छैन मनोपरामर्श

  • कार्तिक १८, २०७७
  • "नवराज विष्ट"
alt

घरमा श्रीमती दुई जिउकी भएपछि सशस्त्र प्रहरीमा कार्यरत वराहक्षेत्र ३ का एक युवाले कार्यालयमा घर आउन निवेदन दिए । उनको निवेदन स्वीकृत भयो । मंसिर १७ गते श्रीमतीको डेलिभरी हुने समय छ । डाक्टरले तोकिदिएको समयभन्दा केही दिन अघि उनी घर आए । घर प्रवेश गर्नुभन्दा अघि पीसीआर परीक्षण गरेका उनमा कोरोना संक्रमण देखियो । गर्भवती श्रीमती र पेटमा भएको आफ्नो भविष्यका अगाडि संक्रमित भएर घर कसरी जानु ? उनी चतरास्थित आइसोलेसनमा गए । कोरोनाको संक्रमणभन्दा पनि बढी उनलाई मानसिक तनाव झेल्नु पर्यो ।

आइसोलेसनमा बस्नेको मानसिक तनाव त छँदैछ । तर डेलिभरी हुन लागेकी महिलामा समेत तनाव उत्पन्न भएपछि समस्या निम्तियो । आफ्नो श्रीमान्को स्वास्थ्य अवस्था र आफ्नो स्वास्थ्य अवस्था के हुने हो भन्ने गर्भवती महिलाको पीरले चतरास्थित आइसोलेसनमा रहेका स्वास्थ्यकर्मीहरुलाई समेत टाउको दुखाइको विषय भयो । गर्भवती महिलालाई परामर्श दिनुपर्दा समस्या उत्पन्न भएको आइसोलेसनका इञ्चार्ज प्रमोद यादवले बताए ।

‘रातभर फोन गरिरहनु भयो, आइसोलेनसमा बस्नेको भन्दा बढी चिन्ता चाहिं हामीलाई ती गर्भवती महिलाको लाग्यो,’ आइसोलेसन इञ्चार्ज यादवले भने, ‘आइसोलेसनमा कार्यरत हामी उनीहरुको घरमा जाने कुरो त आउँदैन तर, उहाँहरुको मानसिक अवस्था र परामर्शको आवश्यक्ताले गर्दा घरमै गएर काउन्सिलिङ गर्नुपर्ने आवश्यक्ता पर्यो ।’

संक्रमणको दर दिनानुदिन बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । अवस्थालाई संक्रमितहरुले सामान्य रुपमा लिए पनि कमजोर मानसिक अवस्था भएकाहरुलाई शुरुका केही दिन सम्हालिन गाह्रो परेको छ । संक्रमितलाई मात्र होइन परिवारका सदस्यलाई समेत संक्रमणपछिको मानसिक तनावले सताइरहेको छ । रातभर नसुत्ने, आत्तिने लगायतका समस्या उत्पन्न भएको देखिएको आइसोलेसन इञ्चार्ज अहेब यादवले बताए ।

कोरोना संक्रमण देखिएका वराहक्षेत्र ६ का एक व्यवसायीले शुरुका दुई तीन–दिन निद्रा नलागेको, खान मन नलागेको र मनमा कुरामात्र खेल्ने गरेको बताए । दुई दिनपछि साथीहरुसँगको गफगाफ र परामर्शपछि सामान्य अवस्थामा फर्कन सहयोग पुगेको बताए । ‘कोरानालाई आत्मविश्वासले जित्नुपर्छ भनेको सही रहेछ, दुई दिन आत्तिएको थिएँ, तेस्रो दिनदेखि नियमित एक्सरसाइज गर्ने, सामान्य खानाबाहेक पोसिलो खाना खाने, फुड प्रोटोकल अनुसार जीवनयापन गर्ने र परामर्श लिने गर्न थालेपछि सामान्य अवस्थामा फर्किएँ ।’ ती व्यवसायीले भने ।

मानसिक समस्या संक्रमितमा मात्र नभएर परिवारका सदस्यमा पनि देखा परेको छ । आफूलाई पनि संक्रमण हुने डरसँगै परिवारका सदस्यलाई केही भइहाल्ने पो हो कि भन्ने पीर बढेको छ । संक्रमितमा मानसिक समस्या उत्पन्न भएको केही अभ्यास र अध्ययनले देखाएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मनोचिकित्सक एवम् मानसिक तनाबबारे विशेषज्ञ डा.मधुर बस्नेत बताउँछन् । डा. बस्नेतका अनुसार कोरोना नयाँ रोग भएकाले आत्तिएका कारण मुटु ढुकढुक हुने, डराउने, निद्रा नपर्ने, झस्किनेलगायतका लक्षण देखिएका छन् ।

मानसिक समस्याको औषधी खाएकाहरुमा संक्रमण देखिएपछि थप मानसिक समस्या बढेको पाइएको छ । मानसिक रोगको औषधि सेवनकर्ताहरुमा संक्रामक रोग भएका कारण सर्ला कि भन्ने तनावले बेचैन हुने लक्षण देखिएको छ । ‘अध्ययनलाई हेर्ने हो भने संक्रमण हुन्छ भन्ने डरले नै बढी तनाव उत्पन्न भइरहेको छ, मनोचिकित्सक डा. बस्नेतले भने, ‘आइसोलेसनमा बस्नु पर्दा प्रत्यक्ष भेटघाट नहुने भएकाले एकान्तमा बस्नुपर्दा रोगसँग सम्बन्धित कुरा खेलाउनाले पनि बढी समस्या आएको छ ।’

पढे–लेखेकाहरुमा समेत तनावको अवस्था सिर्जना भएको छ । ‘कोरोनासम्बन्धि समाचार बढी हेर्नाले, नकारात्मक सामाचार बढी सुन्नाले, मृत्युका खबर बढी आउने हुनाले आत्तिने समस्या देखिएको छ ।’ डा. बस्नेतले भने ।

मनोपरामर्श गर्ने छैनन्

कोरोना संक्रमणबाट बच्न विभिन्न स्वास्थ्य सम्बन्धी सचेतना र पालना गरे पनि असावधानी र बाध्यताबस् कोरोनाको संक्रमण बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।
स्थानीय सरकार, प्रदेश सरकारले सञ्चालन गरेका आइसोलेसनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी त राखिएका छन् तर अहिलेको आवश्यक्ता मनोपरामर्शको देखिएको चतरास्थित आइसोलेसनका स्वास्थ्यकर्मी प्रमोद यादव बताउँछन् । मनोपरामर्श नहुँदा संक्रमित र परिवारमा समेत मानसिक समस्या उत्पन्न भएको अध्ययनले देखाएको छ ।

स्वास्थ्यकर्मीहरुले नै मनोपरामर्श दिने, जो कोहीले गतल ढंगले कोरोना र संक्रमण र अवस्थाका बारेमा विश्लेषण गर्नाले संक्रमित र उनीहरुको परिवारमा तनाव उत्पन्न भएको छ । संक्रमणलाई हलुका रुपमा लिएर मादक पदार्थ सेवन गर्ने, प्रतिरोधी क्षमता ह्रास गराउने खाद्य र पेय पदार्थहरुको प्रयोग गर्ने, चिकित्सक र मनोपरामर्शदाताको सल्लाह सुझाव नलिने समस्या उत्पन्न भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डा. दिनेश सापकोटा बताउँछन् ।

तनाव व्यवस्थापन र संक्रमणसँग लड्ने सबैभन्दा बलियो शस्त्र नै मनोपरामर्श भएकाले सरोकारवालाले व्यवस्थापन गर्नुपर्ने मनोचिकित्सकहरुको मत छ । ‘सकारात्मक उर्जाको स्रोत नै मनोपरामर्श हो ।’ चिकित्सक सापकोटाले भने ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved