सामुदायिक विद्यालयमा अङ्ग्रेजीमोह बढ्दै

  • असार २१, २०७७
  • –भूमिप्रसाद पाठक
alt

मोरङको पथरी शनिश्चरे नगरपालिकाको क्षेत्रअन्तर्गत २७ वटा सामुदायिक विद्यालय र ३४ वटा संस्थागत विद्यालयहरू क्रियाशील रहेको तथ्याङ्क पाइन्छ । तिनीहरूमा बढीमा विभिन्न कक्षा १२ सम्मको अध्ययन–अध्यापन हुने गरेको भेटिन्छ । कतिपय अभिभावकहरूलाई आफ्ना बालबालिकाहरूलाई शिक्षादिक्षा दिलाउने सन्दर्भमा अङ्ग्रेजीमोह जागेको अवस्था छ । यसका लागि संस्थागत विद्यालय नै अभिभावकहरूको रोजाइमा पर्ने गरेको थियो । तथापि, पछिल्लो समयमा सामुदायिक विद्यालय विकास, समग्र शैक्षिक विकास, पाठ्यक्रम विकास, शिक्षा–शिक्षण विधिको विकास, अनुशासन, आचरण र नैतिकवान शिक्षादिक्षा आदिका कारणले सामुदायिक विद्यालयहरूले संस्थागत विद्यालयहरूलाई उछिनेर गति लिएको देखिएको छ ।

पथरी शनिश्चरे नगरभित्रका अधिकांश सामुदायिक विद्यालयहरूले आफ्नो नियमित पठनपाठनको भाषाको रूपमा अङ्ग्रेजी माध्यमलाई नै अनिवार्य अवलम्बन गर्दै आएका छन् । फलतः मानव महामारीका कारण जारी लक डाउनको समयमा पनि संस्थागतभन्दा पनि सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरू बढी भर्ना भएको तथ्यतथ्याङ्कले दर्शाएको छ । समाजमा अङ्ग्रेजीमोह पालेको अभिभावकहरूका लागि शैक्षिक गन्तव्यको रूपमा सामुदायिक विद्यालयहरू पर्ने गरेको देखिन्छ ।

मूलतः यो लक डाउनका समयमा पनि संस्थागत विद्यालयहरूले विद्यार्थीसँग लिइने गरेको शुल्कमा समेत छुट नदिएपछि यसबाट अभिभावकमा आर्थिक भार बढ्न गएको छ । यसबाट अभिभावकको जीवनमा थोपरिने समस्या र अभिभावकको अपेक्षित अङ्ग्रेजीमोह पनि सामुदायिक विद्यालयले नै उपलब्ध गराइदिएको कारण संस्थागतभन्दा सामुदायिक विद्यालय बालबालिकाको भर्नाका लागि रोजाई र खोजाइमा पर्ने गरेको छ । यतिबेला समाजवादको आधारशीला निर्माण गर्न कसिएको राज्यले पनि गरीब, विपन्न र लक्षित समुदायका छोराछोरीलाई बजारमा प्रचलित शिक्षा उपलब्ध गराउने उद्देश्य लिएअनुरूप सामुदायिक विद्यालयहरूको स्तरोन्नति भएको छ । सामुदायिक विद्यालयहरूमा तालिम प्राप्त शिक्षक–शिक्षिकाहरूबाट पठनपाठन हुने हुनाले पनि संस्थागतभन्दा बढी सामुदायिक विद्यालयको आकर्षणता बढेको हो ।

यहीँ सन्दर्भमा पथरी शनिश्चरे नपा वडा नं। १, एकताचौक बस्ने सामाजिक व्यक्तित्व गृहणी कमलादेवी ढकालले भनिन्– पञ्चायत माविमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन राम्रो भएका कारण आफ्ना छोरीलाई त्यहीँ पढाएको हो ।

यतिबेला कोरोना सङ्क्रमणले जनजीवन अस्तव्यस्त भइरहेको छ । ठीक यसैमा संस्थागत विद्यालयको चर्को शुल्क, पठनपाठनको भद्दापन, सुँगा रटानझैं रटाउने प्रवृत्ति, नैतिक मूल्यह्रासको शिक्षा र जीवन र जगतसम्बन्धी ज्ञानबोध गर्ने शिक्षाअभावका कारण अभिभावकहरूले सामुदायिक विद्यालयहरू नै रोज्ने गरेको गृहणी ढकालको माथिल्लो अभिव्यक्तिबाट पनि प्रस्ट हुन्छ ।
पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि सम्पन्न नगरसभाबाट स्थानीय सरकारी कर्मचारी र शिक्षकका छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति पास गरेसँगै स्थानीय समुदायमा पनि सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउनुपर्ने जाँगर बढेको देखिन्छ । अधिकांश विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन्छ । अनिवार्य ढङ्गले पढाई हुने विद्यालयहरूमा प्रतिनिधि विद्यालयका रूपमा क्रमशः पञ्चायत मावि, जनता मावि, सिंहबाहिनी मावि, बुद्ध मावि, बालकल्याण मावि, चन्द्रकिराँतेश्वर मावि हुन् ।

पञ्चायत मावि

पथरी शनिश्चरे नपा वडा नं। १, पथरीमा अवस्थित पञ्चायत मावि, नगरको स्रोतकेन्द्रको रूपमा रहेको छ । विज्ञान सङ्कायमा नेपालकै र समग्र शैक्षिक कार्यक्रम एवं व्यवस्थापनमा प्रदेशकै सर्वोत्कृष्ट नमुना छनौटमा परेको यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ कक्षासम्म नियमित पढाई हुने गरेको छ । बिहान र दिउँसो गरी झण्डै २ हजार ५ सय विद्यार्थी सङ्ख्या रहेको यस विद्यालयमा कक्षा १० सम्म अङ्ग्रेजी र नेपाली दुबै भाषागत माध्यमबाट पठनपाठन हुने गरेको सोही विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले बताउनुभएको छ ।
प्राचार्य बुढाथोकीका अनुसार नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि बेग्लै भवन, तालिम प्राप्त दक्ष र अनुभवी शिक्षक–शिक्षिका, हेरचाह गर्ने कर्मचारी सहितको व्यवस्था हुँदै आएको छ । भरखरै मात्र बालअपाङ्गमैत्री कक्षकोठा निर्माणको काम अघि बढेको छ । यस विद्यालयमा प्राविधिक धारतर्फ सिभिल इञ्जीनियर, विज्ञान, कानुन, शिक्षा, मानविकी शैक्षिक सङ्कायहरू दुबै भाषागत माध्यममा सञ्चालनमा आएका छन् ।

यसकारण स्थानीयका लागि मात्र होइन, प्रदेशबाहिरका अभिभावकका लागि पनि पञ्चायत मावि अध्ययनको विषय बनेकोले आफूलाई पनि गर्व हुने गरेको प्राचार्यले बताए । उहाँका अनुसार विज्ञान र प्राविधिक शिक्षाकेन्द्रको रूपमा विकसित पञ्चायत माविमा दिनहुँजसो विद्यार्थीको चाप बढेको छ ।

जनता मावि

पथरी शनिश्चरे नपा वडा नं। ३ मा रहेको जनता मावि कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षा दिनेमा गत्तिलो उदाहरण बनेर प्रस्तुत भएको छ । यो विद्यालयमा आईसीटी प्रविधिमा प्रवेश गरेको कारणले पनि स्थानीय स्तरमा लोकप्रिय बनेको छ । प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, छुट्टै पुस्तकालय, आधुनिक प्रविधिमैत्री कक्षा कोठाको व्यवस्थापन भइरहेको जानकारी दिनुहुँदै विद्यालयका प्राचार्य पदमप्रसाद सापकोटाले जनता माविले अपेक्षित सफलता हासिल गरेकोमा खुशी व्यक्त गरे ।

प्राचार्य सापकोटाका अनुसार यहाँ अङ्ग्रेजी माध्यमबाट कक्षा ६, ७ र ८ मा छुट्टै कक्षा सञ्चालन हुँदै आएको कारणले विद्यालयमा विद्यार्थी सङ्ख्या बढेसँगै सस्याना बालबालिकाका लागि छुट्टाछुट्टै कक्षाहरू सञ्चालनमा ल्याइएको छ । कक्षा १२ सम्मको अध्ययन अध्यापन हुने जनता माविमा कक्षा ९ र १० मा इन्टर एक्टिङ फ्याट प्यानलमार्फत शिक्षण विधि सञ्चालन हुँदै आएको छ । नर्सरीदेखि कक्षा ५ सम्म पूरै अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन हुँदै आएको र कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यमलाई जोड दिएको अवस्था छ ।

सिंहबाहिनी मावि

पथरी शनिश्चरे नपा वडा नं। ९ मा रहेको यस विद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन आरम्भ गरिएको अवस्था छ । २०६६ सालबाट कक्षा १ देखि सुरू गरिएको अङ्ग्रेजी माध्यमको पढाई कक्षा १० सम्म पुर्‍याइएको जानकारी दिनुहुँदै विद्यालयका प्राचार्य जगतमणि गौतमले २०७५ को एस। ईं। ईं। परीक्षा नतिजामा सामुदायिक विद्यालयतर्फ सर्वाधिक राम्रो नतिजामा ल्याएको खुशी व्यक्त गरे । ग्रामीण परिवेश हुँदाहुँदै पनि यहाँ दुबै भाषागत माध्यमबाट पठनपाठन हुने गरेको विद्यालयका नियमित शिक्षक अष्टमान राईंले बताउनुभयो ।

बुद्ध मावि

पथरी शनिश्चरे नपा वडा नं। ८ मा रहेको बुद्ध मावि वि। सं। २०२४ सालमा स्थापना भएको नगरकै सर्वाधिक पुरानो अर्थात् ज्येष्ठ विद्यालय हो । बुद्ध ज्ञानआर्जनका लागि यहाँ आउने मसिना बालबालिकाले कक्षा नर्सरीदेखि ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढ्ने गरेका छन् । स्थानीय समुदाय र अभिभावकको चाहनाअनुरूप वर्षेनी भाषा माध्यमलाई बढाउँदै लगिएको छ ।
नेपाल सरकारद्वारा निर्धारण गरिएका पुस्तक तथा पाठ्यसामग्रीहरू स्थानीय अभिभावकको चाहनाअनुरूप वितरण हुँदै आएको विद्यालयका प्राचार्य बोधराज सिग्देलले बताउनुभयो । अङ्ग्रेजी माध्यम सुरूवातसँगै यस विद्यालयमा ५० जना विद्यार्थी सङ्ख्याको भर्ना बढेकोले दक्ष शिक्षक–शिक्षिकाद्वारा पठनपाठनमा जोड दिएको प्राचार्य सिग्देलले सगर्व स्थानीय कथा कहलाउनुभयो । कक्षा नर्सरीदेखि देखि १२ सम्म नियमित पढाइ हुने यो विद्यालयले संस्थागत विद्यालयभन्दा पनि उत्कृष्ट परिणाम दिएको उहाँले भन्नुभयो ।

बालकल्याण मावि

पथरी शनिश्चरे नपा वडा नं। ७, कीर्तिपुरमा रहेको बालकल्याण माविमा यहीँ शैक्षिकसत्रबाट कक्षा नर्सरीदेखि १० सम्म पठनपाठन हुने गरेको छ । नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट प्रारम्भिक कक्षाहरूमा पढाई हुने यो विद्यालय कीर्तिपुर क्षेत्रका लागि बालकल्याण मावि रोजाई र खोजाइमा पर्ने गरेको जानकारी विद्यालयका प्रअ रोहिणी घिमिरेले दिनुभयो । समयसापेक्षा शिक्षा शिक्षण व्यवस्थापनका लागि कम्प्युटर कक्षा सञ्चालनमा ल्याएसँगै प्रोजेक्टर र मल्टीमिडियामार्फत पठनपठान हुँदै आएको प्रअ घिमिरे जनाउनुभयो ।

चन्द्रकिराँतेश्वर मावि

पथरी शनिश्चरे नपा वडा नं। ७ मा रहेको चन्द्रकिराँतेश्वर मावि किराँतीचौकमा रहेको एकमात्र स्थापित सामुदायिक विद्यालय हो । दक्ष शिक्षकको अभावले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न नसकिएको हो । यसमा पनि विद्यालयको पढाई र व्यवस्थापन राम्रो भएका कारण संस्थागत विद्यालय छोडेर यहाँ आउने विद्यार्थीको सङ्ख्या पनि उल्लेख भएको विद्यालयका गणित शिक्षक महेन्द्र ढुङ्गानाले टेलिफोनमार्फत भन्नुभयो । अरू विद्यालयजस्तै क्रमशः अङ्ग्रेजी माध्यममा पठनपाठन योजना रहेपनि माविमा शिक्षकको दरबन्दी नभएकोले कक्षा सञ्चालनमा मुस्किल रहेको उहाँको कथन रहँदै आएको छ । एस। ईं। ईं मा सर्वाधिक आकर्षक नतिजा ल्याउन सफल यो विद्यालयले विकासको सम्भावना बोकेको विद्यालयको रूपमा चिनिन्छ ।

 

 

 

 

 

 

 

एमाले उम्मेदवार सुहा ...

इलाम/वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका ला ...

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved