धनकुटा, १५ भदौ ÷आफु र परिवारको भविष्य निर्माण गर्ने बेलामा रोगले थलिएपछि धनकुटाका बोधराज ढुंगाना अहिले कहानी लाग्दो जीवन जिउन बाध्य छन् ।
उमेरले मात्र ४० टेकेका छन् । तर रोगले सताएपछि कस्को के नै पो लाग्दो रहेछ र ? रोगले जवानी नभन्दो रहेछ–‘उनले दिक्क मान्दै भने ।’ परिवार र छोराछोरीको उज्वल भविष्यको लागि आधार निर्माण गर्ने बेला ढुंगाना रोगले थलिएर बसेका छन् । उनको जीवनमा ‘ब्रेक’ लागेको छ । धनकुटाको चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा स्थायी घर भएका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहाली लाग्दो जीवन बिताउन बाध्य छन् । दुवै खुट्टा भएर पनि रोगका कारण हिड्न मात्र हैन, उनी विगत १५ महिनादेखि ओछ्यानबाट बाहिर निस्कन पनि सकेका छैनन् । ढोका खुल्ला भएर पनि उनलाई त्यही कोठा बन्द पिंजडा सरह भएको छ ।
सन्तानको उज्वल भविष्यको सपना बोकेर पैसा कमाउन बैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक दुबई पनि पुगे । तर त्यहाँ भने जस्तो कमाई नभएपछि घर फर्किए । आफ्नै देशमा केही गर्छु भन्ने उद्देश्य बोकेका ढुंगानाको १५ महिनादेखि दुवै खुट्टा नचलेर ओछ्यान पर्दा सपना हराएको महसुस गर्छन् । आफुले दुःख गरेर भएपनि परिवारलाई सुख दिने प्रयत्न गरी रहेको थिए–‘तर र्दुभाग्य भन्नु पर्छ । परिवार र सन्तानलाई सुख दिन त सकिन । जल्दोबल्दो उमेरमै थला परेर ओछ्यानमै दिसा पिसाव हुँदा अहिले परिवारकै लागि भार भएको छु । ढुंगानाले दुखेसो पोखे ।’
उनलाई करिब ७ बर्ष अघिदेखि कम्मर र देब्रे खुट्टा दुख्ने समस्या सुरु भएको थियो । त्यस पछि डाक्टरलाई देखाएर औषधी खाए । तर विराम निको भएन । समस्या बढ्दै गएर देब्रे खुट्टा छोटो भए जसरी टेकाई नै तलमाथि हुन थाल्यो । पीडा झन्–झन् बढ्दै गएपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुगे । उनलाई डाक्टरले मेरुदण्डमा ट्यूमर पलाएको र नसा च्यापिएर समस्या जटिल बनेको भन्दै तत्काल अप्रेशन गर्न सुझाव दिए । सामान्य परिवारका उनीसँग अप्रेशन गर्ने पैसा थिएन । उपचार पश्चात् निको हुने आसमा दाजुभाई तथा आफन्तको सहयोग र ऋण गरेर अप्रेशन गरियो ।
अप्रेशन पश्चात् कम्मर मुनीको कुनै पनि अंगमा छोएको थाहा भएन । अहिले कुर्कुचा भन्दामाथि छोएको थाहा हुन्छ । तर पैतालाले पत्तो पाउँदैन । खुट्टा जेनतेन हल्लिए पनि अप्रेशन पश्चात् अहिलेसम्म खुट्टा टेकेर उभिन नसकेको ढुंगानाले बताए । ढाँडले पनि राम्रोसँग काम गर्दैन । दिसा पिसाव आएको थाहा हुदैन । १५ महिना यता ओछ्यान परेका उनलाई सुतेको ठाउँबाट बसाउन र बसेपछि सुताउन पनि अर्कैको सहारा चाहिन्छ । ओछ्यानमै दिसा पिसाव गर्नु पर्ने बाध्यता रहेको छ । धनकुटाको मदनचौक नजिक कोठा भाँडामा बस्दै आएका ढुंगानाको परिवारमा श्रीमती सहित ८ बर्षे छोरा र अढाई बर्षीया छोरी छिन् ।
अप्रेशन अघि ढुंगानाले जिल्ला अस्पताल धनकुटामा सुरक्षागार्ड बसेर परिवार पाल्दै आएका थिए । परिवारमुली नै थला परेपछि आम्दानीको स्रोत केही नहुँदा अहिले दुई छाक टार्न मुस्किल परेको ढुंगानाकी श्रीमती बिनिताले दुखेसो पोखिन् । दिसा पिसाब गरेको उहाँलाई नै थाहा हुदैन । बिरामी र छोराछोरीलाई स्यहार गर्दा गर्दै अन्य काम गर्न भ्याउँदिन । जीविकोपार्जनको कुनै स्रोत छैन । कसरी परिवार पाल्ने होला–‘विनितिले गहभरी आँशु झार्दै आफ्नो पीडा सुनाईन् ।’ पैसा नहुँदा अप्रेशनपछि नियमित थेरापी गराउन पनि सकिएन । औषधी किनेर खान समेत समस्या छ ।
घरमा भएको सम्पूर्ण जयजेथा पनि श्रीमान्को उपचार गर्दा सकियो । बोर्डिङ्मा पढ्दै गरेको छोरालाई पढाउन नसकेपछि अब सरकारी स्कुलमा सार्ने तयारीमा रहेको उनले बताईन् । कतैबाट सहयोग जुटेमा श्रीमान्को नियमित थेरापी गराउने र राम्रो अस्पतालमा थप उपचार गराउने उनको योजना छ । तर अहिलेसम्म ढुंगानाले कही कतैबाट उपचार सहयोग पाएका छैनन् । जल्दोबल्दो उमेरमै थला परेका श्रीमान्को उपचारमा सहयोग गरी बचाई दिन विनिताले अपिल समेत गरेकी छिन् ।