक साथ र प्रेमिल स्पर्श सुखद् जीवनका लागि महत्त्वपूर्ण पक्ष हो । राईले आफ्ना कथामा गोर्खा सैनिकका आफन्तहरूले यही भावनात्मक साथ र प्रेमिल स्पर्शको अभावमा कसरी निरस र उदास जीवन बिताइरहेका छन् भन्ने यथार्थलाई पस्किएका छन् । यो पनि कुनै काल्पनिक कथा होइन । नेपाली समाजकै एउटा अभिन्न पाटो हो ।

सङ्ग्रहका कथाहरू तक्मा, एक सेकेन्ड, ढङ्लङ बोजू, डिभोर्स र एघार नोभेम्बरमा गोर्खा सैनिकका परिवारहरूका उज्याला घरहरूभित्र लुकेका अँध्यारा कोठाहरूको चित्र कोरिएको छ । ती भव्य घरका अँध्यारा कोठाहरूमा गोर्खा–परिवारका सदस्यहरूले बिताउने बोझिल, उदास र अश्रुमिश्रित समयको अनुहार यी कथाहरूमा स्पष्ट रूपमा देख्न सकिन्छ । तक्माका आनन्द लडाइँमा जान्छ । नेपालमा उसकी प्रेमिका लडाइँमा गएको आफ्नो प्रेमीलाई सम्झिएर रुन मात्र सक्छे । ऊ आफ्नो प्रेमीलाई लडाइँमा जानबाट रोक्न सक्दिन । लडाइँमा जानुभन्दा पाँच घण्टाअघि आनन्दले आफ्नी प्रेमिका आशालाई फोन गर्छ । त्यस क्रममा आशा रुँदै भन्छे, ‘राम्रो जानुहोस् । जस्तो जाँदै हुनुहुन्छ, त्यस्तै फर्कनुहोस् । केही नहुनू । हुन्छ मेरो प्यारो मान्छे ?’ (पृ. ११) । प्रेमी फर्किएर आउँछ कि आउँदैन, कुनै टुङ्गो छैन । आशाको यो भनाइले उसको मनमा भएको अनिश्चयको त्यही भावलाई सङ्केत गर्छ । आनन्दकी आमाको अवस्था पनि उस्तै छ ।

एक सेकेन्डकथामा पनि उस्तै परिस्थितिको सिर्जना भएको छ । देशमा चर्किएको माओवादी द्वन्द्वबाट मुक्ति खोज्दै बेलायती सैनिकमा भर्ती भएको कथाको ‘म’ पात्र (हरि) ले एउटा विस्फोटमा दुवै खुट्टा गुमाउँछ । नेपालबाट श्रीमती र छोरा बेलायत पुग्दा ऊ खुट्टाविहीन थियो । तीन–चार हप्ताअघि सद्दे अवस्थामा गएको लोग्नेलाई यो अवस्थामा देख्दा श्रीमतीको हृदयमा कस्तो आघात प¥यो होला ? कल्पना मात्र गर्न सकिन्छ । कथामा यो अवस्थाको वर्णन यसरी गरिएको छ, ‘धेरै समय श्रीमतीसँग आँखा–आँखाले मात्र संवाद ग¥यौँ ।........मेरो अवस्था देखेर उनी कस्तो भइन् होला ? बोल्ने र व्याख्या गर्ने शब्द नै छैन यो बेला पनि’ (पृ. ७१) । गोर्खा सैनिककी श्रीमती र आफन्तले भोग्नुपर्ने यो पीडा अवर्णनीय छ ।

यही नियतिको वर्णन ढङ्लङ बोजूमा पनि छ । कथाकी पात्र ढङ्लङ बोजू अर्थात् ढङ्लङ गुरुङ आफैँ पीडित पात्र हुन् । छोरा तीन वर्षको हुँदा लोग्नेको मृत्यु भयो । पेन्सन पनि नपाएपछि दुःखजिलो गरेर छोरालाई हुर्काइन् । छोरा बेलायती सेनामा भर्ती भएपछि छोरालाई पछ्याउँदै उनी पनि बेलायत पुगिन् । त्यहाँ पनि एक्लो र उराठलाग्दा दिनहरू बिताइन् । ‘छोराबुहारी, नाति–नातिनीबाहेक चिनेका कोही थिएनन् । छोराबुहारी झोला बोकेर कामतिर जाने । नाति–नातिनी स्कूल । दिनभरि सोफामा बस्दा जीउ कुँजिएजस्तो लाग्थ्यो’ (पृ. ८८) । ढङ्लङले जीवनको अन्तिम सास बेलायतमै फेरिन् । यो कथामा अन्य वृद्धवृद्धा पनि छन् । उनीहरूले पनि बेलायतमा यस्तै एकाङ्की र निरस जीवन बिताइरहेका छन् । बयसकुमारी राई र धनमान राई यस्तै पात्र हुन् । उनीहरूले पनि त्यहाँ एकाङ्की जीवन बिताउनु परेको छ । बयसकुमारी भन्छिन्, ‘उता गाउँमा चैँ युके गाको छ भन्छ । यता चैँ दिन कटाउनु गारो भो नई’ (पृ. ९०) । उनीहरू रहरले बेलायत नगएको प्रस्ट हुन्छ ।

डिभोर्स र एघार नोभेम्बरपनि गोर्खा–परिवारका सदस्यहरूको लाचार जीवनको सत्यलाई उदाङ्गो पार्ने कथाहरू हुन् । डिभोर्स कथाका मुख्य पात्र डम्बरको खुट्टामा चोट लागेको छ । उनी हप्ता दिनकी सुत्केरी पत्नीलाई छोडेर बेलायत पुगेको तीन दिन भएको छ । डम्बरकी सुत्केरी पत्नी अन्तराको घाउमा सङ्क्रमण भएको छ । यस्तो बेलामा हरेक महिलाले आप्mना श्रीमान् आपूmसँगै भएको चाहन्छिन् तर अन्तराको यो चाहना पूरा हुन सकेन । अन्तराको घाउमा सङ्क्रमण भएको छ तर लाजले गर्दा उसले यो कुरा सासूलाई भन्न सकेकी छैन । एघार नोभेम्बरमा पनि यस्ता पीडित पात्रहरू प्रशस्त छन् । सार्जन्ट राईकी विधवा यस्तै पीडित पात्र हुन् । उनले २८ वर्षको हुँदा श्रीमान् गुमाइन् । अब उनले लामो जीवन श्रीमान्को प्रेम र मायालु साथको अभावमा बिताउनुपर्ने भएको छ । सार्जन्ट राईका वृद्ध मातापिता पनि पीडित छन् । तन्नेरी छोराको असामयिक मृत्युलाई सहनु सजिलो कहाँ होला र ? यसै कथाको अर्को पात्र हितबहादुरले आप्mना बाबुलाई देख्न पाएन । ऊ गर्भमै छँदा बर्माको युद्धमा गएका बाबु फर्किएर आएनन् । उसकी आमाले ७० वर्ष आफ्ना श्रीमान्लाई पर्खिएर बिताइन् ।
यी हाम्रै समाजका कथा हुन् । हाम्रै समाजको छातीमा लागेका पीडादायी घाउहरूलाई राईले कथा मार्फत् प्रस्तुत गरेका छन् । यी कथाहरू पढ्दा लाहुरे–परिवारका पीडाको चित्र सजीव भएर देखिन्छ ।

गोर्खा सैनिकको एक्लो जीवनको चित्रण

गोर्खा सैनिकले परिवारबाट एक्लिएर कसरी असहज जीवन बिताउनुपर्छ भन्ने यथार्थ सङ्ग्रहका कथाहरूमा पढ्न पाइन्छ । गोर्खा सैनिकहरूले आप्mनो परिवारका अन्य सदस्यहरूबाट मात्र होइन, श्रीमतीबाट पनि टाढिएर कष्टकर जीवन बिताउनु परेको यथार्थ कतिपय कथामा पाइन्छ । यस्तो प्रसङ्ग यस सङ्ग्रहको डिभोर्स कथामा निकै बिझाउने गरी प्रस्तुत गरिएको छ ।
कथाका मुख्य पात्र डम्बरको देब्रे खुट्टाको शल्यक्रिया गर्नुपर्ने हुन्छ तर अस्पतालमा स्याहारसुसार गर्ने उनको कोही आफन्त त्यहाँ हुँदैन । उनले अस्पतालका चिकित्सक र नर्सकै भरमा त्यति ठूलो शल्यक्रिया गराउनुपर्छ । सात दिनको सुत्केरी अवस्थाकी श्रीमतीको सम्झनामा हराउँदा हराउँदै उनी अस्पतालमै निदाउँछन् । यो क्षण निकै पीडादायी देखिन्छ । शल्यक्रियापछि उनलाई नर्मल कोठामा ल्याइन्छ । छेउको बेडमा स्थानीय एकजना इभान (ब्रुनाईको आदिवासी) पनि घुँडाको शल्यक्रिया गराएर बसेको छ । उसका आफन्तहरू स्याउ, अङ्गुर र सुन्तला बोकेर उसलाई भेट्न आइरहेका छन् तर डम्बरलाई भेट्न आउने कोही छैन । इभानलाई रुङेर बस्ने एकजना आफन्त पनि छ तर डम्बरलाई रुङ्ने कोही छैन । यसले गोर्खा सैनिकको पीडालाई उजागर गरेको छ । बिरामी अवस्थामा परिवारबाट टाढा भएर अर्काको देशमा एक्लै बस्नु कति पीडादायी र कष्टकर हुन्छ भन्ने यो कथाले प्रस्ट पारेको छ । गोर्खा सैनिकले भोगेको यो यथार्थ कथाकार राईले नजिकबाट बुझेका हुँदा यो पीडा कथामा जीवन्त रूपमा अभिव्यक्त भएको छ । कथाकार राई गोर्खा समुदायकै सदस्य भएका हुँदा गोर्खा–सिपाहीका यस्ता कारुणिक क्षणलाई उनले नजिकबाट देखेका छन् वा कतिपय क्षण त उनी आफैँले भोगेका पनि छन् ।

गोर्खा सैनिकमाथि गरिएको विभेदको विरोध

बेलायती सेनामा संलग्न भएर बेलायती साम्राज्य विस्तार र बेलायती राष्ट्रियताको संरक्षणमा समान भूमिका निर्वाह गरेका गोर्खा सैनिकहरूमाथि बेलायत सरकारले गरेको विभेद सभ्य भनिएको आधुनिक समाजको अनुहारमा दलिएको एउटा कालो धब्बा हो । मानवअधिकार र लोकतन्त्रको आकर्षक कुरा गर्ने बेलायतले गोर्खा सैनिकहरूमाथि गरेको चरम विभेद अलोकतान्त्रिक मात्र होइन, मानवअधिकारविरोधी कार्य पनि हो । कथाकार काङमाङ नरेश राईले आप्mना कथाहरूमा बेलायतको यही सक्कली अनुहारलाई उदाङ्गो पारेका छन् । एउटै सेनाअन्तर्गत एउटै झन्डामुनि रही एउटै अनुशासन र नीतिको पालना गरेर एउटै रङको रगत बगाउने गोर्खा सैनिक र बेलायती नागरिकहरूबीच पारिश्रमिक, निवृत्तिभरण र अन्य सुविधामा गरिएको विभेद मानवताविरोधी अपराध हो । बेलायतले गरेको यही जघन्य अपराधलाई पनि उनले कथामा प्रस्तुत गरेका छन् ।

यो भाव सबैभन्दा टड्कारो रूपमा डिभोर्स कथामा प्रस्तुत भएको छ । परिवारबाट सात दिन छुट्टिँदा पनि बेलायती सैनिकले ‘सेप्रेसन एलाउन्स’ पाउने तर गोर्खा–सिपाहीहरू वर्षौंवर्ष परिवारसँग छुट्टिएर बस्दा पनि उनीहरूले केही नपाउने बेलायतको विभेदकारी नीतिलाई कथामा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ (पृ. १०५) । पराई भूमिमा खुट्टाको शल्यक्रिया गराउनुपर्ने अवस्थामा गोर्खा सैनिक डम्बरलाई आप्mनी सुत्केरी श्रीमतीको यादले खुब सताउँछ तर त्यहाँ श्रीमती हुँदिनन् । ‘विवाह भएपछि पनि आप्mनो जहानसँग एकै साथ बस्न नपाउने । यस्तो नियम संसारमा कतै होला ? .....पारिवारिक जीवन कसैको हुकुम र कसैले बनाएको नियममा बसाउनु र चलाउनुपर्ने । यो नियम बेलायती सेनामा गोर्खा–सिपाहीलाई मात्र किन’ (पृ. १०५) । यसरी यो कथामा बेलायती सेनामा गोर्खा–सिपाहीमाथि गरिएको चरम विभेदमाथि प्रश्न गरिएको छ ।

बेलायती विभेद तक्मा कथामा पनि अभिव्यक्त भएको छ । कथाका पात्र आनन्द र किरणले बहादुरीपूर्वक आफ्ना साथीहरूलाई बँचाउँछन् । यसबापत उनीहरूलाई तक्मा दिलाउने वचन गोरा अफिसरले दिएको हुन्छ तर उनीहरूले कहिल्यै पनि तक्मा पाउँदैनन् । हुन त उनीहरूले तक्माको अपेक्षा गरेका हुँदैनन् तर गोरा अफिसर आफैँले यस्तो वचन दिएका हुन्छन् । ‘तर त्यो तक्मा कहाँ हरायो ? पन्ध्र वर्ष भयो, अभैm पनि पाउन सकिएको छैन’ (पृ. ३३) । यो पनि विभेदको एउटा चरम रूप हो । बेलायती सेनामा रहेर बेलायती साम्राज्यको विस्तार र उसको राष्ट्रियताको जगेर्नामा महत्त्वपूर्ण योगदान दिएका गोर्खा सैनिकमाथि बेलायती सरकारले गरेको विभेदलाई यी कथाहरूले प्रस्तुत गरेका छन् । यसबाट गोर्खा–सिपाहीको सामाजिक र व्यक्तिगत जीवनमा परेको प्रभावलाई यी कथाहरूले अभिव्यक्त गरेका छन् ।

ऐतिहासिक यथार्थको अभिव्यक्ति

यस सङ्ग्रहका कतिपय कथामा ऐतिहासिक यथार्थ पनि अभिव्यक्त भएका छन् तर यो ऐतिहासिक यथार्थ पनि गोर्खा सैनिककै जीवनसँग गाँसिएको छ । पहिलो विश्वयुद्धदेखि अफगान युद्धसम्म थुप्रै युद्धहरूमा गोर्खाहरूले रगत बगाएका छन् । ती युद्धहरूमा उनीहरू आफ्नो देशका तर्फबाट नभई अरूकै तर्फबाट लडे । शत्रुताको कुनै सम्बन्ध नभएका अपरिचित व्यक्तिहरूलाई शत्रुका रूपमा उनीहरूले प्रहार गरे । ती युद्धहरूमा देखाएको वीरता र पराक्रमकै कारण आज गोर्खा सैनिकको नाम संसारभरि नै इज्जतका साथ लिइन्छ । तिनै थुप्रै युद्धमध्ये पहिलो विश्वयुद्धका केही तथ्य एघार नोभेम्बर कथामा आएका छन् ।

प्रस्तुत कथामा पहिलो विश्वयुद्ध कसरी प्रारम्भ भयो र पप्पी डे किन मनाउन थालियो भन्ने वर्णन गरिएको छ । त्यस बेला युरोपका शक्तिशाली देशहरू दुई समूहमा विभाजित भएको चर्चा गर्दै कथामा बेलायतले सन् १९१४ को अगस्ट ४ मा युद्धको घोषणा गरेको प्रसङ्ग उल्लेख छ । त्यस बेला भारत बेलायती साम्राज्यअन्तर्गत नै थियो । त्यसैले बेलायती सेनाका नाममा गोर्खालीहरू भारतमा कार्यरत् थिए । ‘सन् १९१४ अक्टोबर महिनामा लाहोरबाट करिब आठ सय गोर्खा सैनिकहरू बेल्जियम पुगेको थियो’ (पृ. १४२) । त्यस विध्वंशक युद्धमा २० हजारभन्दा बढी गोर्खालीहरूले ज्यान गुमाएको इतिहासविद्हरूको अनुमान भए पनि वास्तविक तथ्याङ्क कतै छैन । त्यस युद्धमा वीरगति पाएका गोर्खालीहरूका नाम बेल्जियमको मेनिनगेटमा लेखिएका भए पनि त्यहाँ तिनका नाम भारतीय सेनाका रूपमा उल्लेख गरिएको प्रसङ्ग कथामा आएको छ । यसरी गोर्खालीहरू त्यस युद्धमा परिचयविहीन भएर ज्यान गुमाउन बाध्य भएको ऐतिहासिक यथार्थ कथामा प्रस्तुत भएको छ ।

त्यो त्रासद् युद्धमा वीरगति पाएका सिपाही र निर्दोष नागरिकहरूको रातो रगतबाट रातो रङका पप्पी फूलहरू फ्रेन्डर्सफिल्ड्सलाई ढाकेर उम्रिएको मिथक अहिले पनि प्रचलित छ । सन् १९१८ को नोभेम्बर ११ मा पहिलो विश्वयुद्ध अन्त्य भयो । त्यसै कारण युद्धमा जीवन गुमाउनेहरूको सम्झनामा हरेक वर्ष नोभेम्बर ११ मा ११बजेर ११ मिनेट ११ सेकेन्ड जाँदा पप्पी फू ल चढाएर दुई मिनेट मौनधारणा गरी पप्पी डे मनाउने गरिएको प्रसङ्ग कथामा वर्णित छ (पृ. १४३) । पप्पी डे संसारभरि मनाइन्छ, धरानमा पनि मनाउने गरिन्छ । कोसोभोमा ज्यान गुमाउने सार्जन्ट राईको सालिक दुर्गाचोकमा स्थापना गरिएको छ । त्यसै स्थानमा पप्पी डे मनाउने गरिएको छ ।

कथाकार राई आफैँ अवकास प्राप्त गोर्खा सैनिक भएका कारण युद्ध र गोर्खा सैनिकसँग जोडिएका यथार्थको प्रस्तुतिमा उनको अभिरुचि देखिएको प्रस्ट हुन्छ । उनले आप्mना अन्य कथाहरूमा पनि यस्ता यथार्थ घटनाहरूको आख्यानीकरण गरेका छन् । कथाकार आफू  योद्धा भएकै कारण यस्ता घटनाहरूको वर्णन सजीव बन्न सकेको हो । कथाकार राईले यी ऐतिहासिक घटनाहरूको वर्णन तिनले गोर्खा–सिपाहीहरूको सामाजिक जीवनमा पारेको प्रभावलाई देखाउनका लागि गरेका छन् । त्यसैले यी ऐतिहासिक तथ्यहरूको सम्बन्ध गोर्खा–सिपाही र तिनका परिवारको सामाजिक जीवनसँग जोडिएका छन् । पहिलो विश्वयुद्धयता भएका अनेक युद्धहरूमा गोर्खा–सिपाहीहरूले भाग लिएका छन् । कयौँले ज्यान गुमाए, कयौँ अङ्गभङ्ग भए । यसको आधिकारिक तथ्याङ्क कसैसित छैन । युद्धमा ज्यान गुमाउने र अङ्गभङ्ग हुने असङ्ख्य गोर्खा सैनिकका परिवारहरूको अवस्थालाई बुझन यी कथाहरूले सहयोग गर्छन् ।

माओवादी द्वन्द्वले पारेको प्रभावको चित्रण

कथाकार राई नेपाली समाजकै सदस्य हुन् । त्यसैले विभिन्न विषय र घटनाले नेपाली समाजका विभिन्न पक्षमा पारेका प्रभावलाई उनले नजिकबाट देखेका र छामेका छन् । नेपाली समाजलाई गम्भीर रूपमा प्रभावित पार्ने एउटा यस्तै उल्लेखनीय घटना माओवादीको सशस्त्र सङ्घर्ष पनि हो । माओवादी सङ्घर्षको समयमा नेपाली समाजको अवस्था कस्तो थियो ?

बालबालिका र तिनका अभिभावकहरूले कस्तो सामाजिक–मानसिक परिस्थितिबाट गुज्रिनु प¥यो भन्ने यथार्थ पनि उनका कथामा अभिव्यक्त भएका छन् । माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव उनका कथामा टड्कारै देखिन्छ । माओवादी द्वन्द्वका बेला धेरै बालबालिकाले शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु प¥यो । ज्यानको सुरक्षा त्यति बेला सबैभन्दा ठूलो विषय बनेको थियो । ज्यान जोगाउने क्रममा सर्वसाधारणले भोग्नुपर्ने सास्ती कम्ती कहालीलाग्दो थिएन †
माओवादी द्वन्द्वको प्रभावलाई अङ्कन गर्ने दुईवटा कथा यसमा सङ्कलित छन् : कान्ते अर्थात् क्रान्तिसिं र एक सेकेन्ड । कान्ते अर्थात् क्रान्तिसिंविपन्न समुदायका बालबालिकाहरूको सङ्घर्षपूर्ण र कष्टकर जीवनको यथार्थलाई व्यक्त गर्ने प्रभावशाली कथा हो । कान्ते यस कथाको बालपात्र हो । उसैले भनेको छ, ‘राजा फाल्ने आन्दोलन हुँदा जन्मेको भन्थो आमाले । त्यै भर क्रान्तिसिं नाम राख्देको अरे काकाले’ (पृ. ४८) । उसको बाबु माओवादीमा संलग्न भएको, खुट्टामा गोली लागेर खोच्याउन थालेको तर माओवादीले वास्ता नगरेपछि उसले अहिले असहज जीवन बिताइरहेको क्रान्तिसिंले नै बताएको छ (पृ. ४८) । उज्यालो र समानतायुक्त जीवनको आशा बोकेर विपन्न समुदायका नागरिकहरू माओवादी आन्दोलनमा सहभागी भएका थिए तर तिनका आशा अधुरै रहे । नेताहरू त सत्तामा पुगे तर गरिबहरूको भागमा उही गरिबी र दुःख नै रहिरह्यो ।

यसबाट माओवादी द्वन्द्वले नेपाली समाजमा पारेको प्रभाव स्पष्ट हुन्छ । यो द्वन्द्वमा सरकार र विद्रोही पक्षबाट गरी झन्डै १७००० नागरिकहरूले ज्यान गुमाएको बताउने गरिएको छ । बेपत्ता नागरिकहरू पनि हजारौँ छन्, जसको अवस्थाबारे अहिले पनि यथार्थ जानकारी छैन । अङ्गभङ्ग भएर कयौँले दुःखद् र गुमनाम जीवन बिताइरहेका छन् । कान्ते अर्थात् क्रान्तिसिं कथाले नेपाली समाजको यही अँध्यारो पक्षलाई उजागर गरेको छ । नेपाली नागरिकहरूको सुन्दर भविष्य र समुन्नत समाजको सपना देखेर माओवादी आन्दोलनमा सहभागी भएका थुप्रै योद्धाहरू अहिले सहाराविहीन भएका छन् । तिनका नेताहरू सत्तामा पुगे पनि पार्टीले ती योद्धाहरूलाई बिर्सिएको छ । कथाले यही यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।

एक सेकेन्डपनि माओवादी द्वन्द्वको प्रभावलाई बोकेको अत्यन्तै मार्मिक कथा हो । यो कथा यस सङ्ग्रहकै सबैभन्दा शक्तिशाली कथा हो । सशस्त्र द्वन्द्वले व्यक्ति, समाज र राष्ट्रको जीवनलाई कसरी थिल्थिलो बनाउँछ भन्ने यथार्थलाई यो कथाले बडो गज्जबसँग भनेको छ । ‘म’ पात्रमार्फत् वाचित यस कथाले एक दशक (२०५२–२०६२) सम्म चलेको माओवादी सशस्त्र द्वन्द्वकालमा नेपाली ग्रामीण नागरिकहरूले भोग्नु परेको कहालीलाग्दो यथार्थलाई अत्यन्त सजीव ढङ्गले प्रस्तुत गरेको छ । त्यस समयको हृदयविदारक परिस्थिति ‘म’ पात्रको यो अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ, ‘मेरा माओवादी साथीहरू कोही जनयुद्धमा मरे । कोही घाइते भए’ (पृ. ५८) । कतिपयले बाल्यकालमै जीवन गुमाउनु परेको र कतिपय आफ्नो शरीरमा युद्धको घाउ बोकेर घाइते जीवन बिताउन बाध्य भएको यथार्थ यसबाट प्रस्ट हुन्छ ।

विद्रोही र सरकारी सेनाको चेपुवामा सर्वसाधारण नेपाली जीवन जोखिममा परेको थियो । यही जोखिमबाट मुक्ति पाउन बेलायती सेनामा भर्ती भएको ‘म’ पात्र बेलायती सेनामा सहभागी भएर अफगानिस्तान पुग्छ । अफगानिस्तानको मरुभूमिमा हिँडिरहँदा अचानक भएको विस्फोटनमा उसले आफ्ना दुवै खुट्टा गुमाउँछ र अनेक दुःख व्यहोर्न जीवन भने प्राप्त गर्छ । स्वदेशमा चलेको युद्धबाट जोगिन यहाँबाट भागेको ऊ कहिल्यै कल्पना पनि नगरेको भूमिमा घाइते हुन्छ । उसले भोगेको क्षण निकै पीडादायी छ । ‘म’ पात्र त प्रतिनिधि मात्र हो । त्यस बेला हरेक सर्वसाधारण नेपाली यस्तै पीडा भोग्न बाध्य थिए । कतिपयले अनाहकमा ज्यान गुमाए । कुनै पक्षमा सहभागी नभएका थुप्रै निर्दोषहरू युद्धको चेपुवामा परे ।

एक सेकेन्ड कथामा माओवादी द्वन्द्वको सग्लो चित्र प्रस्तुत भएको छ । तत्कालीन नेपाली ग्रामीण समाजको पीडा र भयमिश्रित अनुहार यो कथाले देखाएको छ । ‘माओवादीमा लागेका साथीहरू स्कूल पढ्न सकेनन् । स्कूल छाडेर फरार भए । लिबाङका मेरा क्लासमेट साथीहरूले युद्धमा शहादत प्राप्त गरे’ (पृ. ५९) । सशस्त्र द्वन्द्वका कारण बालबालिकाले आफ्नो बालापन गुमाए भने शिक्षाबाट पनि वञ्चित भए । कथाले नेपाली समाजको यो भयावह अवस्थालाई कलात्मक रूपमा उजागर गरेको छ । द्वन्द्वका कारण कतिपय अभिभावकले सन्तान गुमाए भने कयौँ बालबालिकाले अभिभावकको छहारी गुमाए । यसले पारेको प्रभाव नेपाली समाजमा दीर्घकालसम्म रहिरहने सङ्केत उनका कथाहरूले गरेका छन् । एक सेकेन्ड कथाको पात्र जीवनभरि अपाङ्ग जीवन बिताउन अभिशप्त भएको छ । यो पनि त्यही द्वन्द्वको परिणाम हो ।

विपन्न बालबालिकाहरूको दयनीय अवस्थाको चित्रण

कथाकार काङमाङ नरेश राईले देशको विपन्न समुदायका बालबालिकाहरूको दयनीय अवस्थाको चित्रणमा पनि रुचि देखाएका छन् । विपन्न समुदायका बालबालिकाहरूको दयनीय अवस्थाको चित्रण गरिएको यस सङ्ग्रहको कथा कान्ते अर्थात् क्रान्तिसिं हो । विपन्न समुदायका बालबालिकाहरूले माया र स्नेहविहीन अभावग्रस्त जीवन कसरी बिताइरहेका छन् भन्ने नेपाली समाजको यथार्थ यस कथाले भन्छ । पढ्ने चाहना भएर पनि उनीहरूले विद्यालय जाने अवसर पाउँदैनन् । आजका बालबालिका देशका भविष्य हुन् तर यो भविष्य कसरी परिस्थितिको सिकार बनिरहेको छ भन्ने कथाले बताएको छ । विपन्न समुदायका बालबालिकाले पढ्न पाएका छैनन्, बरु उनीहरूले पेट पाल्नका लागि सानै उमेरमा काम गर्नु परेको छ । मालिक र ठूलाहरूको गाली र हेपाइ सहेर उनीहरूले जीवन बिताउनु परेको छ ।

कथाको बालपात्र कान्ते (क्रान्तिसिं तामाङ) समाजबाट उपेक्षित पात्र हो । सिन्धुपाल्चोकको ऊ गरिबीकै कारण साथीसँग भागेर काठमाडौँ पुग्छ । बिरानो ठाउँमा निकै ठक्कर खान्छ ।कयौँ दिन भोकभोकै भौँतारिन्छ । मन्दिर र पेटीमा सुतेर रात बिताउँछ । बल्ल–बल्ल माइक्रो बसको खलासी भएको छ । त्यहाँ पनि ऊ पीडित छ । ड्राइभरले अश्लील गाली गर्छ, उचित पारिश्रमिक पनि पाएको छैन । बिहान ४ बजे नै उठ्नुपर्छ र अबेरसम्म काम गर्नुपर्छ । यसबापत् दिनको सय रुपैयाँ तलब र २० रुपैयाँ भत्ता पाउँछ । बेलुकाको खाना त्यही भत्ताबाट खानुपर्छ । तलब पनि साहुले दिनैपिच्छे दिँदैन, उसैले राख्छ । राति माइक्रोमा सुतेबापत महिनाको पाँच सय रुपैयाँ काट्छ । उसको दैनिकी निकै कारुणिक छ तर ऊ यसैमा सन्तुष्ट छ । उसले कुनै ठूलो सपना देखेको छैन । ऊ ड्राइभर बनेर गाडी कुदाउँदै गाउँ जान चाहन्छ । उसलाई कहिलेकाहीँ पढ्न पनि मन लाग्छ । उसले भनेको छ, ‘गाडीमा टाइ लगाएर हिँड्ने स्कूलेहरू देख्दा चैँ स्कूल जान मन लाग्छ’ (पृ. ४८) । तर परिस्थितिले उसलाई यो अवसर दिएको छैन । यो पीडा उसको मात्र होइन । कोही कान्छी आमाको दुव्र्यवहार सहन नसकेर होटल–रेस्टुरेन्टमा काम गर्न बाध्य भएको छ (पृ. ३६) । कोही फोहोरको डङ्गुर कोट्याएर कबाडी सामान खोज्न बाध्य छ (पृ. ४०) । उनीहरूले सफा लुगा लगाउन पाएका छैनन् । खुट्टामा चप्पल–जुत्ता छैन । बालबालिकाहरूको यो निकै कारुणिक अवस्था हो ।

देशका असङ्ख्य बालबालिकाहरू यही नियति भोग्न बाध्य छन् । देशमा लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्था छ । जनउत्तरदायी भनिने सरकार छ । बालबालिकाको स्थितिमा सुधार ल्याउने घोषित उद्देश्य बोकेका हजारौँ राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू छन् तर विपन्न समुदायका बालबालिकाहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आएको छैन । नेपाली समाजको यो पाटोलाई कथाले उजागर गरेको छ । विपन्न समुदायका बालबालिकाको जीवनमा परिवर्तन ल्याउनुपर्ने कुरा राजनीतिक दल, तिनका नेता तथा सरकारी÷गैरसरकारी सङ्घ–संस्थाले गरे पनि व्यवहारमा भने कुनै परिवर्तन नआएको सामाजिक अवस्थालाई कथामार्पmत् देखाइएको छ । कतिपय बालबालिकाले अभिभावकविहीन भएर सडक र पेटीमा कष्टकर जीवन बिताउनुपर्ने दुःखद् परिस्थिति कथामा आएको छ ।

नेपालमा व्याप्त शासकीय अव्यवस्थाको उद्घाटन

नेपालमा शासकीय अव्यवस्था छ, यसलाई सिद्ध गर्न कुनै तर्क वा उदाहरण आवश्यक छैन । देशमा व्याप्त शासकीय अव्यवस्था देख्न कुनै कठिन प्रयास पनि गरिरहनु पर्दैन । यहाँ जोकोहीले जताततै शासकीय अव्यवस्था देख्न सक्छ । कथाकार काङमाङ नरेश राईले पनि यो अव्यवस्था देख्न नसक्ने कुरै भएन । अझ उनी त स्रस्टा हुन् । अरूले देख्न नसकेका रहस्य पनि स्रस्टाले देख्छ । कथाकार राईले आपूmले देखेका वा भोगेका शासकीय अव्यवस्थालाई आप्mना कथामा प्रस्तुत गरेका छन् । नेपालमा व्याप्त शासकीय अव्यवस्थाको चित्रण गरिएको मुख्य कथा कान्ते अर्थात् क्रान्तिसिं हो । हुन त सङ्ग्रहका अन्य केही कथामा पनि यस्ता प्रसङ्गहरूले ठाउँ नपाएका होइनन् तर कान्ते अर्थात् क्रान्तिसिंमा यो विषय प्रभावकारी रूपमा प्रस्तुत भएको छ । नेपालको सहरी क्षेत्रमा व्याप्त शासकीय अव्यवस्थालाई यो कथामा सशक्त ढङ्गले चित्रण गरिएको छ ।

कान्ते अर्थात् क्रान्तिसिं मा कर्मचारीतन्त्रमा व्याप्त ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचार, घूस खाने प्रवृत्ति, राजनीतिक बेथिति, राजनीतिको आडमा हुने गुन्डागर्दी जस्ता प्रसङ्गहरू आएका छन् । यी सबै शासकीय अव्यवस्थाका उदाहरणहरू हुन् । कथामा राजधानी काठमाडौँका सडकमा जथाभावी फोहोरको डङ्गुर थुप्रिएको प्रसङ्ग छ (पृ. ४०) । सडक बनाउने काम चार वर्षमा पनि नसकिएको विषय कथामा आएको छ (पृ. ४२) । यसैगरी भ्रष्टाचार र नियमनकारी निकायका कमजोरीबारे पनि कथामा चर्चा गरिएको छ, ‘कहाँ सबैलाई समात्छन् र भाइ । सबै ठाउँमा राजनीतिक हस्तक्षेप छ । अख्तियारको प्रमुख पनि त्यही राजनीतिक पार्टीले नियुक्ति गर्ने हो । उसले पनि यो काठमाण्डूमा बाँच्नु परेको छ’ (पृ. ४२) । यो प्रसङ्ग नेपालको शासकीय अव्यवस्थाको उद्घाटन मात्र होइन, त्यसप्रतिको कठोर व्यङ्ग्य पनि हो ।

स्वदेशमै रोजगारी सिर्जना गर्नुको साटो सरकारले नै युवालाई विदेश पठाइरहेको सन्दर्भ कथामा बिझाउने गरी आएको छ (पृ. ४३) । राजनीतिक आडमा गुण्डागर्दी हुने गरेको प्रसङ्ग पनि कथामा उल्लेख छ । कथाका पात्र भेनाले भन्छन्, ‘बेरोजगार युवाहरू राजनीतिक पार्टीको पछि लागेका छन् भाइ । नलागे पनि केही काम बन्दैन । पार्टीको पछि करैले लाग्नु परेको छ । कोही ठेक्काको नाममा गुण्डागर्दी गर्छन् । कोही पार्टीको लोगो बोकेर ठेकेदार’ (पृ. ४३) । यो बेथिति नेपाली राजनीति र समाजको तीतो यथार्थ हो । यहाँ व्याप्त नातावादको प्रसङ्ग पनि एघार नोभेम्बर कथामा आएको छ । कथाका पात्र हितकुमारले आपूmले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको भए पनि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने पुण्डरी अधिकारीले मालपोतमा सुब्बाको जागीर पाएको उल्लेख गरेका छन् । पुण्डरीका मामा शिक्षामन्त्री भएकाले उसले जागीर पाएको चर्चा जिल्ला र गाउँभरि चलेको प्रसङ्ग कथामा वर्णित छ (पृ. १३६) । नेपालमा व्याप्त शासकीय अव्यवस्थाको एउटा भयानक रूप यो पनि हो । यो रूपलाई कथाकारले चित्रण गरेका छन् ।

जातीय पहिचानप्रति श्रद्धाको अभिव्यक्ति

कथाकार राईले आफ्ना कतिपय कथामा आफ्नो जातीय पहिचानप्रति असीम श्रद्धाको भाव अभिव्यक्त गरेका छन् । २०५० को दशकमा नेपाली समाजमा राजनीतिक–सामाजिक उथलपुथल आयो । यही परिवर्तित परिस्थितिले जातीय पहिचान, स्वाभिमान र स्वत्वका मुद्दालाई सतहमा ल्याइदियो । कथाकार राईले पनि यी मुद्दालाई आफ्ना कथाका कथ्य बनाएका छन् । जनजाति तथा उपेक्षित–उत्पीडित समुदायमाथि राज्यद्वारा गरिएका विभेद, दमन र थिचोमिचोको विरोध यही पछिल्लो चेतनाको अभिव्यक्ति हो । यो चेतनाको कलात्मक अभिव्यक्ति उनका कथामा सशक्त रूपमा आएको छ । यो चेतनालाई अभिव्यक्त गर्ने उनको सबैभन्दा सशक्त कथा लुङ्टारिबुङ हो ।

बान्तवा राई भाषामा ‘लुङ्टारिबुङ’ को अर्थ ‘ढुङ्गामाथि फुलेको फूल’ हुन्छ । राज्यको विभेदकारी नीतिले गर्दा आफूहरूको जातीय पहिचान र अस्तित्व सङ्कटमा परेको आदिवासी जनजाति समुदायको बुझाइ छ । जातीय पहिचानभित्र जातीय संस्कृति, भाषा, रहनसहन, जीवनमूल्य आदि समेटिन्छन् । लामो समयसम्म सत्तामा एउटा सामाजिक समुदायको वर्चश्व कायम रहँदा अन्य समुदायका जातीय पहिचान सङ्कटमा परेको नेपाली समाजको यथार्थलाई कथामा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ । गुमेको पहिचान र अस्तित्व संरक्षणका लागि अहिले जनजाति समुदाय जुर्मुराएको छ । यो समुदायले जातीय पहिचान र अस्तित्वको महत्त्व बुझन थालेको छ । जनजातीय चेतनामा आएको यो परिवर्तनले लुङ्टारिबुङ कथामा अभिव्यक्ति पाएको छ । कथाको शीर्षकले नै यो पहिचानसँग जोडिएको कथा हो भन्ने सङ्केत गर्छ किनभने यसको शीर्षक मातृभाषामा राखिएको छ ।
निम्नवर्गीय परिवारको ऊर्जाहाङले दुःख गरेर पढाइ सिध्याउँछ । प्रथम श्रेणीमा स्नातकोत्तर तह सकेपछि विद्यालय हुँदै उसले क्याम्पसमा पढाउन थाल्छ । क्याम्पसमा जाडोको विदा भएको बेला ऊ मुन्दुमको अनुसन्धान गर्न गाउँतिर जान्छ । गाउँमा बिजुवाले मुन्दुममा वर्णित पृथ्वीको उत्पत्तिको कथासँगै तायामा, खियामा र हेत्छाकुप्पाको कथा सुनाउँछ । त्यही कथा सुनाउने क्रममा हेत्छाकुप्पाले आफूलाई लुङ्टारिबुङ भनेको मुन्दुम बिजुवाले बताउँछ ।

अनि बिजुवाले भन्छ, ‘हामी त मुन्दुममा मात्तै होइन, आप्mनु बाखा (माटो) मै पो लुङ्टारिबुङ भई पो गएछुङ त नातिउ । हेत्छाकुप्पाजस्तोई’ (पृ. १७२) । ढुङ्गामाथि पानी पनि अडिँदैन । त्यहाँ दुःखद् अवस्थामा मायालाग्दो गरी फूल फुलेको हुन्छ । आफ्नो जाति पनि प्राचीन कालदेखि यस्तै दुःखद् अवस्थामा बाँचिरहेको सन्दर्भ कथामा मुन्दुमसँग जोडेर प्रस्तुत गरिएको छ । राज्यको बेवास्ताका कारण जनजातीय समुदायको सामाजिक अवस्था र पहिचान सङ्कटग्रस्त भएको सन्दर्भ कथामा आएको छ ।
निष्कर्ष
यो सङ्ग्रह नेपाली समाजकै एउटा लुकाइएको सामाजिक परिवेशको अन्वेषण हो । यसमा ‘लाहुरे’ र लाहुरे–परिवारले भोग्ने दुःख, तिनको सङ्घर्ष र जीवनका जटिलतालाई प्रस्तुत गर्ने कथाहरू समावेश छन् । नेपाली समाजमा व्याप्त विकृति–विसङ्गति, शासकीय अव्यवस्था र जातीय पहिचानका मुद्दा पनि यी कथाहरूका विषय बनेका छन् । कथाकार काङमाङ नरेश राई सम्बद्ध जाति, उनी बाँचेको समय र उनको वरिपरिको परिवेश कथामा प्रत्यक्ष–परोक्ष रूपमा आएका छन् ।

आफ्ना पुर्खाहरू ‘भाडाका सिपाही’ का रूपमा बेलायती साम्राज्य बिस्तारका लागि रगत बगाउन बाध्य भएको इतिहासको घाउ कथाकार राईको मनभित्र कतै न कतै बिझाइरहेको प्रतीत हुन्छ र त्यही दुखाइको मानसिक संघात उनका कथामा पाइन्छ । नेपालीलाहुरे–समाजसँग उनका रचनाको गहिरो सम्बन्ध छ ।तिनका आँसु र दुःखहरू उनका रचनाका विषय हुन् । सङ्ग्रहका अधिकांश कथाहरूमा नेपाली समाजकै एउटा अभिन्न अङ्ग लाहुरे समुदायको सामाजिक पर्यावरणलाई प्रस्तुत गरिएको छ । यी कथाहरूका माध्यमबाट लाहुरे–समाजको जीवनलाई बुझन सहज हुन्छ । आर्थिक रूपमा सम्पन्न र ईष्र्यालाग्दो देखिने तिनको जीवनका बाध्यता, एक्लोपन र निरुपाय अवस्था कथामा प्रस्तुत भएका छन् । निम्नवर्गीय नेपाली नागरिकहरूको साझा पीडा, विपन्न समुदायका बालबालिकाहरूको पीडादायी जीवन र जनजाति समुदायको सङ्कटग्रस्त पहिचान पनि उनका रचनामा विषय बनेर आएका छन् । राज्यबाट उपेक्षित–उत्पीडित समुदायका कष्टकर जीवनलाई विषयवस्तु बनाइएका यस सङ्कलनका अधिकांश कथाहरू गोर्खा–जीवनका अप्ठ्यारा, तिनको एक्लोपन, बेलायत सरकारले उनीहरूमाथि गरेको विभेद र तिनका आफन्तहरूले भोग्नुपर्ने पीडाको चित्रणमा केन्द्रित छन् । यी कथाहरूले गोर्खा–सिपाही र तिनका परिवारको जीवनको फरक पाटोलाई उजागर गरेका छन् ।

यी कथाहरूमा लाचार र विवश पात्रहरूको प्रयोग गरिएको छ । परिस्थिति र नियतिले निरीह बनाइएका पात्रहरूले भोग्नुपर्ने पीडा र वेदना मार्फत् यी कथाहरूमा नेपाली समाज तथा नेपाली समाजकै महत्त्वपूर्ण अङ्गहरू लाहुरे समुदाय र जनजाति समुदायको सामाजिक पर्यावरणलाई प्रस्तुत गरिएको छ । हरेक स्रस्टा आफ्नो समाज र समयको प्रभावबाट असम्पृक्त हुँदैन । कथाकारराई पनि आपूm हुर्किएको समाज, परिवेश तथा आपूmले बाँचेको युग र पर्यावरणबाट प्रभावित छन् । यो प्रभाव उनका कथामा अभिव्यक्त भएको छ । यसै प्रभावस्वरूप गोर्खा सैनिक र तिनीहरूसँग जोडिएका व्यक्तिहरूका दुःख र कष्ट उनका कथामा विषय बनेर जोडिएका छन् ।

 

137107743_154519182866112_1544052015228428542_n

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

पूर्वी नाकाबाट ८ करो ...

मेची/ झापाको मेचीनगरस्थित काँकरभिट्टा नाकाबाट चालु ...

धरानको खानेपानी योजन ...

ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई ...

सिंहदेवी गोल्डकपमा ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खाँदले सिंहदेवी गोल्ड ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved